Comments Add Comment

किशोर-किशोरीमा नैराश्यता बढ्दो, कलिलैमा आत्महत्या

रोकथामका लागि समुदाय प्रहरी साझेदार

२८ पुस, विराटनगर । आत्महत्यालाई कानूनले सामाजिक अपराध मान्छ । तर आत्महत्या गर्नेको संख्या निररन्तर बढ्दो छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार आत्महत्या गर्ने कम उमेरका र सामान्य परिवारका व्यक्ति बढी देखिन्छन् ।

गत साउन भदौं र असोजमा मोरङमा ६९ जनाले आत्महत्या गरे । तीन महिनाको घटनाको सुक्ष्म अध्ययन गरेको प्रहरीले सामान्य परिवारका किशोर-किशोरी र युवाले आत्महत्याको बाटो रोजेको देखाउँछ । तीन महिनामा सम्पन्न परिवारका ७ जना, सामान्य परिवारका ३३ र गरीब परिवारका २९ जना थिए ।

तीन महिनाको तथ्याङक हेर्दा ११ देखि २० वर्ष उमेर समूहका व्यक्ति बढी छन् । यो उमेर समूहका ३१ जना छन् । २१-४० वर्ष उमेर समूहका २७ र ४० माथिका १० जना छन् । ती मध्ये साधारण लेखपढ गरेका ३५ जना एसएलसीसम्म अध्ययन गरेका १७ र निरक्षर १४ जना छन् ।

आत्महत्या गर्ने मध्ये ३८ जनाले राति ८-१२ बजेको समयमा र दिउँसो १२ बजेदेखि ३ बजेको समयमा २० जनाले आत्महत्या गरेको अनुसन्धानमा देखिएको छ ।

तीन महिनाको अध्ययन गर्दा प्रहरीले सबैभन्दा बढी सोमबार आत्महत्या गरेको तथ्य निकालेको छ । प्रहरीले गरेको अनुसन्धानबाट १४ जनाले सोमबार आत्महत्या गरेको छन् । आइतबार १२, मंगलबार १०, बुधबार ७, बिहीबार ६, शुक्रबार र शनिबार १०-१० जनाले आत्महत्या गरेका छन् ।

तीन महिनामा सबैभन्दा बढी पथरी शनिश्चरे नगरपालिकामा ११ जनाले आत्महत्या गरेका छन् । सोही अवधिमा कानेपोखरी गाउँपालिकामा ६ ले आत्महत्या गरेका छन् ।

प्रदेश प्रहरीको तथ्याङ झनैै कहाली लाग्दो

प्रदेश एकमा आर्थिक वर्षमा ०७३/७४ मा एक हजार ८९ जनाले आत्महत्या गरेको तथ्यांक छ । त्यसमध्ये ५७३ जना पुरुष र ४४८ जना महिला छन् ।

०७४/७५ मा यो संख्या बढेको देखिन्छ । यो वर्ष एक हजार १६९ ले आत्महत्या गरेका थिए । जसमध्ये पुरुष ६७३ जना र महिलाहरु चार सय छन् ।

०७५/७६ मा भने एक हजार २३५ जनाले आत्महत्या गरेको तथ्याङकमा उल्लेख छ ।

१७ घटनामा दुरुत्साहन मुद्दा

प्रदेश एकमा प्रहरीले आत्महत्या घटनाको अनुसन्धानपछि १७ वटा घटनामा दुरुत्साहन मुद्दा चलाएको छ ।

फौजदारी अपराधसंहिता लागू भएपछि प्रदेश १ मा १७ वटा घटनामा दुरुत्साहन मुद्दा लगाएको हो । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार खोटाङमा ४, झापा २, संखुवासभामा २, उदयपुरमा १, पाँचथरमा १, भोजपुर र मोरङमा ३-३ वटा दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता भएको छ ।

फौजदारी अपराध संहिता २०७४ मा दुरुत्साहन गरेकै कारणले आत्महत्या गरेको ठहरिएमा अभियुक्तलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ ।

 नैराश्यता मुख्य कारण

केही घटनामा अनुसन्धानपछि दुरूत्साहन मुद्दा लगाइएको छ । तर आत्महत्याको मुख्य कारण किशोर-किशोरी र युवाहरूमार सिर्जित नैराश्यता नै भएको प्रहरी अधिकारी बताउँछन् ।

आत्महत्या गर्नेहरुको मुख्य कारण नैराश्यता नै देखिएको प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीको दाबी छ । केही घटनामा सुसाइट नोट भेटिए पनि सुसाइटको कारण नैराश्यता नै देखिएको उनले बताए ।  ‘मापसे गरेर पनि सुसाइट गरेको देखिन्छ,’ उनले भने, ‘धेरै केसमा असफलतापछिको डिप्रेशन नै देखिन्छ ।’

यस बाेहक समाजप्रतिको अलगाव, अवैध यौन सम्बन्ध र मानसिक समस्याका कारण पनि आत्महत्या बढ्दै गएको प्रहरी अधिकारीहरु बाताउँछ ।

सचेतनाका लागि समुदाय प्रहरी साझेदारी

आत्महत्या नियन्त्रण र रोकथामका लागि सामाजिक सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक अधिकारी बताउँछन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाउँ गाउँमा सचेतना अभियान सञ्चालन गरिएको बताउँदै उनले स्थानीय सरकारसँग पनि समन्वय गरिरहेको बताए ।

युवापुस्ताले आत्महत्याको बाटो रोज्दा सम्बन्धित परिवारमा अपुरणिय क्षति पुग्ने अधिकारी बताउँछन् । यस्ता प्रकृतिका घटना नियन्त्रणका लागि व्यक्ति र परिवारसचेत हुनुपर्ने उनको भनाइ छ ।

गरिबी, झैझगडा, वैदेशिक रोजगार पनि आत्महत्याका कारण हुने गरेको अधिकारी बताउँछन् ।

प्रहरीको तथ्याङक अनुसार गत वर्ष मोरङमा मोरङ २३२ जनाले आत्महत्या गरेका थिए । ०७४/७५ मा १८१ र ०७३-७४ मा २२० जनाले आत्महत्या गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment