Comments Add Comment

गण्डकी विश्वविद्यालय : संरचना छैन, कुलपतिको होडमा ५ जना

२ माघ, पोखरा । दक्ष र प्राविधिक जनशक्ति तयार गर्न भन्दै गण्डकी प्रदेश सरकारले विश्वविद्यालय खोल्ने तयारी गरेको छ । यसका लागि आवश्यक विधेयक प्रदेशसभाबाट पास भएर ऐनका रुपमा आइसक्यो भने अहिले कुलपति छनोटको प्रक्रिया चलिरहेको छ ।

तर बिस्तृत सम्भाव्यता अध्ययन र संरचना बनाउने काम भने शून्य जस्तै छ ।

कुलपति बन्ने होडमा कोको छन् ?

प्रदेश सरकारले कुलपति छनोट तथा सिफारिस गर्न कात्तिक ५ मा सामाजिक विकासमन्त्री नरदेवी पुनमगरको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले दिएको समयमा १० जनाको आवेदन परेको थियो । उनीहरुमध्ये पाँच जनालाई सर्टलिस्टमा राखिएको छ, जसमा खुला विश्वविद्यालयका अभियन्तादेखि त्रिभुवन विश्वविद्यालयका अनुदान आयोगका पूर्वअध्यक्षसम्म छन् ।

सिफारिस समितिले बनाएको सम्भावित ५ कुलपतिको सूचीमा खुला विश्वविद्यालयका अभियन्ता डा. प्रमोद ढकाल, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. हेमराज सुवेदी, विश्वविद्यालयमा काम गरेका र अनुसन्धानकर्ता डा. पूर्णकान्त अधिकारी, त्रिभुवन विश्वविद्यालयमै कार्यरत डा. वासुदेव काफ्ले र विश्वविद्यालय अनुदान अयोगका पूर्वअध्यक्ष प्रा.डा. गणेशमान गुरुङको नाम छ ।

आवेदन दिएका डा. तीर्थबहादुर थापा, डा. मोतीलाल पराजुली, डा. भीमलाल गौतम, डा. दीपककुमार खड्का र डा. विमल आचार्यको भने सम्भावना सकिएको छ ।

समितिले अब ३ जनाको नाम प्रदेश सरकारलाई सिफारिस गर्ने छ । केही दिनमा समितिले ३ जनाको नाम छनोट गरेर पठाइने समिति सदस्य तथा प्रदेश योजना आयोग उपाध्यक्ष डा. गिरिधारी शर्माले जानकारी दिए ।

सिफारिस भएको नामबाट मन्त्रिपरिषदको बैठकले एक जनालाई गण्डकी विश्वविद्यालयको कुलपति बनाउने निर्णय गर्ने छ ।

कुलपति बन्न रोस्टममा नाम चढाउन विद्यावारिधी उपाधि हासिल गरी प्राज्ञिक वा प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव हुनुपर्ने मापदण्ड तोकिएको छ । ४५ वर्ष पूरा भएको उमेर हद तोकिएको छ । अहिलेसम्मको अनुभव र अब गण्डकी विश्वविद्यालयलाई कस्तो बनाउन सकिन्छ भन्ने दीर्घकालीन कार्ययोजनाका आधारमा कुलपति छनोट हुने शर्माले जानकारी दिए ।

अझै बनेको छैन संरचना

विश्वविद्यालयको स्वरुप र सञ्चालन ढाँचा तयार पारेर कुलपति छनोट भइरहँदा विस्तृत सम्भाव्यता अध्ययन र संरचना बनाउने काम भने शून्य जस्तै छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाको अहिले भानुभक्त क्याम्पस रहेकै ठाउँमा विश्वविद्यालय बनाउने योजनासहित संघीय सरकारसँग प्रदेशले जग्गा हस्तान्तरण गर्न माग गरेको छ । तर अहिलेसम्म जग्गा उपलब्ध भइसकेको छैन ।

प्रदेशस्तरीय विश्वविद्यालय खोल्न विस्तृत सम्भाव्यता अध्ययनका लागि सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । यो आर्थिक वर्षमा सरकारले विस्तृत सम्भाव्यता अध्ययनसहित अन्य आधार तयार पार्न ८ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये १ अर्ब ८२ करोड ३० लाख रुपैयाँ स्थापना र सञ्चालनमा खर्च हुनेछ भने पूँजीगत खर्च ६ अर्ब १२ करोड ५० लाख रुपैयाँ हुनेछ ।

गण्डकी प्रदेश विश्वविद्यालय बनाउन ८ अर्ब लाग्ने अनुमान छ । डा. तीर्थबहादुर थापा संयोजकत्वमा गण्डकी प्रदेश सरकारले गठन गरेको विश्वविद्यालयको ढाँचा तथा सञ्चालनसम्बन्धी अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदनसमेत बुझाइसकेको छ । खोज, अनुसन्धान थलो बनाउने, ८० प्रतिशत प्राविधिक शिक्षा र बाँकी २० प्रतिशत सामान्य शिक्षा अध्यापन गर्ने गरी विश्वविद्यालयको विकास गर्ने सरकारको योजना छ ।

विश्वविद्यालय बनाउन भानुभक्त क्याम्पस र सँगै रहेको सार्वजनिक गरी ४ सय ७५ रोपनी जग्गा प्रदेशलाई उपलब्ध गराउन सरकारले माग गरेको छ । अध्ययन समितिले पनि सोही जग्गामा विश्वविद्यालय बनाउन उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ ।

तर प्रदेशले बेलचौतारामा प्रदेशस्तरीय विश्वविद्यालय खोल्ने योजनासहित कुलपति नियुक्त गर्न लागिसकेको छ, तर जग्गा प्राप्ति कहिले हुन्छ अझै पत्तो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment