Comments Add Comment

एनआरटीसँग हारेपछि पुलिसका प्रशिक्षकले भने : यस्‍तो खेलले रेलिगेसन जोगाउन गाह्रो हुन्छ

काठमाडौं : सोमबार न्यूरोड टिमविरुद्धको खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापा निराश देखिए ।

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौं चरणको खेलमा पुलिस एनआरटीसंग १-० ले पराजित भएपछि पुलिसका प्रशिक्षक थापाले यो लिगकै खराब खेल भएको प्रतिक्रिया दिए  ।

‘हामी ३ अंकका लागि खेलेका थियौं। तर खेलाडीले सोचेअनुसार खेल्न सकेनन् । मुख्य खेलाडीले नै खेल्न सकेनन् । मैले यस्तो अपेक्षा गरेको थिइनँ’ थापाले भने ‘ आज एनआारटीले राम्रो खेलेर भन्दा पनि पुलिसले झुर खेलेर हारेका हौं ।’ थापाले एनआरटीविरुद्धको खेल लिगमा खेलेका ६ मध्ये सबैभन्दा खराब खेल भएको बताए ।

उनले पुलिसले आफ्नो क्षमताअनुसार खेल्न नसकेको स्वीकारे । ‘हामीले १०० प्रतिशतको आधा पनि खेल्न सकेनौं । आज ४० प्रतिशत मात्र खेल्न सक्यौं’ थापाले भने । प्रशिक्षक थापाले किन खराब प्रदर्शन भयो भनेर अनुसन्धान गर्नुपर्ने बेला भइसकेको बताए ।

‘च्यासलसंग खेल्दा च्याम्पियन नै हुन्छौं कि जस्तो प्रदर्शन थियो । अहिले ३-४ दिनमै कसरी यस्तो भयो । आजको खेल हेर्दा रेलिगेसन जोगाउन गाह्रो हुने खालको छ’ उनले भने ।

पुलिसलाई हराउँदै ३ अंक जोडेको एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य खुशी देखिन्थे । ‘हामीलाई ३ अंक महत्वपूर्ण थियो । त्यसमा खुशी छु’ उनले भने ।

खेल चित्तबुझ्दो नभए पनि जीत महत्वपूर्ण भएको शाक्यको भनाइ छ । एनआरटीले डिफेन्समा दुई जना नयाँ खेलाडी अनिल धामी र सनम लिम्बुलाई खेलाएको थियो । ‘दुई जना नयाँ भएकोले आत्तिएजस्तो देखिन्थे’ शाक्यले भने ।

शाक्यले आफ्नो टिमले पनि अभ्यासमा अनुसार खेल्न नसकेको बताए । उनले पुलिस क्लबले पहिलेजस्तो खेल्न नसकेको र टिम पनि पहिलेजस्तो नरहेको प्रतिक्रिया दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment