+
+

कमजोर बन्यो पानी पार्ने मौसमी प्रणाली, आजैबाट मौसम सुधारिने

काठमाडौंमा बिहान हुस्सु, सम्भवतः दिउँसोबाटै घाम लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ४ गते ९:०१

४ माघ, काठमाडौं । केही दिनदेखि जारी बदली, वर्षा र हिमपातमा आजबाट क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।

गत बुधबार देशको पश्चिम भेगबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण उच्च हिमाली भेगमा हिमपात र पहाडी र तराई क्षेत्रमा वर्षा भएको थियो । वर्षाका कारण चिसोसमेत बढेको छ । तर, यो प्रणाली शनिबारबाट कमजोर बन्दै गएकाले मौसममा क्रमिक सुधार हुने मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

‘बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणाली विस्तारै कमजोर हुँदै गएकाले आजबाटै मौसम सुधारिँदै जानेछ,’ मौसमविद् पोखरेलले अनलाइनखबरसँग भनिन् ।

काठमाडौंमा शनिबार बिहानैदेखि हुस्सु लागेको छ । मौसमविद् पोखरेलका अनुसार, केहीबेर काठमाडौं उपत्यकामा बदली भए पनि दिउँसोबाट घाम लाग्नसक्ने सम्भावना छ ।

यद्यपि, भोलिबाट भने काठमाडौंसहित देशका अधिकांश भूभागको मौसम घमाइलो हुने पोखरेलले जानकारी दिइन् । ‘आज घाम र बदलीबीच लुकामारी चले पनि भोलिबाट भने काठमाडौंसहित देशका अधिकांश भागमा घाम लाग्ने देखिन्छ,’ मौसमविद् पोखरेलले भनिन् ।

उच्च पहाडी तथा हिमाली भेग भने आज दिनभर नै हिमपातको जोखिममा पर्नसक्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले औंल्याएको छ । उसले आवश्यक सतर्कता अपनाउन पनि यो क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?