Comments Add Comment

नाटक ‘झिम्के मामा’– गाउँका हिरो झिम्के कसरी भए अपमानित ?

 

दलित भएका कारण समाजबाट हेपिनु पर्ने वा अपमानित हुनुपर्ने घटना नयाँ होइन । यो कथा धेरै सुन्दै, पढ्दै, देख्दै आइरहेको कथा हो । पुस्तकदेखि चलचित्रको पर्दासम्म यस्ता कथाहरु आइसकेका छन् । यसै कथालाई अहिले मण्डला थिएटरले नाटकको रुप दिएको छ । दलित भएकै कारण अपमानित हुनुपर्ने विषयमा नाटक ‘झिम्के मामा’ मञ्चन भइरहेको छ ।

****

एउटा देउराली गाउँ छ । सुन्दर अनि शान्त । त्यसै गाउँका हिरो हुन्, ‘झिम्के’ ।

झिम्के सुन्दर रुपले गर्दा हिरो भएका होइनन् । चलचित्र खेलेर पनि हिरो भएका होइनन् । गाउँ विकासको लागि ठुलो योगदान दिएकाले झिम्के सबैको नजरमा हिरो बनेका हुन् ।

झिम्के कै पहलमा गाउँमा मन्दिर बनेको छ । बाटो खनिएको छ । सबैको घरमा पानीको धारा पुगेको छ । मदा–पर्दा काँध थाप्ने पनि झिम्के नै हुन् । कसैलाई साह्रो–गाह्रो परिहाल्यो भने झिम्केलाई नै सम्झिन्छन् गाउँलेहरु ।

तर, दिनरात खटेर सुन्दर बनाएको देउराली गाउँ झिम्के जन्मिएको गाउँ भने होइन । उनी ४ वर्षअघि अर्कै गाउँबाट त्यहाँ आइपुगेका हुन् ।

दोउराली गाउँमा उनले दिदी–भिनाजु बनाएका छन् । भिनाजुलाई रगत दिएका उनी त्यसै परिवारसँग बस्दै आएका छन् । दुई भान्जालाई झिम्केले निकै प्रेम गर्छन् । भन्जाहरु पनि झिम्के भनेपछि मरिहत्ते गर्छन् ।

सबैको नजरमा हाई–हाई छन्, झिम्के । तर, एकदिन उनको यो ‘हाई–हाई’ एकदिन सपना जसरी टुटिदिन्छ । जब गाउँका पण्डित काकाले झिम्के दलित भएको पत्तो पाउँछन् ।

देउराली गाउँमा कोलाहल मच्चिन्छ । गाउलेहरु झिम्केलाई घृष्णा गर्न थाल्छन् । झिम्के कारण गाउँलाई श्राप लागेको गाउँलेहरुको चिच्याउन थाल्छन् ।

झिम्केले बनाएको मन्दिमा पुजारी काकाले पूजा नै नगर्ने निर्णय गर्छन् । झिम्केले बनाएको धारामा आइहरेको पनि झिम्केले नै छुन पाउँदैन् । झिम्केलाई गाउँ निकाला गर्ने कुरा चल्छ ।

झिम्के घर पुग्छ । घरमा भिजानु मुर्मुरिएका छन् । सार्कीलाई आफ्नो भाई बनाएको भन्दै श्रीमतिलाई रिस पोखिरहेका छन् । भन्दैछन्, ‘त्यो गधाले मेरो आगन मात्र टेकोस् न !’

सबैतीरबाट अपहेलित भएका झिम्के आफूले बनाएको मन्दिरमा पुग्छान् । जोड–जोडले घण्टी ठोक्छन् । अनि त्यहीँ आफ्नो प्राण अन्त्य गर्छन् ।

अरु मर्दा लास उठाउन सुरिहाल्ने झिम्केको लास कसैले उठाउन मान्दैनन् । उसको लास गनाउन थाल्छ र पनि गाउलेले उसको लासलाई छुने मन गर्दैनन् ।

आखिर झिम्के हो हुन् ? झिम्के किन आफ्नो गाउँ छोडेर देउराली गाउँ आए ? झिम्के दलित भएको गाउँलेले कसरी थाहा पाउँछन् ? झिम्केको लास कसैले उठाउँछ कि उठाउँदैन होला ?

यी र यस्तै कुराको उत्तर पाउन तपाई मण्डला नाटकघरसम्म पुग्नुपर्छ । मण्डलामा मञ्चन भइरहेको नाटक ‘झिम्के मामा’ले यी कुराहरुको उत्तर दिनेछ ।

****

प्रदीप चौधरीको निर्देशनमा तयार भएको नाटक ‘झिम्के मामा’ले समाजको यथार्थतालाई प्रस्तुत गर्छ । दलित हुदाँ खेप्नु पर्ने अपमान र विभेदलाई नाटकको मुख्य विषय बनाइएको छ । उक्त कथालाई नाटकमा फरक तरिकाले प्रस्तुत गर्नुपर्ने चुनौती निर्देशक चौधरीमा थियो । जसमा चौधरीको मेहनत देख्न सकिन्छ । उनको कामबाट सन्तुष्ट हुने ठाउँ छ ।

नाटकमा गरिएको ‘सेट डिजाइनिङ’लाई राम्रो मान्न सकिन्छ । सुन्दर घर, पानीको धारा, चौतारी, मन्दिर, घण्टी, पुल लगायतलाई नाटकको सेटमा प्रयोग गरिएको छ । जुन हेर्दा सुन्दर देखिन्छ । नाटकमा प्रयोग भएको ‘लाइटिङ’ चित्त बुझ्दो मात्र छ ।

नाटका झिम्के बनेका अंकित खड्काकको काम प्रशंसनिय छ । उनले लगाएको लुगा, च्यातिएको टोपी, झिर्ने झोलाले उनको क्यारेक्टरलाई चिनाएको छ । शारीरिक हाउभाउ, बोलीको लवजमा पनि फरक गर्ने प्रयास गरेका छन् । सम्रगमा अंकितले झिम्के क्यारेक्टरलाई न्याय गरेका छन् ।

नाटकमा पण्डित काका बनेका संयोग गुरागाईको काम पनि सम्झिनयोग्य छ । उनले बोल्ने संवादहरु र उनको व्यवहारले दर्शकमा हाँसो ल्याउँछ । नाटकमा झिम्केको दिदी–भिनाजु बनेका रीता श्रेष्ठ र अनुप न्यैपानेको काम सन्तोषजनक छ ।

सागर खाती कामी, युनिश श्रेष्ठ, सुशिल पाण्डे, विकाश पन्त, महन थापा, उषा किरण काफ्ले, रक्षा थापा, काब्या बराल, अर्विन्द अमात्य र क्रिजन महत लगायतका कलाकारहरु स्टेजमा देखिन्छन् ।

समग्रमा नाटक ‘झिम्के मामा’ एउटा हेर्न लायक नाटक बनेको छ ।

 

तस्वीरः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment