Comments Add Comment
निर्माण व्यवसायीको सुरक्षामाथि प्रश्न :

ठेकदार भन्छन्- असुरक्षित भइयो, प्रहरी भन्छ- हामी छौं !

विप्लव समूहले एक प्रतिशत 'कर' मागेको निर्माण व्यवसायीको गुनासो

८ माघ, काठमाडौं । बालुवाटार घेरेर सार्वजनिक खरिद नियमावली सच्याएका निर्माण व्यवसायीहरु यतिबेला सुरक्षा माग्दै गृहमन्त्रीदेखि नेताका घर-घरमा पुगिरहेका छन् । मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेका निर्माण व्यवसायीले बुधबार विहान पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर सुरक्षा मागे । निर्माण व्यवसायीहरु क्रमैसँग विभिन्न दलका नेता र विकाससम्बद्ध मन्त्रालयमा सुरक्षा माग्न जाने तयारी छन् ।

व्यवसायीहरुले सरकारी विकासे अड्डा र आयोजनाका अधिकारीहरुसँग पनि असुरक्षा भएको भन्दै कामका लागि फिल्डमा जाने वातावरण बनाउन माग गरेका छन् ।

सरकारलाई समेत गलाउन सफल निर्माण व्यवसायीहरु आखिर किन सुरक्षा माग्नुपर्ने अवस्थामा पुगे त ? उनीहरुको गुनासो छ- विप्लव समूहबाट असुरक्षित भइयो । तर, सरकारी अधिकारी र सुरक्षा स्रोत भने विप्लव समूहबाट असुरक्षित हुनुपर्ने अवस्था नरहेको दाबी गर्छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको संशोधनपछि फिल्डमा बाक्लोमा मात्रामा काम गर्न पुगेका व्यवसायी, कामदार र निर्माण उपकरण असुरक्षित भएको अनलाइनखबरलाई बताए ।

विकास खर्च नभएको भन्दै सरकारले हालसालै व्यवसायीको मागबमोजिम नै नियमावलीमा संशोधन गरेको थियो । आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले मुस्किलले साढे १३ प्रतिशत मात्रै विकास खर्च गरेको छ । यो गत वर्षको भन्दा पनि कम हो । यस्तो अवस्थामा फेरि निर्माण व्यवसायी काम छाडेर सुरक्षा माग्दै हिँड्न सुरु गरेका छन् ।

नियमावली संशोधनपछि निर्माणको काम ह्वात्तै बढ्ने र कार्यस्थलमा नतिजा देखिने दावी गरेका व्यवसायीहरु अब सुरक्षा माग्दै हिँड्न थालेपछि विकास आयोजनाहरु थप समस्यामा परेका छन् ।

निर्माण व्यवसायीलाई आतंकित पार्ने काम भइरहेको भन्दै ठेकदारहरुले सरकारबाट सुरक्षाको प्रत्याभुति नभएसम्म फिल्डमा जान समस्या भएको दावी गरेका छन् ।

‘करिब ३ महिनामा बीचमा निर्माणको काममा खटिएका ४० वटा एस्काभेटर जलाइएका छन्,’ अध्यक्ष सिंहले भने, ‘गत दुई हप्तामा बीचमा नै १२ वटा एक्स्काभेटर जलाइए । यस्तो अवस्थामा कसरी फिल्डमा जाने ?’

गत आइतबार मोरङको मिक्लाजुङ गाउँपालिका-१ रमितेमा निर्माणाधीन उर्लाबारी-किसान चोक-रमिते सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा बम विस्फोट गराएर क्षति पुर्‍याइएको थियो ।

यो घटनामा ३ करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको महासंघले जनाएको छ । एक महिनाका बीचमा खोटाङ, भोजपुर, झापा, सिन्धुली सिन्धुपाल्चोक लगायतका जिल्लामा पनि दर्जनभन्दा बढी डोजर तथा एक्स्काभेटर जलाइएको छ ।


आन्दोलनको चेतावनी

यस्ता घटनाको आवश्यक छानविन गरेर दोषीलाई कडा भन्दा कडा कारवाही गर्न र काम गर्ने वातावरण बनाउन महासंघले सरकारसँग माग गरेको छ । यस्ता व्यक्ति र समूहलाई कारवाही नगरिएमा महासंघ देशव्यापी रुपमा शशक्त आन्दोलन सुरु गर्न बाध्य हुने महासंघका महासचिव रोशन दाहाल बताउँछन् ।

यस्तो अपराधिक घटना दोहोरिन नदिन र सामाजिक शान्ति सुरक्षा कायम राख्न आवश्यक पहलका लागि समेत नेपाल सरकारसँग महासंघले अनुरोध गरेको छ ।

अध्यक्षा सिंह

निर्माण व्यवसायीकाहरुका अनुसार अहिले प्रतिवन्धित नेकपा (विप्लव समूह)ले त्रास फैलाइरहेको छ । एक निर्माण व्यवसायीका अनुसार प्रायः सबै आयोजनामा ठेक्का रकमको एक प्रतिशत रकम व्यवसायीबाट चन्दा मागिएको छ । जसलाई विप्लब समूहले जनसरकारलाई तिर्नुपर्ने ‘कर’ भनेको छ ।

यस्तो चन्दा नदिएसम्म कार्यस्थलमा काम अघि नबढाउन भन्दै विप्लब समूहले व्यवसायीलाई दबाव दिएको छ । प्रतिशत आधारमा चन्दा दिर्नुपर्ने अवस्था आएपछि कतिपय व्यवसायीहरुले त्रासका कारण काम रोकेका छन् ।

विप्लब समूहले ठूला-ठूलो समूहमा कामदार रहेका आयोजनामै एस्काभेटर जलाउने लगायतका घटना गर्दा त्रासमा कारण कामदारले कार्यस्थल छाडिरहेको व्यवसायी बताउँछन् ।
‘तोकिएको रकम नबुझाए कार्यस्थल छाड्न र छाडेकाहरुलाई नफर्किन भनिएको छ,’ महासंघका अध्यक्ष सिंह भन्छन्, ‘अब सरकारले विकासको काम अघि बढाउन आवश्यक सहजीकरण र सुरक्षा प्रवन्ध गर्नुपर्छ । नत्र विकासका काम फेरि ठप्प हुन सक्ने जोखिम छ ।’


गृहमन्त्रालय भन्छ- समन्वय गर

गृह मन्त्रालयले भने व्यवसायी भनेजस्तो जतात्यतै काम नै गर्न नसक्ने अवस्था नभएको दाबी गर्छ । कुनै विकट र सुरक्षा बलको पहुँच कम भएको क्षेत्रमा काम गर्न समस्या भए जिल्लामा व्यवसायीले नै समन्वय बढाएर वातावरण तयार गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ व्यवसायीहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग समन्वय नगर्दा समस्या बढिरहेको बताउँछन् । असुरक्षा हुने अवस्थामा प्रमुख जिल्ला अधिकारी र सुरक्षा ईकाईहरुलाई खबर गर्नुपर्ने उनको भनाइ छ । ‘सुरक्षा गस्ती बढाउन सकिन्छ, आवश्यक सुरक्षा प्रवनध गर्न सकिन्छ,’ उनले भने, ‘कतै चन्दा आतंक छ भने प्रहरीलाई तत्काल जानकारी गराउनुपर्छ । सोलोडोलोमा असुरक्षा भयो भन्दैमा कसरी सुरक्षा दिने ?’

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री प्रतिवन्धित समूहमाथि निगरानी राख्ने र व्यवसायीहरुलाई सुरक्षित वातावरण तयार पार्ने काममा कुनै सम्झौता नगरिएको बताउँछन् । असुरक्षाको अवस्था भए प्रहरीलाई खबर गर्नुपर्ने र त्यसका आधारमा सहज वातावरण तयार गर्न प्रयास गरिने क्षेत्री बताउँछन् । ‘विप्लव समूह प्रतिवन्धपछि विभिन्न अवैध गतिविधिमा संलग्न १ हजार ३ सय ७१ जना पक्राउ परिसके,’ उनी भन्छन्, ‘१ हजार ३ सय माथि त मुद्दा नै चलाएका छौं । प्रहरीले आफ्नोतर्फबाट गर्नुपर्ने प्रयास गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment