Comments Add Comment

महानगरको सहयोगमा हेमोडाईलासिस सेवा सुरू

७ माघ, काठमाडौँ । काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धको सम्झौता–पत्रमा हस्ताक्षर भएको एक महिनापछि सेवा प्रवाहको सुरुवात भएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज श्रीविरेन्द्र अस्पताल छाउनीमा पुगी काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ डल्लु निवासी ६२ वर्षिया चन्द्रादेवी मर्जनको उपचारका लागि हेमोडाइलोसिस मेसिन खोली सेवाको सुभारम्भ गरे ।

सर्वसाधारणको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उदेश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै आएको काठमाडौँ महानगरपालिकाले केही महिना अघि मात्रै विरामीको उपचारको क्रममा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न अक्सिजन उत्पादनका लागि अक्सिजन प्लाण्ट जडानका लागि कान्तिबाल अस्पताललाई रु दुई करोड दिने सम्झौता गरेको थियो ।

त्यसैगरी नेपाली सेनासँग पनि महानगरपालिकाले गत पुस २ गते हेमोडाईलासिस सेवाका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति थप गर्नका लागि रु तीन करोड सहयोग गर्ने सम्झौता गरेको थियो ।

सोही सम्झौता अनुरुप आजबाट सेवाको सुभारम्भ भएको हो । सेवाको सुभारम्भ गर्दै मेयर शाक्यले महानगरपालिकाले सर्वसाधारणको स्वास्थ्य सेवाका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

उहाँले महानगरपालिकाकै सहयोगमा एम्वुलेन्स सेवासँग सहकार्य गरी एम्वुलेन्स सेवा सञ्चालन गरेको भन्दै आगामी दिनमा स्वास्थ्य सेवाका लागि महानगरपालिकाले थप सहयोग गर्दै जाने बताए ।

मेयर शाक्यले महानगरपालिकाले पूर्वाधार र सम्पदाको क्षेत्रमा मात्र नभई मानवीय सेवाका काममा पनि उत्तिकै चासो राखेको भन्दै यस्ता सहयोगलाई निरन्तरता दिने बताए ।

सम्झौतापत्र अनुसार नै नेपाली सेना अन्तर्गतको छाउनीमा उपलब्ध स्रोत साधनबाटै पहिलो चरणमा चार जनालाई सेवा दिने अस्पतालले जानकारी दिएको छ । जनशक्ति र उपकरण थप गरी सिफ्ट पनि थप भएपछि प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा दिने अस्पतालले जानकारी दिएको छ ।

सम्झौतापत्रमा उल्लेख भए अनुसार नै भौतिक पूर्वाधार लगायतका स्रोत साधन अभिबृद्धि भएपछि सेवा विस्तार गर्दै लगिने छ । विरामीले हेमोडाईलासिस सेवा लिनका लागि सहरी स्वास्थ्य महाशाखाबाट सिफारिस लिनुपर्ने छ ।

सम्झौतापत्रमा सम्झौता कार्यान्वयन गर्ने क्रममा मृगौला रोग तथा अन्य रोगहरु सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने तथा महानगरबासीहरु, सञ्चार माध्यम, सम्बन्धित संघ–संस्थाहरुमा सेवा सम्बन्धी आवश्यक सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी दुबै पक्षको हुने उल्लेख छ । सम्झौताको अवधी सम्झौता भएको मितिले पाँच बर्षको हुने उल्ल्ेख छ भने दुबै पक्षको आपसी समझदारीमा भने सम्झौताको म्याद थप हुन सक्ने पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment