Comments Add Comment

माघी महोत्सवमा प्रचण्डको सम्बोधन : रेशम चौधरीलाई छिट्टै छुटाउँछु

१ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई छिट्टै छुटाइने बताएका छन् ।

काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले चौधरी फरार रहेका बेला भारतमा प्रधानमन्त्रीको हैसियतमै तथा पक्राउ परेपछि पनि डिल्लीबजार जेलमा पुगेर भेटेको स्मरण गराए ।

उनले अघि भने, ‘सभामुख, सरकार र पार्टीलाई भनेर कम्तिमा रेशमलाई सपथ गराउनुपर्छ र उनलाई माननीयको दर्जा दिलाउनुपर्छ भनेर भूमिका खेल्ने पनि म हुँ भन्ने नबिर्सनुहोला ।’

अहिले पनि सरकारसँग र पार्टीमा टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस गरिरहेको उनले बताए । प्रचण्डले अघि भने, ‘केही साथीहरु छुटेका छन् । रेशमलागायका साथीहरु छुट्न बाँकी छ । छुटाइन्छ, हेर्नुहोला केही समयभित्र परिणम निस्किन्छ ।’

थारु मात्र नभइ अरुको पनि झुटा मुद्दा खारेज गर्नुपर्ने उनले बताए । माओवादी आन्दोलनमा लागेका, आफूसँगै भएका थुप्रै मानिस अहिले पजि जेलमा रहेको भन्दै उनले भने, ‘हिजो जनयुद्धमा संलग्न पहाडिया बाहुन क्षेत्री नै जेलमा छन् । हिजो सेनाबाट आएर जनयुद्धमा आएकालाई पनि जेल हालिएको छ । उनीहरुलाई पनि छुटाउन मेरो आन्दोलन जारी छ ।’

नेकपा अध्यक्ष प्रचण्डले आफूले पहिचानको आन्दोलन नछाडेको दाबीसमेत गरे । आन्दोलन भनेको अहिलेसम्म कसैले नचढेको पहाड चढेको जस्तै भएको भन्दै उनले भने, ‘कोही नपुगेको उचाइमा पुग्न सिधै नाक अगाडि जान सकिँदैन । दायाँबायाँ गर्नुपर्छ ।’

उनले अघि भने, ‘आन्दोलनमा विश्राम लिएका छौं, चौतारीमा सुस्केरा मारिरहेका छौं । तर हामी आन्दोलनमा नै छौं ।’

पहिचान र अधिकारका निम्ति फेरि पनि बहस भइरहेको भन्दै उनले नयाँ चिज लिन खोज्दा पोल्टामा भएको नखसोस् भन्नेतर्फ सचेत हुनुपर्ने बताए । प्रचण्डले भने, ‘एकैचोटि सबै प्राप्त कहिल्यै भएको छैन । प्राप्त हुँदै जान्छ । त्यसलाई दह्रोसँग पोको पार्ने र नयाँ प्राप्त गर्न अगाडि बढ्ने इतिहास छ ।’

प्रचण्डले ‘थारुहरुको मात्र होइन, सबैको झुटा मुद्दा खारेज गर्ने आन्दोलन जारी छ, तपाईंहरुले आवाज बुलन्द गर्दै जानुस्’ भन्दै आफ्नो सम्बोधन टुंग्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment