
६ माघ, काठमाडौं । चीनको तिब्बतस्थित केरुङका विभिन्न स्थानमा भएको भारी हिमपात र पहिरोले तीन दिनदेखि नेपाल-चीनबीच आयात-निर्यात ठप्प भएको छ ।
चीनको केरुङतर्फ चार ठाउँमा सुख्खा पहिरो गएको र करिब ३ फिट बाक्लो हिउँ परेका कारण आवागमन बन्द भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
माघ ३ गतेदेखि हिमपातका कारण आंशिक रुपमा अबरुद्ध भएको नाका ४ गतेदेखि भने पूर्ण रुपमा ठप्प भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भण्डारीले बताए ।
‘करिब ५ किलोमिटर क्षेत्रमा तीन फिट बाक्लो हिउँ जमेको तथा त्यसलाई पन्छाएर सडक बनाउनुपर्ने भएकाले केही दिन समय लाग्ने जानकारी चीनीयाँ पक्षले गराएको छ,’ प्रजिअ भण्डारीले भने ।
ल्होसार पर्व तथा लगातारको हिमपातका कारण सडक खुल्न नसकेको उनले बताए । ‘चिनियाँ पक्षसंग नियमित सम्पर्कमा छौं, उहाँहरु सडक खोल्न दिनरात खटिनु भएको छ,’ प्रजिअ भण्डारीले भने ।
भन्सार खुल्लै रहेपनि पहिरोका कारण आवाजावत नहुँदा भन्सार सुनसान बनेको रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यबिक्रम खड्काले बताए ।
‘पहिरो जानुभन्दा अघि आएका मालबाहक सवारीको भन्सार जाँच पास भएका छन्, शनिबारदेखि मालबाहक सवारी आउन जान सकेका छैनन्,’ भन्सार प्रमुख खड्काले भने । पहिरो ठूलै भएका कारण मानिसको ओहोर-दोहोरसमेत ठप्प भएको छ ।
सामान्य अवस्थामा दनिक ३० देखि ३५ वटासम्म कन्टेनर नाका भएर आवाजावत गर्ने भन्सार कार्यालय रसुवाले जनाएको छ ।
प्रतिक्रिया 4