Comments Add Comment

ओली प्रचण्ड वार्ता सकारात्मक, शुक्रबार निर्णायक छलफल

२ माघ, काठमाडौं । सभामुखको उम्मेदवार छान्न नसकेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार झण्डै तीन घन्टा वार्ता भएको छ । बालुवाटारमा भएको वार्ता सकारात्मक भएको नेताहरुले बताएपनि कुनै सहमति भने जुटेको छैन ।

प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई भेट्न प्रचण्डले बिहीबार विहान बालुवाटार पुगेका थिए ।

दुई नेताहरुबीच पार्टी एकताको मनोविज्ञानलाई पनि सम्बोधन गर्ने गरी निर्णयमा पुग्ने सहमति भएको प्रचण्ड निकट एक नेताले बताए । एक नेता भन्छन्, ‘छलफल कुनै निष्कर्षमा पुगेको छैन, तर केही सहज वातावरण बनेको छ ।’

स्रोतका अनुसार दुई नेताबीच सभामुखबारे भोलि शुक्रबार निर्णायक वार्ता गर्ने तयारी छ ।

नेकपाका महासचिव विष्णु पौडेलले पनि छलफल समाधानउन्मुख भएको प्रतिक्रिया दिएका छन् । ‘६ माघ अगाडि नै सबै विषयमा समाधान दिने गरी छलफल अगाडि बढेको छ’ उनले भने, ‘६ माघमा सभामुख निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’

६ माघमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठक बसेको अवस्थामा सभामुख निर्वाचनको कार्यतालिका आउनेछ । तर सत्तारुढ नेकपामा सभामुखबारे सहमति जुट्न नसक्दा संसद बैठक लगातार सूचना टाँसेर स्थगित हुँदै आएको छ ।

नेकपामा अध्यक्ष प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको आ आफ्नो उम्मेदवार छन् ।

ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई अगाडि सारेका छन् भने प्रचण्डले अग्नि सापकोटाको नाम लिएका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महरा पूर्वमाओवादी कोटाबाट भएकाले अहिले सभामुख आफ्नो प्रस्तावमा हुनुपर्ने प्रचण्डको अडान छ ।

यस्तै वर्तमान उपसभामुख शिवमाया तुम्बाहङफेले पनि सभामुखमा आफ्नो दाबेदारी प्रस्तुत गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment