Comments Add Comment

सुशील प्रधानांग : हातभरि सफलता, मनभरि योजना

२८ पुस, काठमाडौं । पोखरेली व्यवसायी हुन् सुशील प्रधानांग । पोखरेली व्यवसायी भनेपछि धेरैजसो पर्यटन क्षेत्रका हुन्छन्, तर प्रधानांग पोखरामा पर्यटनबाहेक अरु पनि सम्भावना छन् भनेर देखाउने ‘बिजनेसम्यान’ हुन् ।

पर्यटन उद्योगमै नभए पनि उनले त्यसको सहयोगी व्यवसायलाई पोखरामा सफल बनाएका छन् । ‘सेल्वेज’ अहिले पोखरामा सुपरिचित डिर्पामेन्टल ‘ब्रान्ड’ हो । सेल्सवेज अन्तर्गतको अर्को चर्चित ब्रान्ड ‘सेल्सबेरी’ पनि प्रधानांगकै मिहिनेतको परिणाम हो ।

अब उनी पोखराबाट काठमाडौं उपत्यकाका टोल–टोलमा फैलिँदैछन् । ललितपुरको सातदोबाटो र जाउलाखेलमा एकैपटक एक दर्जन साना सपिङ स्टोर खोलेका उनले काठमाडौंमा पनि एकैपटक दर्जन स्टोर चालु गरेका छन् ।

पोखराको ब्रान्डलाई काठमाडौंमा विस्तार गर्न प्रधानांगलाई करिब २५ वर्ष लाग्यो । पोखरामा पर्यटकलाई सुविधा दिने सोचले स्थापना भएको सेल्वेजलाई स्थापित गर्ने क्रममा अनेक समस्या, चुनौती र आरोह–अवरोह भोगेको उनी बताउँछन् । भन्छन्, ‘तर, देखेको सपना पूरा गर्नैपर्छ भनेर लागिपर्दा चुनौतीहरु अवसरका रुपमा बदलिँदै गए ।’

प्रधानांग सेल्वेज र सेल्सबेरीलाई विशाल ‘अनलाइन मार्केट’ बनाउने सुरमा छन् । त्यही सुरमा मोफसलबाट सदरमा ल्याएको नयाँ ब्रान्डलाई काठमाडौंले पत्याइरहेको छैन । ‘तर, हामी पनि स्थापित ब्रान्डहरुलाई टक्कर दिनसक्ने क्षमता लिएरै सदरमा आएका छौं’, उनी भन्छन्, ‘गुणस्तरीय सामान र स्तरीय तथा विश्वसनीय सेवा प्रवाहमा हाम्रो विश्वास छ ।’

काठमाडौंमा सेल्सबेरीका स्टोर विस्तार गर्दैगर्दा उनको आत्मविश्वास पनि बढ्दै गएको छ । लामै अध्ययन, योजनाका साथ र टिमलाई विश्वासमा लिएर काम गरेको हुनाले पनि सफल हुनेमा उनी ढुक्क छन् ।

सुशीलले करिब तीन दशकअघि पोखरामा थालेको यो व्यवसाय कपडा बेचिरहेको प्रधानांग परिवारका लागि विल्कुलै नयाँ थियो । नयाँ कुरा भनेको जोखिम र अवसर दुवै हो । परिवारको साथ पाएका प्रधानांगले त्यसलाई अवसर बनाए ‘मेरो पनि बाल्यकाल कपडा पसलमै बित्यो’, प्रधानांग भन्छन्, ‘त्यो भन्दा फरक काम गर्ने तीव्र इच्छाले १९–२० वर्षकै उमेरमा रेस्टुरेन्ट खोलेँ ।’

मामाघर काठमाडौं आउँदा मामाहरुसंग सपिङ गर्न ‘ब्लु बर्ड’ जान थालेपछि आफ्नो व्यापारिक सोचमा परिवर्तन आएको सम्झना उनलाई छ । एकपटक खिचापोखरीमा रहेको मामाको पसलमा चिया खाँदै बसेको बेला उनले त्यहाँको ‘सेन्ट्रल डिर्पाटमेन्टल स्टोर’मा पर्यटकको भीड देखे । अनि उनलाई लाग्यो– पोखरामा पनि किन यस्तै नगर्ने ?

‘यो सन् १९९३ को कुरा हो’, प्रधानांग भन्छन्, ‘अनि घर गएर सबैलाई योजना सुनाएँ, आमासँग पैसा मागे, रेस्टुरेन्टबाट कमाएको ७–८ लाखसहित २५ लाखमा चिप्लेढुंगामा स्टोर खोले– सेल्वेज ।’

‘५५ वर्षसम्म यसै गरी काम गर्छु, त्यसपछि कृषिमा जान्छु, पूरा बुढेसकाल कृषकका रुपमा बिताउँछु ।’

अर्को वर्ष लेकसाइडमा सेल्वेजको अर्को स्टोर खुल्यो । त्यो बेला लेकसाइडमा टिनको छानामुनि पर्यटक लक्षित केही कोल्ड स्टोर मात्र थिए । प्रधानांगले सुरुमै स्टोरमा कम्प्युटर बिलिङ थाले । त्यसबेला काठमाडौंमा पनि त्यस्तो सिस्टममा चल्ने स्टोर कमै थिए, जसलाई पर्यटकले मन पराए ।

यस्ता स्टोरमा सामान महंगो हुन्छ भन्ने नेपाली भ्रम चिर्न भने उनलाई समय लाग्यो । अर्थात्, सुरुका केही वर्ष सेल्वेजका स्टोरहरु पूर्णतः विदेशी पर्यटकमा निर्भर हुन पुगे । ‘मोफसलमा यस्तो नयाँ अभ्यास स्थापित गर्न सजिलो हुँदैन भन्ने आभास मलाई थियो’, प्रधानांग भन्छन्, ‘नाफा नहुँदा पनि हिम्मत हारिन, भविष्य यसमै छ भनेर लागि परेँ ।’

नभन्दै, चिप्लेढुंगामा एकहजार वर्ग फुटबाट सुरु भएको उनको सेल्वेज अहिले लाखौं वर्ग फुटमा फैलिन पुगेको छ । ठूलो अनलाइन मार्केट बन्नेदेखि सुपरस्टोर खोल्ने योजनाहरु पनि छँदै छन् । त्यस अनुसारको सेल्सबेरीको पूर्वाधार तयार हुँदैछन् । प्रधानांग भन्छन्, ‘संसार त्यतै लागिसक्यो, हामी नजाने कुरै भएन ।’

अनलाइन मार्केटमा जान सजिलो हुने गरी स्टोर विस्तार गरिएको र शहरभरि स्टोर हुँदा अनलाइन डेलिभरी सजिलो हुने उनी बताउँछन् । आगामी दुई वर्षको सेल्सबेरी प्रोजेक्टमा करिब २ अर्ब लगानी हुने प्रधानांग बताउँछन् । त्यही भित्र पर्छ महाराजञ्जमा खुल्ने करिब एक लाख २० हजार वर्ग फुटको सुपर स्टोर । त्यसले सेल्सबेरीलाई अझ विश्वसनीय ‘चेन’ ब्रान्डका रुपमा स्थापित गर्ने प्रधानांगको विश्वास छ ।

त्यसपछि ठमेल र जाउलाखेलमा सुपरस्टोर खोल्ने योजना छ । अहिले प्रत्येक दुई महिनामा काठमाडौंका नयाँ ठाउँमा सेल्सबेरी स्टोर खोल्ने योजना कार्यान्वयन भइरहेको प्रधानांग बताउँछन् । धरानमा पाएको असफलताले उनलाई मोफसलका अरु शहर जान भने रोकेको छ । लाहुरेको बाक्लो वस्ती रहेको धरानमा करिब आठ करोड लगानीमा खोलेको सेल्सबेरी सुपरमार्केट नचलेको उनले बताए ।

अहिलेसम्म शहरी जीवन बिताएका ४८ वर्षीय सुशील प्रधानांग दिमागमा अरुको भन्दा फरक ‘बुढ्यौली योजना’ पनि लिएर सक्रिय छन् । ‘५५ वर्षसम्म यसै गरी काम गर्छु,’ उनी भन्छन्, ‘त्यसपछि कृषिमा जान्छु, पूरा बुढेसकाल कृषकका रुपमा बिताउँछु ।’

बुढेसकालमा पनि आफ्नो कमाइको १० प्रतिशत हिस्सा समाज सेवामा खर्च गर्ने स्तुत्य योजना उनको भित्री मनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment