Comments Add Comment

सुरु भयो थारु समुदायको नयाँ वर्ष

२९ पुस, दाङ । माघ थारु समुदायको एक विशेष पर्व हो । जुन उनीहरुले महत्वपूर्वक मनाउँदै आएका छन् । माघ थारु समुदायका लागि एउटा चाडमात्रै होइन, उनीहरुले यस दिनलाई नयाँ वर्षका रुपमा समेत मनाउँदै आएका छन् ।

बुधबारबाट थारु समुदायको नयाँ वर्ष २६४३ औं वर्ष सुरु भएको छ । माघ १ अर्थात नयाँ वर्षको स्वागतका लागि यतिबेला दाङलगायतका थारु समुदाय अन्तिम तयारीमा जुटेका छन् । माघ १ गतेका दिन थारु समुदायहरु आ-आफ्नो पायक पर्ने ठाउँमा भेला भएर नाचगान, भेला, बैठक, तथा छलफल गरी मनाउँछन् ।

माघलाई विभिन्न ठाउँका थारु समुदायले आफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला संकराइत नामले मनाइँदै आइएको थारु अध्येता छविलाल कोपिला बताउँछन् । ‘केही वर्ष पहिले थारु समुदायका अधिकांश कम्लहरी थिए ।

उनीहरु माघका दिनमामात्रै छुट्टी पाउँथे त्यसैले यसलाई मुक्ति दिवसका रुपमा पनि मनाइन्छ,’ उनी भन्छन्, ‘कुनै ठाउँमा माघलाई माघी पनि भनिएको सुनिन्छ । तर यथार्थ त्यो होइन् ।’

थारु समुदायले माघमै आफ्नो मुखिया चुन्ने, नयाँ नियम लागू गर्ने, संसोधन गर्ने, चौकिदार र घरको मूलीसमेत चुन्ने भएकाले पनि यसलाई विशेष रुपमा लिइँदै आइएको कोपिला सुनाउँछन् । ‘वास्तवमा साधारण नाचगानभन्दा पनि वर्षभरिको विशेष योजना यही माघमै बनाइने भएकाले पनि यो थारु समुदायका लागि महत्वपूर्ण छ,’ भन्छन् । माघमा दाङलगायत थारुहट क्षेत्रमा मघौटा नाच नाच्ने गरिन्छ ।

माघमा थारु समुदायका लागि सुँगुरको मासु अति नै महत्वपूर्ण हुने र तयारी केही दिनअघिबाटै सुरु हुने घोराही ९ का वीरबहादुर चौधरी बताउँछन् । ‘खासमा माघ आउनुभन्दा अघि नै हाम्रो माघ सुरु हुन्छ । पहिले नै हामीले नयाँ पात टिप्ने, माछा मार्ने ठाउँ छनोट गर्ने लगायतका ठाउँ चुनिसक्छौं,’ उनी भन्छन्, ‘सुँगुर माघमा महत्वपूर्ण हुन्छ । पहिले नै कहाँ कसको सुँगुर ढाल्ने भन्ने पनि निश्चित भइसक्छ ।’

माघ १ मा थारु समुदायका लागि सबैभन्दा महत्वपूर्ण खान्की ढिक्री हो । जुन उनीहरुले चामलको पीठोलाई बफाएर पकाएका हुन्छन् । माछा, सुँगुरको मासुलगायतले खान्कीले माघमा विशेष महत्व राख्ने किरम चौधरी बताउँछिन् ।

‘थारु प्रकृतिपूजक जाति हो । त्यसैले यो बेला विभिन्न ताल तथा दहमा गएर मनोकामना राख्ने गर्दैछौं,’ भन्छिन्, ‘त्यसरी त हामीले सखिया नाचमा पनि आˆना मनोकामना नै राख्ने गर्दछौं ।’ उनले माघमा अनिवार्य रुपमा नुहाउने परम्परा समेत भएको र ननुहाएमा जलदेवीसँग भाले या परेवाले भाकल राखेर पुज्नुपर्ने मान्यता रहेको सुनाइन् ।

थारु समुदायले माघको १ गतेदेखि करिब १ हप्ता मघौता नाच नाँच्दछन् । जुन सखिया भाकामा उनीहरुले नाच्ने गर्दछन् । मादलको तालमा नाच्ने मघौता नाच्ने गरिन्छ । उनीहरु तिहारबेला देउँसी भैलोजसरी एकअर्काको घरमा मघौता नाचेर मनोरञ्जन लिने गरेका छन् । मघौता नाच्दै सखिया भाकासहित माघौता नाचेर दान दक्षिणा तथा आशिर्वाद थाप्दछन् । तर मघौता नाच दाङको देउखुरी क्षेत्रमा भने नाँचिदैन ।

थारु समुदायमा माघ पर्वले ठूलो महत्व राखे पनि हाल विभिन्न कारणबश विकृति भित्रिँदै गएको चिन्तित छन्, कोपिला । भन्छन्, ‘अहिले आएर नाचगानमामात्रै सीमित हुन लागिसक्यो । तर, यसको महत्व र इतिहास अहिलेको पुस्ताले बिर्सँदै गएका छन् ।’ माघ १ गते थारुसहित पश्चिम क्षेत्रका मगर समुदायले माघे संक्रान्ति, मकर संक्रान्ति, लुतो फाल्ने दिन लगायतका नामले मनाउँदै आएका छन् ।

तस्वीर : युनिश गुरुङ / अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment