Comments Add Comment

हाम्रो यस्तो आनीबानी, जो अरुलाई मन पर्दैन

केही बानीहरु त्यस्ता हुन्छन्, जसलाई हामी त सुरक्षित मान्छौं, तर त्यहीँ बानी कसैको लागि अभद्र र अनुशासनहिन जस्तो लाग्न सक्छ ।

हामी सबैमा केही त्यस्ता बानीहरु हुन्छन्, जसप्रति हामी प्राय ध्यान दिँदैनौं । तर, त्यही बानीले तपाईंको अघिल्तिरको व्यक्तिलाई भने हैरान बनाइसकेको हुन्छ । आज हामी त्यस्तै केही बानीहरुका बारेमा तपाईंलाई जानकारी दिन गैरहेका छौं । यदि तपाईंमा पनि यस्ता बानीहरु छन् भने तीनलाई परिवर्तन गर्ने बारेमा आजैदेखि सोच्न थाल्नुहोस् । हुनसक्छ, तपाईं यी बानीहरुका बारेमा पहिलेदेखि नै जानकार हुनुहुन्छ, तर कहिले पनि ध्यान नदिनु भएको हुनसक्छ । आउनुहोस्, ती बानीहरुका बारेमा बुझौं ।

खुट्टा हल्लाउनु

कतिपय मानिसहरु बसेको बेलामा होस् अथवा ओछ्यानमा पल्टिएको बेला होस्, खुट्टा हल्लाइरहने बानी हुन्छ । खुट्टा हल्लाउने व्यक्तिलाई आफूले लगातार त्यसो गरिरहेको छु भन्ने कुराको जानकारी समेत हुँदैन । यदि तपाईं कुनै त्यस्तो व्यक्तिसंग बस्नु भएको छ, जसको खुट्टा हल्लाउने बानी छ भने तपाईंलाई कुनै पनि कुरामा ध्यान केन्दि्रत गर्न समस्या परिरहेको हुन सक्छ । खुट्टा हल्लाउनुको कारण चिन्ताग्रस्त हुनु पनि हुन सक्छ ।

यदि तपाईंको पनि समस्या परेको बेला खुट्टा हल्लाउने बानी छ भने त्यसलाई बिस्तारै रोक्नु पर्छ । जब-जब तपाईं समस्याहरुबाट घेरिनु हुन्छ, त्यो बेला लामो सास लिनु पर्छ र केही समयका लागि सासलाई रोकेर राख्नु पर्छ । त्यसपछि बिस्तारै-बिस्तारै सास छाड्नु पर्छ । लगत्तै आरामले सास लिने र छाड्ने अभ्यास गर्नु पर्छ । त्यसक्रममा खुट्टाको पैतालालाई पूर्ण रुपले जमिनमै टाँसेर राख्ने कोसिस गर्नु पर्छ । खुट्टामाथि खुट्टा चढाएर बस्ने अथवा पैतालालाई हल्का माथि उठाउने बित्तिकै खुट्टा स्वतः हल्लिन थाल्छ ।

खाना खाँदा आवाज निकाल्नु

खाना खाने सबैको आ-आफ्नै तरिकाहरु हुन्छन् । कोही व्यक्ति आरामले खाना खान्छन् भने कोही हतार-हतार खाना खान्छन् । कोही व्यक्ति भने खाना खाने बेलामा समेत आवाज निकाल्छन् । कोही व्यक्ति चिया पिउने क्रममा सूरुप्प-सुरुप्प गर्दै आवाज निकाल्छन् । वास्तवमा त्यसो गर्नु भनेको अशिष्टताको श्रेणीमा पर्नु हो ।

त्यसैले तपाईंले कुनै पनि प्रकारको खाना खाँदा आवाज ननिकाल्ने कोशिस गर्नु पर्छ । त्यसका लागि खानाको सानो गाँस लिएर मुख बन्द गरेर राम्ररी चपाएर खानु पर्छ । ठूलो गाँस लिइयो भने मुख खुल्ला नै रहन्छ, त्यस्तो बेला खाना चपाएको आवाज त आउँछ नै, हेर्दा पनि अभद्रता झल्किन्छ ।

नङ टोक्नु

नङ टोक्नु सबैभन्दा अभद्र बानीहरुमध्ये एक हो । केही व्यक्तिहरु यो बानीबाट यति हदसम्म ग्रस्त हुन्छन् कि उनीहरु हरेक समय, चाहे कसैसंग कुराकानी नै गरिरहेको बेला किन नहोस् अथवा कुनै समारोहमै किन नहुन्, आफ्नो नङ टोक्न भने छाड्दैनन् । त्यहीं कतिपय व्यक्तिहरुको भने ठूल्ठूलो आवाजले औंला पड्काउने बानी हुन्छ । यदि तपाईंको छेउछाउमा पनि त्यस्ता कुनै व्यक्तिहरु छन् भने उनीहरुलाई कराइदिँदा फरक पर्दैन । यदि तपाईंको पनि त्यस्तो आदत छ भने परिवारका सदस्यहरुलाई आफूलाई कराउन आग्रह गर्नु होस् ।

पेन क्लिकर

कसै-कसैलाई पेन (डटपेन) को टुप्पोमा थिच्ने-छाड्ने बानी पनि हुन्छ । हुन त यो सामान्य बानी हो, तर त्यो आवाजलाई नियमित रुपले सुन्ने व्यक्तिलाई निकै नै तनाव भैसकेको हुन्छ । कक्षा कोठामा पढाइ भैरहेको बेला होस् अथवा कार्यालयको मिटिङमा होस्, मानिसहरु पेन क्लिक गरिरहेका हुन्छन् । पेनको आवाज शान्त वातावरणमा गुञ्जन्छ, जसले सबैको ध्यान भंग गरिदिन्छ । यो बानीले धेरैलाई हैरान बनाएको हुन्छ । यो बानीबाट छुटकारा पाउनका लागि बिर्को भएको पेनको प्रयोग गर्नु पर्छ ।

छोएर कुरा गर्नु

केही व्यक्तिहरु समुहमा कुनै एक व्यक्तिको कानमा केही भन्न थाल्छन् अथवा एउटा कुनामा लगेर कुराकानी गर्न थाल्छन् । कसैको कुराकानी गर्ने क्रममा अर्को व्यक्तिलाई छोएर अथवा हात हालेर बोल्न थाल्छन् । त्यस्तो बानीले अर्को व्यक्तिलाई असहजता महसूस हुन सक्छ । यदि तपाईंको पनि यस्तो गर्ने बानी छ भने यो बानीलाई आजैदेखि परिवर्तन गर्नुहोला । कानमा केही भन्ने अथवा छोएर र हात हालेर कुराकानी गरेको सबैलाई मन पर्छ भन्ने हुँदैन । त्यसैले टाढै बाट अथवा सबैको अघिल्तिर उभिएर कुराकानी गर्ने बानी बसाल्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment