Comments Add Comment

अन्नपूर्ण सर्किटको ८ ठाउँमा हिमपहिरो, ७३ जनाको उद्दार

४ माघ, काठमाडौं । अन्नपूर्ण सर्किटको विभिन्न स्थानमा हिमपहिरो जाँदा अलपत्र परेका ७३ जनाको उद्दार गरिएको छ । चार कोरियन र तीन नेपाली अझै हराइरहेका छन् ।

सुदूरपश्चिम हुँदै भित्रिएको न्यूनचापीय प्रणालीका कारण शुक्रबार देशभर वर्षा भएको थियो भने उच्च पहाडी र हिमाली भागमा हिमपात । अन्नपूर्ण सर्किट क्षेत्रमा मात्र ८ ठाउँमा हिमपहिरो गएको र ६४ जना सम्पर्कबिहीन भएको ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का खुमबहादुर सुवेदीले जानकारी दिए ।

तर प्रहरीले त्यसलाई पुष्टि गरेको छैन । कास्की प्रहरी प्रमुख दान कार्कीका अनुसार अहिलेसम्म ७ जना हराएको खबर छ । अन्नपूर्ण जाने बाटोको होटेल हिमालय नजिकैको हिम्को भन्ने स्थानमा गएको हिमपहिरोमा उनीहरु परेका हुन् ।

हिमपहिरोमा परेका नेपाली गाइड जगदिश तामाङ र चिनियाँ नागरिक चाङ हाङलाई उद्दार गरेर पोखरा ल्याइएको छ ।

हराइरहेका आफ्ना नागरिकको खोजीका लागि कोरियन दूताबासले शनिबार हिम्को क्षेत्रमा हेलिकप्टर पठाएको थियो । त्यस क्षेत्रमा अहिले हिमपात रोकिएको भएपनि हिउँ नपग्लिएसम्म उद्दारका लागि जान कठिन भएको बताइएको छ ।

कास्की प्रहरीका अनुसार अन्नपूर्ण बेस क्याम्पमा भएका र त्यता जाँदै गरेका ७३ जनालाई भने उद्दार गरिएको छ । उनीहरुलाई शनिबार तीन निजी कम्पनीको हेलिकप्टरबाट उद्दार गरेर पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरुले भने धेरै ठाउँमा हिम पहिरो गएको आंकलन गरिएको तर यसको यतिबारे अहिले भन्न नसकिने प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment