Comments Add Comment

परशु प्रधानको धोको

लेखेर नथाक्ने, गतिविधिहरुबाट नथाक्ने एक खम्बा हुन् आख्यानकार परशु प्रधान । तर, केही समययता उनको कलम सुस्ताएको छ, गतिविधिमा शून्यता छाएको छ । उनका रचनाहरु पत्रपत्रिकामा खासै देखिँदैनन् । अन्तरवार्ताहरु पनि खासै आउँदैनन् । साहित्यिक सभा समारोहमा उनको उपस्थिति शून्यप्रायः छ । प्रातः भ्रमणका दौंतरीहरुको जमातमा पनि सामेल नभएको बर्षाैं भैसक्यो । विशेषतः उनको प्रोष्टेटको शल्यक्रियापछि ।

एउटा चलायमान, गतिशील एवं सिर्जनामा रमाउने परशु प्रधानको लेखकीय अनुपस्थितिले शून्यता अनुभव गर्छन् उनका समकालीनहरु । तर, एकजना लेखकले कति लेखिरहने, के पाइरहने या नपाइरहने ? यी प्रश्न आफैंमा अमूर्त छन् ।

वि.सं. २००० सालमा भोजपुरमा जन्मेका परशु प्रधानले साहित्य यात्रा पनि भोजपुरबाटै थालेका हुन् । आफ्नो जागिरे जीवनको शुरुवात पनि त्यहीँबाट गरेका हुन् । नेवारको छोराले बाहुनीलाई भगाएर क्रान्तिकारी जीवनको शुरुवात पनि त्यहीँबाट गरेका हुन् ।

त्यतिबेलाको कानुन अनुसार उनलाई १२ बर्ष जेल र श्रीमतीलाई ६ बर्ष जेल सजायँ हुन सक्थ्यो, जात नमिलाएर अन्तरजातिय विवाह गर्दा । त्यसैले आफूले मन पराएकी जानुकादेवी रेग्मीलाई लिएर उनी भोजपुरबाट बेपत्ता भए । उनी मोरङ हुँदै बनारससम्म लुक्न पुगे । २०२० साल भदौ १ गते नयाँ मुलुकी ऐनले बाटो खोलेपछि मात्र उनले छाती फुकाएर भोजपुरमा हिँड्न पाएका हुन् ।

काठमाडौं अथवा कुनैबेलाको नेपाल खाल्डो देशैभरिका सबै क्षेत्रका मान्छेहरुको आकर्षणको केन्द्रविन्दु रही आएको छ । कोही कसैले सपना देखाएर, कोही आफैंले सपना देखेर काठमाडौं आउँछन् । कोही कसैले डोर्‍याएर आउँछन् त कोही आफैं डोरिएर आउँछन् ।

परशु प्रधानलाई काठमाडौं डोर्‍याउने व्यक्ति थिए– कवि केदारमान व्यथित । उनले व्यथितलाई पितावत् मानेका छन् । ‘गड फादर’ भनेका छन् । व्यथितले पनि परशुलाई पुत्रवत् व्यवहार र स्नेह गर्थे । व्यथितको जीवनकालभरि यो सम्वन्ध यथावत् रह्यो ।

परशु प्रधानसँग यस पंक्तिकारको सम्बन्ध ०४१ सालमा उनको ‘प्रतिनिधि कथा’ पाँचतारे होटलमा विमोचन भएपछि उनकै बानेश्वरको निवासमा भेट्न गएपछि भएको हो । म त्यतिखेर रुपरेखा मासिकमा नियमित साहित्यिक अन्तरवार्ता स्तम्भमा लेख्ने गर्थें । म उनको अन्तरवार्ता लिन गएको थिएँ । उनको अन्तरवार्ता रुपरेखामा प्रकाशित भएको थियो ।

खासमा विमोचनको संस्कृति नेपालमा भित्र्याउने श्रेय परशु प्रधानलाई जान्छ । ०३४ सालमा प्रकाशित ऋषिराज बरालको पहिलो उपन्यास ‘भावना’ बागबजारको राम दाइको भट्टीमा विमोचन भएपछि विमोचन शब्दको व्यापक प्रयोग र विमोचन संस्कृतिको आरम्भ भएको हो । यसका सूत्रधार परशु प्रधान नै थिए । उनले भारतमा पुस्तक विमोचन हुने गरेको हिन्दी अखबारमा समाचारहरु पढेका थिए । त्यसैलाई उनले नेपाल भित्र्याए ।

त्यस कार्यक्रममा हरि अधिकारी, ध्रुव सापकोटा लगायतका तत्कालीन समयका साहित्यकारहरुको मिल्ने जमात थियो । यसरी राम दाइको भट्टीमा शुरु भएको विमोचन संस्कृतिको चरमोत्कर्ष पाँचतारे होटलसम्म पुग्यो ।

रामदाइको भट्टीमा विमोचनका सूत्रधार मात्र थिए परशु प्रधान । तर, पाँचतारे होटलमा त उनी नै केन्द्रबिन्दु भए । उनको ‘प्रतिनिधि कथा’ पाँचतारे होटलमा विमोचन भएको सम्भवतः पहिलो साहित्यिक कृति थियो ।

भोजपुरबाट काठमाडौंसम्म डोर्‍याउने केदारमान व्यथित भए पनि काठमाडौंमा स्थापित गर्न र आर्थिक मेरुदण्डलाई सम्हाल्ने काम भने रत्न पुस्तक भण्डारले गरेको थियो । उनी गाईड बुक लेख्थे, जसको वर्षेनी परिमार्जित संस्करण निस्कन्थ्यो । सरकारी जागिरका लागि त्यो अपरिहार्य पुस्तक थियो । त्यसले प्रधानलाई काठमाडौंमा जागिरे साहित्यकारको बिल्ला लाएर हिँड्न ठूलो भरथेक गरेको थियो ।

शुरुमा उनले कविता लेख्ने गरे पनि पहिलो कविता संग्रह ‘जीवनपथ’ प्रकाशित भएपछि भने कवितालाई चटक्कै छाडेर कथालाई मूल विधाका रुपमा अपनाए । कवितात्मक मिठास र लययुक्त उनका कथाहरुको आफ्नै पहिचान र परशु प्रधानीय शैली छर्लक्कै छुट्टिन्छ ।

प्रधानले बाल साहित्यमा पनि कलम चलाए । अनि, श्रीमतीलाई पनि बाल साहित्यकारका रुपमा स्थापित गराए ।

उनी जागिरे जीवनका बेला पनि साहित्यिक जमातमा हिँड्न, गतिविधिमा रम्न रुचाउँथे ।

आख्यानमा उनको सग्लो एउटै मात्र उपन्यास प्रकाशित भयो, ‘सबै बिर्सिएका अनुहारहरु’ । उनले दोस्रो उपन्यास लेखेका थिए, ‘रात जो पग्लन्छ ।’ त्यो उपन्यासका केही अंश २०२१ सालतिर ‘तुवाँलो’ पत्रिकामा प्रकाशित भएको थियो । त्यसको पाण्डुलिपि उनले शंकर लामिछाने मार्फत सहयोगी प्रकाशनलाई ३०० रुपैयाँमा बेचेका थिए । तर, त्यो कहिल्यै प्रकाशित भएन । बरु २०३० सालतिर नेपाली भाषाको पहिलो सहयोगी उपन्यास ‘आकाश विभाजित छ’ लेखनका लागि प्रधानको हुटहुटी र सहभागिता रह्यो । त्यो उपन्यासको शुरुवातको परिच्छेद उनैले लेखेका थिए । पछि उनले एउटा बिसर्ग नामक उपन्यास लेख्न खोजेका थिए । शुरुवात गरेर अलिकति अगाडि बढेपछि त्यसलाई उनले किन हो, अघि बढाएनन् । त्यसलाई अघि बढाउन उनले केही समकालीनलाई आग्रह पनि गरेका थिए । तर, कसैबाट त्यो अघि बढेन ।

प्रधानले मसँग पनि त्यही आग्रह गरे । मैले उनको आग्रह स्वीकार गरें र उनले गरेको शुरुवातलाई मैले बिसौनीमा पुर्‍याएँ । रत्न पुस्तक भण्डारबाट त्यो प्रकाशित पनि भयो ।

साहित्यिक साथीभाइसँग बसउठ र रमझममा रमाउने परशु प्रधानले त्यसलाई पनि सिर्जनात्मकतामा ढाले । त्यसैको उपज थियो ‘केही क्षण ः केही अनुहार ।’

साहित्यकारहरुसँगको सम्वादसहितको व्यक्ति चित्र सानो वृत्तको थियो । तर, पछि उनले ‘केही अनुहार केही क्षण’ ल्याए, जसमा साहित्यकारहरुको विस्तृत पाटो र सम्वादको मिश्रण छ । त्यो पुस्तकले ०५१ सालको उत्तम शान्ति पुरस्कार पनि प्राप्त गर्‍याे ।

संस्थागत संलग्नता परशु प्रधानलाई सधैं प्रिय रह्यो र त्यसले उनलाई विवादित पनि बनायो । लामो समय उनी छिन्नलता गीत पुरस्कार गुठीमा संलग्न रहे । कवि बासुशशीको देहान्त पश्चात् वासु शशी स्मृति ग्रन्थ प्रकाशित हुनुमा उनको ठूलो योगदान छ ।

उनी सिद्धिचरण प्रतिष्ठानमा पनि सक्रिय रहे । स्रष्टा समाजको निकट भए । बाणी प्रकाशनको स्थापना र त्यसको गतिविधिमा यसरी लागे, मानौं अर्काे साझा प्रकाशनको झल्को दिन खोजेका थिए । यो बेग्लै कुरा हो, समयको क्रममा बाणी प्रकाशन ध्वस्त भयो । सिर्जनशील साहित्यिक समाज उनको अध्यक्षकालमा समयको गर्तमा बिलायो ।

नेपालमा साहित्यिक पुरस्कारहरुमा विवाद हुनु नयाँ र नौलो कुरा होइन, पछिल्लो चरणमा यो प्रवृत्ति झन् मौलाएको छ । परशु प्रधान संलग्न साहित्यिक संस्थाका पुरस्कारहरुका रोचक घटनाहरु किस्सा बनेका छन् । जस्तो– बाशु शशी सिद्धिचरण भक्त थिए । उनले सिद्धिचरण जीवित छँदै सिद्धिचरण प्रतिष्ठानको पूर्वरुप परिकल्पना मात्र गरेनन्, गतिविधि पनि गरे । सिद्धिचरणका नाममा पुरस्कार पनि स्थापना भयो र पहिलोपल्ट नकुल सिलवालले सो पुरस्कार पाए । पछि संस्थागत संरचना बदलियो र परशु प्रधान अध्यक्ष भए ।

पहिलोपल्ट उनको अध्यक्षताको कार्यकालमा शैलेन्द्र साकारलाई सो पुरस्कार दिइने घोषणा भयो । यसैलाई सिद्धिचरण पुरस्कारको थालनी मानियो । यो सन्दर्भमा २ वटा खरा आलोचना साहित्यिक वृत्तमा फैलिए । पहिलो– आफ्नै सहोदर भाइ शैलेन्द्र साकारलाई पुरस्कारको निर्णय गराएकोमा । दोश्रो पहिलोपल्ट नकुल सिलवालले पाएको पुरस्कारको इतिहास मेटाएकोमा । कतिसम्म भने नकुल सिलवालले जीवनभरि आफूले पाएको पहिलो सिद्धिचरण पुरस्कारको इतिहास मेटाएको भन्दै चित्त दुखाइरहे, आलोचना गरिरहे ।

अर्काे घटना गंकी बसुन्धरा पुरस्कारको थियो । परशु प्रधान अध्यक्ष थिए । संरक्षक धूस्वाँ सायमि थिए । परशु प्रधानको एउटा यस्तो बानी छ, मनमा आएको कुरा प्वाक्क भनिदिइहाल्छन्, त्यो गोप्य राख्नुपर्ने कुरा हो भन्ने हेक्का पनि राख्दैनन् । बालसुलभझैं लाग्ने बानी ।

उनले सोचे कि उपन्यासकारलाई दिइने यो महत्वपूर्ण पुरस्कार त्यो बर्ष दौलतविक्रम विष्टलाई दिइनु उचित हुन्छ । सुन्नेहरुले पनि जायज र उपयुक्त ठाने । कुरा सही पनि हुँदो हो । उनले दौलतलाई पनि यसपालिको पुरस्कार तपाईंलाई दिने विचार गरेको, के गर्नुहुन्छ भनेर सोधे । दौलतले दिने भए किन नलिने भने । त्यति मात्र होइन त्यो सम्भावित पुरस्कार पाउने भएकोमा बानेश्वरका साहित्यिक मण्डलीलाई दौलतले भोज पनि खुवाए । त्यो मण्डलीमा परशु प्रधान पनि थिए नै ।

पुरस्कारको निर्णयका लागि धूँस्वा निवास गाईबाछा पाटी सोल्टी पछाडि बैठक बस्यो । बैठकको शुरुमै धूस्वाँले भने, ‘तपाईंहरुले के कस्तो सोच्नु भा छ कुन्नि, यसपालिको पुरस्कार म डा. ध्रुवचन्द्र गौतमलाई दिन चाहन्छु ।’

बैठकमा ‘पिन ड्रप साइलेन्स’ भयो । दाताकै ईच्छा त्यस्तो छ भने के भो त भनेर बहुमत धूस्वाँको समर्थनमा उभिए । केही चुपचाप बसेर आतिथ्य उदरस्थ गर्न व्यस्त भए । परशु प्रधानलाई त उकुस–मुकुस भयो । आफ्नै अध्यक्षतामा बसेको बैठकमा नसोचेको निर्णय हुँदै थियो ।

‘लौ त्यसरी कहाँ हुन्छ ? यस्तो हस्तक्षेप गर्नुभएन, मलाई चित्त बुझेन ।’ परशु प्रधानले रातोपीरो हुँदै भने । तर, उनको समर्थनमा त्यहाँ बोल्ने कोही भएन ।

धूँस्वाले हाँस्दै भने, ‘चित्त नबुझे राजीनामा गर्नुस् ।’

त्यो अप्रिय स्थितिमा परशुले तत्कालै राजिनामा दिएनन्, ध्रुवचन्द्रले पुरस्कार पाएपछि उनले राजीनामा दिए । उनको राजिनामापछि ध्रुवचन्द्र गौतम गुठीका अध्यक्ष बने र उनको अध्यक्षतामा बसेको बैठकले अर्काे बर्ष दौलत विक्रम विष्टलाई सो पुरस्कार दिने निर्णय गर्‍याे ।

साहित्यिक परिदृश्यहरुमा यस्ता तीतामीठा घटना भए पनि परशुले आफ्नो नितान्त निजी शैलीको लेखनलाई निरन्तरता दिइ नै रहे । त्यो उर्जामा कहिल्यै कमी आएन ।

यसवीचमा उनी अमेरिका पुगे । अमेरिकाकै पृष्ठभूमिका कथाहरु लेखे र प्रकाशित भयो– ‘समुद्रमा अस्ताउने सूर्य ।’

परशुले पञ्चायतकालमा हुने भ्रष्टाचारको एउटा सुन्दर कथा लेखे–डल्ले खोला ।’ सरकारी पदमै बसेर त्यति चर्काे कथा लेख्न सानो हिम्मतले पुग्दैनथ्यो । उनले साहस गरे । गरिमामा छापियो । चर्चित भयो र एक प्रकारले उनको पछिल्लो चरणको माइलस्टोन नै बन्यो ।

गरिमा पत्रिकामा रचनाको पृष्ठभूमि बताउने स्तम्भ ‘रचनागर्भ’ उनले शुरु गर्न लगाए । त्यहाँ त्यस्तो रचना गर्भ प्रकाशित भएपछि यो नयाँ उपविधा लोकप्रिय भयो । गरिमामा विभिन्न लेखक कविका रचनागर्भ प्रकाशित हुन थाले । तर, परशु प्रधान एउटा रचनागर्भमा अडिएनन् । उनले आफ्ना थुप्रै कथाको रचनागर्भ निरन्तर लेखिरहे, प्रकाशित गरिरहे र पछि एउटा पुस्तक नै बन्यो । नेपाली साहित्यमा त्यस किसिमको त्यो पहिलो पुस्तक बन्यो ।

उनले ‘सीताहरु’ कथा लेखे । त्यसलाई श्रृङ्खलाको रुप दिएर ‘सीताहरु’ लेख्दै गए र ‘सीताहरु’को कथोपन्यास बन्यो । उनी सीताहरुमा अडिएनन्, ‘घर’ लेख्न थाले र त्यसका पनि श्रृङ्खलाहरु थप्दै गए । त्यसको पनि पुस्तक बन्यो । यो दोस्रो कथोपन्यास बन्यो । यसरी कथोपन्यासका दुईवटा कृति दिएर परशु प्रधानले नेपाली साहित्यमा कीर्तिमान राखे ।

परशु प्रधानको जागिरे जीवनको उत्तरकाल सुखद रहेन । विशेषतः ०४६ सालको आन्दोलनपछिका उनको जागिरे जीवन सहज हुन सकेन त्यसको फलस्वरुप उनले ०५१ सालमा राजिनामा दिएर जागिरे जीवनवाट अवकास लिए ।

अवकासपछिको जीवनलाई उउटा महत्वपूर्ण र महत्वाकांक्षी योजना सफल पार्न कम्मर कसेर उनी बिराटनगर झरे ।

वास्तवमा आफ्नो जीवन कालमा केदारमान व्यथितले साहित्यकारहरुका लागि लेखक ग्रामको कुरा गर्थे । पोखरामा पनि पोखरेली युवा साहित्य सांस्कृतिक परिवारले लेखक ग्रामको अवधारणाा अघि सारेको थियो । कसैबाट दानमा जग्गा पनि पाएको थियो । निर्माणको पनि सुरसार भएको थियो । यसपछि के भयो, स्थिति अज्ञात रह्यो । परशु प्रधानले बिराटनगरमा लेखकग्राम बनाउने परिकल्पना गरे ।

उनी स्वयम् पनि बिराटनगरमै अवकाशप्राप्त जीवन बिताउने निर्णय गरेर काठमाडौंबाट एक प्रकारले बसाईं नै सरे । लेखकग्रामका लागि विभिन्न लेखकहरुले जग्गा किने । तर, सोचेजस्तो रुपमा त्यो परियोजना अघि बढ्न सकेन । बरु उनलाई जग्गाको दलाली गरेको आरोप लाग्यो ।

उनी ०५२ देखि ०६६ सम्म १४ बर्ष बिराटनगर बसे । त्यहाँको बसाइभरि उनी साहित्यिक गतिविधिमा राम्रैसँग भिजे । त्यसका लागि वाणी प्रकाशन रथ भयो । उनले दुई कार्यकाल वाणी प्रकाशनको अध्यक्ष भएर साहित्यिक तरङ्ग ल्याए बिराटनगरमा । साहित्यको दोस्रो राजधानी बिराटनगर भएको भन्ने पनि साहित्यिक जमातमा चर्चा चल्न थाल्यो । तर, मधेस आन्दोलन शुरु भएपछि उनले बिराटनगर त्यागे र पुनः काठमाडौं फर्किए ।

वास्तवमा उनको बिराटनगर बसाइकै अवधिमा उनले प्रज्ञा प्रतिष्ठानमा सदस्य सचिवका रुपमा जान प्रयास गरेका थिए । उनले विभिन्न स्वनामधन्यहरुको ढोका ढक्ढकाएर सदस्य सचिवको नियुक्तिका लागि बल गरेका थिए । तत्कालीन कुलपति डा. बासुदेव त्रिपाठीबाट पनि सकारात्मक धारणा पाएको बताउँथे । तर, उनी सदस्य सचिवमा छानिएनन् । अनि उनले प्रज्ञासभाको सदस्यको पदबाटै राजिनामा दिए ।

लेखक बाँच्ने त लेखनमै हो । उनको ‘डल्ले खोला’ कथाले छोएको उचाइ, ‘टोकियोमा लिटिल बुद्ध’ले पार्ने प्रभाव उनको लेखकीय जीवनका शिलालेख हुन् । उनका रचना अंग्रेजी, जापानी, बंगाली लगायतका भाषामा पुगेका छन् । ती उनका जीवनका नमेटिने डोबहरु हुन् ।

परशु प्रधान ठूला पुरस्कारबाट छुटेका छन् । एकेडेमीबाट छुटेका छन् । मदन पुरस्कार गुठीका कमल दीक्षितसँग उनको राम्रै सम्वन्ध थियो । तर, नेवार नभएर मदन पुरस्कार नपाएको उनको सार्वजनिक गुनासो सधैं रह्यो ।

पुरस्कारको विषयमा उनले आफ्नो असन्तुष्टि यसरी खुलस्तै लेखेका छन् आत्म संस्मरणमा– ‘सरकारी पुरस्कार, एकेडेमी, साझाका पुरस्कारहरु चाहिँ पार्टीहरुको भागवण्डामा दिइन्छ । हरेक पार्टीले आफ्नो कोटाअनुसार प्राज्ञिक, दक्ष वा विशेषज्ञ केही नहेरी पार्टीका बफादार झोलेहरुलाई दिने परम्परा बसेको छ । धन्य यो देश ! धन्य यो राष्ट्र ! धन्य यहाँका नेतृत्व वर्ग !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment