Comments Add Comment

उपसभामुखलाई गुरुङको आग्रह : संवैधानिक पदमा बसेर बार्गेनिङ नगर्नुस्

२८ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संवैधानिक पदमा बसेर बार्गेनिङ नगर्न उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई आग्रह गरेका छन् ।

ढिलो चाँडो राजीनामा दिनुको विकल्प नभएको भन्दै उनले व्यक्तिका आकांक्षा पूरा गर्न सदन अवरुद्ध गर्न नहुने बताए । सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा प्रमुख सचेतक गुरुङले संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता कसैलाई पनि नहुने र कम्युनिष्ट पार्टीमा त झनै स्वीकार्य नहुने तर्क गरे । उनले अघि भने, ‘यो फेयर पोलिटिक्स होइन ।’

संसदमा बहुमत भएको नाताले सभामुखमा नेकपाले उम्मेदवारी दिने नेता गुरुङले बताए । ‘यसको लागि संवैधानिक बाटो खुलाउनुपर्छ’ भन्दै उनले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको सुनाए । उनले अघि भने, ‘यदि उहाँ आफैं सभामुखको उम्मेदवार हुन चाहेको भए उपसभामुखबाट अनिवार्य रुपमा राजीनामा दिनुपर्छ । उपसभामुख पदमा रहिरहेर उहाँले सभामुखमा उम्मेदवारी दिन मिल्दैन ।’

संसदको गतिरोध खुलाउन दुई वटा विकल्प रहेको उनले सुनाए । नेकपा प्रमुख सचेतक गुरुङ भन्छन्, ‘कि त सर्वोच्च अदालतको फैसला तुरुन्त आउनुपर्‍यो, या त उपसभामुखले मार्गप्रशस्त गर्नुपर्छ । पार्टीको आग्रह पनि मार्गप्रशस्त गर्नुस् भन्ने हो ।’

संवैधानिक रुपमै सभामुखमा उम्मेदवारी दिने बाटो खुल्ला नभएकाले नेकपाले उम्मेदवार तय नगरेको उनको तर्क छ । उनले भने, ‘संवैधानिक संकटको समाधान हुनेबित्तिकै सभामुखमा ए, बी, सी वा डी जो भए पनि उम्मेदवार तय हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment