Comments Add Comment

फेसबुकमा गर्नै नहुने ११ गल्ती

आजकल मानिसहरुमा सोसल मिडियाको लत यतिधेरै बढेको छ कि दिनहुँ फेसबुकमा केही कुरा पोष्ट नगरेमा के–के अपूरो जस्तो लाग्दछ । फेसबुकमा स्टाटस, फोटो तथा भिडियो पोष्ट गरेपछि त्यसमा आफ्ना फेसबुक साथीहरुको ध्यान खिचियोस् र प्रशस्तै लाइक्स तथा कमेन्ट्स प्राप्त होस् भन्ने सबैको चाहना हुन्छ ।

फेसबुकमा प्रशस्त लाइक तथा कमेन्ट आएमा खुसी लाग्दछ तर यदि आफ्नो पोष्टमा अरूले खासै ध्यान दिएनन् भने खिन्नता महसुस हुन्छ । वास्तवमा फेसबुकजस्ता सोसल मिडिया भनेको आफ्ना साथीसंगी तथा आफन्तहरुसँग सजिलैसँग सम्पर्क तथा सञ्जालमा रहनका लागि हो । तर जब साथीसंगी र आफन्तसँगको सम्बन्ध नै फेसबुकका लाइक र कमेन्टबाट निर्धारण गर्न थालिन्छ, तब समस्या उत्पन्न हुन सक्दछ ।

फेसबुक प्रयोग गरिरहँदा हामीले यस्ता धेरै गल्तीहरु गरिरहेका हुनसक्छौं, जुन हाम्रो गोपनीयता तथा सामाजिक जीवनका लागि हानिकारक हुन सक्दछन् । त्यसैले फेसबुक प्रयोग गर्दा यी ११ गल्ती नगर्नुहोस्ः

– फेसबुकमा आफ्ना धेरै व्यक्तिगत जानकारीहरु राख्ने : फेसबुकमा कुनै कुरा पोष्ट गर्दा पोष्ट बटन थिच्नु अगाडि उक्त पोष्टमा आफ्ना कति व्यक्तिगत जानकारीहरु शेयर गर्दैछु भन्ने कुराको एकपटक समीक्षा गर्नुहोस् । आफ्ना नजिकका साथीभाइ, परिवार तथा सहकर्मीहरुसँग गरिने कुराकानी तथा सम्बन्धित कुराहरु फेसबुकजस्तो सोसल मिडियामा पोष्ट गर्नु उपयुक्त हुँदैन । त्यसैले फेसबुकमा कुनै चिज अन्धाधुन्ध पोष्ट गर्नुअघि सोच्नुहोस् ।

– मदिरा सेवनको बेला फेसबुक नचलाउनुहोस् : हामीलाई थाहै छ कि रक्सी सेवन गरेर गाडी चलाउनु हुँदैन । त्यसैगरी रक्सी सेवन गरेर मात्तिएको बेला फेसबुक पनि नचलाउनु सुरक्षित हुन्छ । अत्यधिक रक्सी सेवन गरेको बेला फेसबुक चलाउँदा कहिलेकाहीँ आपत्तिजनक तथा अनुपयुक्त पोष्ट हुन सक्दछन् वा कसैलाई यस्तै मेसेज पठाउने जोखिम हुन्छ । अहिले प्लेस्टोरमा केही एपहरु पनि उपलब्ध छन् जसले रक्सी सेवन गरेको बेला फेसबुक र अन्य सोसल मिडिया प्रयोग गर्न रोक्दछन् ।

– जथाभावी सबैसँग फेसबुक साथी बन्नु : फेसबुकको फ्रेण्ड लिस्टमा ६ सय जना मानिस हुनुको अर्थ तपाईंका ६ सय साथी छन् भन्नु होइन । त्यसैले जो सुकैलाई आफ्नो फेसबुकको साथी बनाउन छाड्नुहोस् । फेसबुकयस्तो प्लाटफर्म हो जहाँ तपाईंले आफ्ना निजी विषयहरु शेयर गर्नुहुन्छ र तपाईंसँग सम्बन्ध र परिचय नै नभएको मानिसले तपाईंका त्यस्ता जानकारीहरु प्राप्त गर्नुको कुनै फाइदा छैन ।

– प्रोफाइलमा प्राइभेसी सेटिंग्स नगर्ने : आफ्नो फेसबुक प्रोफाइलमा सबै कुरा जो सुकैले हेर्न पाउने गरी ‘पब्लिक’ गराउनु राम्रो होइन । आफ्नो स्कुलको नाम, कलेजको नाम, जन्मघर इत्यादिजस्ता विषयहरु सबैलाई देखाउनु भन्दा आफ्ना फेसबुक साथीहरुले मात्र देख्नेगरी प्राइभेसी सेटिंग्स गर्दा राम्रो हुन्छ । त्यस्तै फेसबुक पोष्टहरु पनि सम्बन्धित वा साथीहरूले मात्र देख्ने गरी प्राइभेसी सेटिंग्स गर्नु उपयुक्त हुन्छ ।

– घर तथा कार्यालयको ठेगाना, कार्यालय समय शेयर गर्ने : आफ्नो घरको ठेगाना, कार्यालयको ठेगाना, कार्यालय समयजस्ता कुराहरु फेसबुकको प्रोफाइलमा पब्लिक गर्नु राम्रो हुँदैन । यस्ता जानकारीहरु सार्वजनिक गर्दा कहिलेकाहीँ तपाईंको व्यक्तिगत जीवनमै समस्या आउन सक्दछ ।

– बालबालिकाका तस्वीर तथा जानकारीहरु शेयर गर्ने : आफ्ना छोराछोरीका तस्वीर तथा भिडियोहरु अत्यधिक रूपमा फेसबुकमा शेयर गर्ने बानी हुन्छ कतिपय बाबुआमाको । कतिपयले त बच्चाको स्कुलको नाम, ठेगाना, कक्षा, साथीसंगी, घुम्न जाने ठाउँ, मन पराउने खानेकुराजस्ता कुराहरुको जानकारी समेत फेसबुकमा शेयर गर्दछन् । बच्चाहरुका यस्ता संवेदनशील जानकारीहरु फेसबुकमा सबैले थाहा पाउनेगरी शेयर गर्दा कहिलेकाहीँ गलत मानसिकता भएका मानिसहरुले फाइदा उठाउन सक्दछन् । त्यसैले फेसबुकमा आफ्ना बच्चाहरुको बारेमा धेरै कुरा शेयर नगर्दा राम्रो हुन्छ । यसले बालबालिकालाई असुरक्षित हुनबाट बचाउँदछ ।

– फेसबुकमा धनमाल प्रदर्शन : आफु धनी छु भन्ने कुरा फेसबुकमा सो गर्नु आवश्यक नहुने मात्र होइन प्रत्युत्पादक पनि हुन सक्दछ । यदि तपाईंले नयाँ कार किन्नुभयो, नयाँ घर किन्नुभयो, नयाँ लगानी गर्नुभयो भने फेसबुकमा हल्ला नपिटट्नु नै बेस हुन्छ । आफ्ना यस्ता वित्तीय जानकारीहरु गोप्य नै राख्न राम्रो हुन्छ ।

– फेसबुक पोष्ट वा मेसेन्जरमा गाली गर्नु : फेसबुकमा अपशव्द लेखेर कसैलाई दुव्र्यवार गर्नु वा कसैलाई मेसेन्जरमा अश्लील शव्दहरु लेखेर मेसेज पठाउनु निकै घातक हुन सक्दछ । मानिसहरुले तपाइँले पठाएका यस्ता सन्देश वा गरेका यस्ता पोष्टहरुको स्क्रिनसट राखेर भविष्यमै तपाइँकै बेइज्जतीका लागि प्रयोग गर्ने सम्भावना हुन्छ ।

-पासपोर्ट, जहाज टिकट, बैंक स्टेटमेन्ट तथा प्रमाणपत्रको फोटो फेसबुकमा राख्ने : आफ्नो राहदानी, नागरिकता, बैंक खाता विवरण जस्ता निजी कागजातहरुका तस्वीर खिचेर फेसबुकमा हाल्ने बानी हुन्छ कतिपयको । कसैले त बारकोड सहितका यस्ता डकुमेन्ट समेत फेसबुकमा हालिदिन्छन्, जसबाट व्यक्तिको सम्पूर्ण जानकारी अन्य मानिसले पत्ता लगाउन सक्दछन् । त्यसैले आफ्नो बारेमा ‘शो’ गर्नका लागि यस्ता निजी कागजातहरु फेसबुकमा पोष्ट नगर्नुहोस् ।

– जो सुकैलाई ट्याग गर्न दिने : फेसबुकको अर्को टाउको दुखाई भनेको फोटो ट्यागिङ हो । त्यसैले फेसबुकको प्राइभेसी सेटिंग्समा परिवर्तन गरी जो सुकैले आफुलाई ट्याग गर्न नसक्ने र गरेको ट्याग आफ्नो वालमा देखाउनका लागि अप्रुभ गर्नुपर्ने बनाउनुहोस् ।

-अपरिचित तथा सम्पर्कै नभएकालाई पनि नहटाउने : आफ्नो फेसबुकमा भएका साथीहरुको सूचि बेला बखतमा हेर्नुहोस् र समीक्षा गर्नुहोस् । कुनै व्यक्ति तपाइँको साँच्चीकै साथी हो ? के फेसबुकमा साथी बनाइराख्न उपयुक्त छ ? के त्यो व्यक्तिगत फेसबुकमा अन्तरक्रिया हुन्छ ? भन्ने कुराको आधारमा फ्रेण्ड लिष्टमा भएका मान्छेहरुलाई हटाउने वा राख्ने निर्णय गर्नुहोस् । जो सँग फेसबुकमा वर्षौँसम्म पनि सम्पर्क भएको छैन, तपाइँका फेसबुक पोष्टहरुप्रति सदैव निस्क्रिय छ । त्यस्तालाई फेसबुकको फ्रेण्डलिष्टमा राखिराख्नु आवश्यक हुँदैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment