Comments Add Comment

सात वर्षको उमेरमा भारतबाट हराएका सन्तोषले १२ वर्षपछि आमाबाबु भेटे

१२ वर्षपछि बाबुआमाको साथमा सन्तोष । 

८ माघ, बुटवल । सात वर्षको उमेरमा भारतको लुधियानाबाट हराएका बाँकेका सन्तोषकुमार सुनार १२ वर्षपछि परिवारको सम्पर्कमा आएका छन् । सुनारलाई मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा परिवारको जिम्मा लगाइएको छ ।

भारतस्थित नेपाली दूतावासको समन्वयमा प्रवासी नेपाली मित्र मञ्च र मानव कल्याण मित्र मञ्चको सक्रियतामा २०७५ साउन ५ गते सन्तोषलाई उद्दार गरिएको भएपनि ठेगाना र अभिभावक पत्ता नलाग्दा परिवारसँग पुनर्मिलन गराउन ढिलाई भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हेमबहादुर थापाकाअनुसार सन् २०१४ जनवरी २२ मा लखनउमा ११ वर्ष उमेर भएको सन्तोष नाम बताउने बालक बेवारिसे अवस्थामा फेला पारी भारतस्थित विभिन्न बालगृह हुँदै राजकीय बालगृह देवरियामा राखिएको थियो ।

त्यसपछि सन्तोष, विजय तामाङ, राजेश कुमार, सुमितकुमार गरी चार जनालाई पारिवारिक पुनर्मिलनका लागि भारतस्थित नेपाली दूतावासको सिफारिससहित मित्र मञ्चले जिल्ला प्रहरी कार्यालय रुपन्देही, बालबालिका तथा जेष्ठ नागरिक सहायता केन्द्रमा ल्याएको थियो ।

बालकहरुको अभिभावक पत्ता नलागेसम्मको लागि अस्थायी संरक्षणको लागि चारजना बालकलाई प्रहरी कार्यालय रुपन्देहीले तिलोत्तमा नगरपालिका कोटिहवास्थित नेपाल अविनास अनाथ आश्रममा पठाएको थियो । चार जनामध्ये तीन जनाको अभिभावक पत्ता लागेपनि सन्तोषको ठेगाना र अभिभावक पत्ता लाग्न सकेको थिएन । त्यसपछि उनलाई बालगृहको संरक्षणमा पशुपति मावि कोटिहवामा भर्ना गरी अभिभावक र ठेगाना खोजी कार्य जारी राखिएको थियो ।

सन्तोषलाई सोधपुछ गर्ने क्रममा घर दुर्गानगर, कुसुम, झोलुंगेपुलसम्म बताएपछि त्यस क्षेत्रका स्थानीयसँग सम्पर्क गर्दा बैजापुर हेल्थ पोष्टका कर्मचारी कुविजा कोइरालाले सन्तोष त्यही क्षेत्रको हुन सक्ने अनुमान गरेकी थिइन् । बैजापुर गाउँका अगुवा सन्तोष खड्कासँग बुझ्दा हराएको बालकका अभिभावक भारतमै रहेको जानकारी आएपछि २०७६ पुस ६ गते अमरबहादुर सुनार र लक्ष्मी सुनार बालगृहमा आई आफ्नो छोरा हो भन्ने पहिचान गरेको प्रहरीको भनाइ छ । पारिवारिक पुनर्मिलनको लागि सन्तोषको जन्मदर्ता, नाता प्रमाणित, स्थानीय तहको सिफारिस लगायतका कागजात प्राप्त भएपछि अनाथ आश्रमका कृष्णप्रसाद ज्ञवाली थप जानकारी लिन सन्तोषको घर पुगेको प्रहरीले जनाएको छ ।

‘हराएको छोरा भेट्टाउने आशा नै मारिसकेका थियौं, तर १२ वर्षपछि पनि छोरालाई भेटाउँदा खुशीको सीमा छैन,’ सन्तोषका बुबा अमर सुनारले भने, ‘यतिका वर्षसम्म छोराको पीरमा पीडा सहेर बाँच्यौं ।’

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment