Comments Add Comment

हेटौंडा राजधानी भएको खुसीयालीमा विद्यालय बन्द, घरजग्गा व्यवसायीको बधाई

२९ पुस, मकवानपुर । प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम भएकोमा प्रदेशकै अन्य जिल्लाका बासिन्दाले असन्तुष्टि पोखिरहेका छन् । अपायक स्थानमा राजधानी राखेको भन्दै जनप्रतिनिधिको आलोचना भइरहेको छ ।

राजधानीलाई लिएर प्रदेश ३ का बासिन्दामा असन्तुष्टि बढिरहे पनि मकवानपुर जिल्लामा भने खुसीयाली छाएको छ । राजधानी पाएको खुसीमा विद्यालय बन्द गर्नेदेखि घरजग्गा व्यवसायीले  जनप्रतिनिधिहरुलाई बधाईसम्म दिएका छन् ।

विद्यालय बन्द गरेर मनाइयो खुसियाली

प्रदेश ३ को राजधानी हेटौंडा कायम भएको खुसीयालीमा विद्यालय नै बन्द गरिएको छ । हेटौंडा उपमहानगरपालिका ६ नं. वडा कार्यालयले वडाभित्रका सबै विद्यालयमा सोमबार छुट्टी दिएको हो ।

सहायक वडा प्रशासकीय प्रमुख इन्दिरा कुमारी न्यौपानेद्वारा जारी सूचनामा प्रदेशको नाम बागमती र राजधानी हेटौंडा भएको सुखद् उपलक्ष्यमा पुस २८ का दिन वडाभित्रका निजी तथा सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्न भनिएको छ ।

तर हेटौंडा उपमहानगरपालिका-६ का वडाध्यक्ष अर्जुन चापागाईंले भने विद्यालय छुट्टी नदिएको दाबी गरे ।

बिहान केहीबेर खुसीयाली मनाएर त्यसपछि पठनपाठन यथावत् सञ्चालन गरिएको उनको भनाइ छ । ‘खुसीयाली मनाउने क्रममा केही कक्षा नभएको हुनसक्छ । तर विद्यालय नै बन्द गरिएको होइन’, वडाध्यक्ष चापागाईंले भने ।

सूचना निकालेर घरजग्गा व्यवसायीको बधाई

हेटौंडाले राजधानी पाएकोमा घरजग्गा व्यवसायी त पुलकित नै भएका छन् । खुसीयालीमा उनीहरूले काठमाडौंबाट प्रकाशित हुने दैनिक पत्रिकामा सूचना छापेर बधाई नै दिएका छन् ।

बधाई सन्देशमा हेटौंडालाई प्रदेशको स्थायी राजधानीमा परिणत गर्न पहल गर्ने सम्पूर्ण स्थानीय तह, जनप्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मीलगायतप्रति आभार प्रकट गरिएको छ ।

घरजग्गा व्यवसायीले दिएको बधाई सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रदेश राजधानी हेटौंडा बनाइएकोप्रति असन्तुष्टहरूले यसको कटाक्ष गरेका छन् ।

‘प्रदेशसभा सदस्यहरूलाई मात्र हो र सहयोग पुर्‍याउने सबैलाई आउन थाल्यो बधाई । ल अब टन्न खानुहोस्,’ नुवाकोटमा क्रियाशील पत्रकार रामहरि न्यौपानेले सूचनाको कटिङ आफ्नो फेसबुक पेजमा सेयर गर्दै लेखेका छन् ।

अपायक स्थानमा राजधानी बनाएको भन्दै अन्यले पनि यसरी नै असन्तुष्टि पोखिरहेका छन् ।

हेटौंडालाई अस्थायी राजधानी बनाएदेखि नै यहाँ घरजग्गाको कारोबार ह्वात्तै बढेको थियो । स्थायी राजधानी नै भएपछि कारोबार अझै बढ्ने अनुमान गरिएको छ ।

यसअघि हेटौंडा उपमहानगरपालिकाले हेटौंडाभन्दा बाहिर घर भएका सांसदहरुलाई सरकारी दररेटमा १० धुरको दरले घडेरी उपलब्ध गराउने निर्णयसमेत गरेको थियो । यसलाई कतिपयले प्रदेश ३ को राजधानी हेटौंडामा नै कायम राख्न सांसदहरुलाई प्रलोभनमा पारेको भनेर विरोध गरेका थिए ।

यो पनि पढ्नुहोस दाङ राजधानी बन्ने हल्लापछि ऋण लिएर जग्गा किन्नेहरूको बिचल्ली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment