Comments Add Comment

पर्यटन बोर्डको सीईओको सूचीमा नेकपाका मान्छे नपरेपछि…

८ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति प्रकरणमा नेकपा ‘रिङ आउट’ भएको छ । सीइओ छनोट समितिले विनियमावली अनुसार तीनजनाको नाम सिफारिस गरेको छ, जसमा सफारिस गरिएका तीनैजना नेकपानिकट व्यक्ति नपरेपछि बालवाटारबाटै प्रक्रियामा हस्तक्षेप भएको भन्दै किचलो सुरु भएको छ ।

छनोट समितिले डा. धनञ्जय रेग्मी, दीपक बास्ताकोटी र हिक्मत सिंह ऐरको नाम आगामी सीइओका रुपमा सिफारिस गरेको थियो । त्यसमध्ये रेग्मीलाई पहिलो वरियतामा राखिएको थियो । सिफरिसमा परेका तीनैजना नेकपा निकट हैनन् । त्यसो त डा. रेग्मी भने तत्कालीन एमाले निकट रहेर काम गरेका थिए । उनी स्वर्गीय रवीन्द्र अधिकारीका विश्वासपात्र पनि थिए ।

सीइओ छनोटका लागि तीनजनाको नाम सिफारिस भएर आइसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष केदारबहादुर अधिकारीले बोर्डको बैठक डाक्नुपर्ने थियो । तर, पछिल्लो तीन दिनयता तीन पटकसम्म बैठक स्थगित भयो । सोमबार साँझदेखि भने बोर्डको बैठक अनिश्चितकालका लागि स्थागित भएको सूचना बोर्ड सदस्यहरुलाई दिइएको छ ।

सिफारिस भएर आएका तीनजनाका बारेमा बोर्डमा छलफल गर्नुको साटो अध्यक्षले बैठक नै नडाकेर दलीय स्वार्थ पूरा गर्न सक्रिय रहेको आरोप बोर्ड सदस्यहरुले लगाएका छन् ।

सञ्चालक समिति सदस्य कृष्णबहादुर महराले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बोर्डका सम्भावित सीइओको विषयमा बैठकमा छलफल गर्ने हो कि नेताको घर–घरमा गएर चाकडी शैली प्रदर्शन गर्ने हो ?

सञ्चालक समितिका अर्का एक सदस्यका अनुसार तीनैजना सदस्य नेकपानिकट नपरेको भन्दै सीइओका केही दाबेदार र पर्यटन व्यवसायीहरु प्रधानमन्त्रीनिवासको ढोका ढक्ढक्याउन पुगेका छन् । नेकपा उच्च नेतृत्वले अहिलेको प्रक्रिया बन्द गरी नयाँ प्रक्रियामा जान बोर्ड अध्यक्ष एवं सचिव केदारबहादुर अधिकारीलाई दबाव दिएको छ ।

‘नियम मिच्ने षडयन्त्र भए मान्य हुँदैन’

बोर्डका अर्का सञ्चालक समिति सदस्य तथा निजी व्यवसायीबाट प्रतिनिधित्व गर्ने दीपक महतले नियमसंगत र निष्पक्ष ढंगले सिफारिस भएर आएको प्रक्रिया मिच्ने षडयन्त्र गरिए त्यो मान्य नहुने बताए । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘आफू बन्दा सबै ठीक, नबन्दा बेठीक भन्ने मानसिकताले काम गर्नुहुँदैन, नियम मिच्न खोजे हामी मान्दैनौं ।’

पर्यटन बोर्डको सीइओ नियुक्त गर्दा क्षमता, योग्यताभन्दा बढी दलीय कार्यकर्ता भर्ना खोजिएपछि लफडा भएको संचालक समिति सदस्यहरुले बताएका छन् ।

भ्रमण वर्ष सुस्तायो, बोर्डमा लफडा

जनवरी २०२० अर्थात भ्रमण वर्ष शुरुवात भएको यस महिनामा नेपालभित्र र बाहिर धुमधामले पर्यटक ल्याउने गरी कार्यक्रम हुनुपर्ने समय हो । तर, जनवरी १ को उद्घाटनसँगै भ्रमण वर्षको चहल–पहल ‘शुन्य’मा झरेको छ । भ्रमण वर्ष संयोजक सुरज वैद्य गुमनाम छन् भने भ्रमण वर्ष सचिवालयका सदस्यसचिव बच्चुनारायण श्रेष्ठ बोर्डमा सीइओ खाने दौडमा असफल भएका छन् । उनलाई सीइओ छनोट समितिले योग्य ठानेन र अन्तिम सूचीमा पारेन । शर्ट लिस्टमा उनको नाम नपरेपछि बोर्डमा लफडा शुरु भएको बताइएको छ ।

अब अन्तिम तीनमा परिसकेका व्यक्तिको नाम रद्द गरी नयाँ प्रक्रिया शुरु गर्दा पूरै प्रक्रिया नै विवादित हुने र त्यसले अझ लामो समयसम्म बोर्ड नेतृत्वविहीन संकेत देखिएको छ । यसको नकारात्मक प्रभाव भ्रमण वर्ष अभियानमा पर्ने सरोकारवालाहरु बताउँछन् ।

२४ डिसेम्बरमा निवर्तमान सीइओ दीपकराज जोशीको कार्यकाल सकिएपछि बोर्ड रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment