Comments Add Comment

प्रदेश १ को लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिस

६ माघ, विराटनगर । प्रदेश १ को लोकसेवा आयोगको अध्यक्षमा उत्तम भट्टराईको नाम सिफारिस भएको छ ।

प्रदेश सरकार विस्तार गरेको २४ घण्टा बित्न नपाउँदै मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा रहेको सिफारिस समितिले अध्यक्षमा भट्टराईलाई सिफारिस गरेको हो ।

सोमबार बसेको समितिको बैठकले समितिको सदस्यमा पूर्वउपसचिव टिकादत्त राई र महिलातर्फबाट सजना दाहाल (सीमा आभास)को नाम सिफारिस गरेको छ ।

६१ वर्षीय भट्टराई नेपाल सरकारका पूर्व कृषि सचिव हुन् । उनले २०७३ सालमा अवकास पाएका थिए ।  ५७ वर्षीय राई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत थिए । सदस्यमा नियुक्ति हुने भएपछि उनले आइतबार नै राजीनामा दिएका थिए ।

नेपाली कांग्रेसको कोटाबाट सिफारिस भएकी दाहाल साहित्यकार हुन् । उनी प्राध्यापन पेसामा आवद्ध छन् ।

आयोगको पदाधिकारी बन्न मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्तिको बेला कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने प्रावधान छ ।

लोकसेवा पदाधिकारीको कार्यकाल ६ वर्षको हुनेछ । उमेरहदका कारण अध्यक्ष भट्टराईले ४ वर्षमात्र काम गर्न पाउनेछन् ।

टिकादत्त राई कर्मचारी समायोजनमा प्रदेश रोज्ने उपसचिव हुन् । उनीसँगै भीम गौतमले कर्मचारी समायोजनका क्रममा प्रदेश एक रोजेका थिए ।

आयोगका पदाधिकारीलाई प्रदेश प्रमुखले नियुक्त गरेपछि उच्च अदालतका मुख्य न्यायाधीशले सपथ ग्रहण गराउनुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment