Comments Add Comment

प्रदेश १ मा राष्ट्रियसभा चुनावको तयारी पूरा

Photo Credit : मतदान हुने स्थल ।

८ माघ, विराटनगर । राष्ट्रियसभा सदस्यका लागि बिहीबार हुने निर्वाचनको आवश्य तयारी पूरा भएको छ । प्रदेश १ मा हुने निर्वाचनका लागि विराटनगरको वीरेन्द्र सभागृहलाई मतदान केन्द्र तोकिएको छ ।

मतदान केन्द्रमा आवश्य मत पत्र ल्याउने देखि मतदान केन्द्रको व्यवस्थापन साथै आवश्य कर्मचारी परिचालन गर्नेलगायतका काम पूरा भएको जनाइएको छ ।
सभागृहका हुने मतदान (ख) मतदान केन्द्रका अधिकृत इश्वरमणि ओझाले बिहान १० बजेबाट हुने निर्वाचनका लागि छुटा-छुटै दुई केन्द्र बनाइएकोे बताए ।

उनले सभागृहको प्राङ्गणमा रहेको (ख) केन्द्रमा २७४ जना स्थानीय तहका प्रमुख उपप्रमुखले भोट खसाल्ने व्यवस्था गरिएको बताए । त्यसैगरी सभागृहको माथिल्लो तलामा (क) मतदान केन्द्रमा ९३ प्रदेश सभासदस्यका लागि मत हाल्ने व्यवस्था गरिएको छ ।

मतदान केन्द्रलाई व्यवस्थित बनाउन महिला पुरुषको छ्ट्टाछुटै लाइनको व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ बाट तीन दलका ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १ नम्बर प्रदेशमा राष्ट्रियसभामा रिक्त भएको दलित १, महिला १ र अन्य १ गरी तीन सदस्यका लागि विहिबार मतदान हुँदैछ । जसका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा), नेपाली कांग्रेस र संघीय समाजवादी नेपालका फरक फरक तीन र तीन जनाले उम्मेदवारी जिल्ला निर्वाचन कार्यालय मोरङमा मनोनयन दर्ता गराएका थिए ।

नेकपाको तर्फबाट प्रदेश १ मा दलिततर्फ गोपी अछामी, महिलातर्फ इन्दिरादेवी गौतम र खुल्लातर्फ देवेन्द्र  दाहालको उम्मेवारी परेको छ ।

कांग्रेसबाट महिलामा सदस्य पदका लागि धरान उपमहानगरपालिका-१ की मिना पुलामी मगर, दलित सदस्यमा फिदिम नगरपालिका-१ का निरबहादुर विश्वकर्मा र खुल्लातर्फ भऽपुर नगरपालिका-८ का राजेन्द्र घिमिरेले उम्मेदवारी परेको छ ।

संघीय समाज पार्टीले दलित सदस्यमा बुढीगंगा गाँउपालिका-३ का ज्ञानकुमार परिवार, महिलातर्फ विराटनगर महानगरपालिका-१६ कीसदिना खातुन र खुल्लामा विराटनगरमहानगरपालिका-४ का भरतराज दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

मतभारको अवस्था

प्रदेश १ मा राष्ट्रिय सभामा रिक्त भएको दलित १, महिला १ र अन्य १ गरी तीन सदस्यका लागि मतदान हुँदैछ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन एकल मत संक्रमणीय प्रणालीमा हुने प्रावधान छ । तर, तीनै पदका लागि अलगअलग मतपत्र भइ एक/एक जनामात्रै निर्वाचित हुने भएकाले उक्त प्रणाली आवश्यक नपर्ने भएकाले जसले बढी मत प्राप्त गर्छ ऊ नै विजयी हुने भएका छन् ।

निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सांसद मतदाता हुने व्यवस्था छ ।

मतदाताको मतभार भने फरकफरक हुने कानूनी व्यवस्था छ । स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ र प्रदेश सांसदको मतभार ४८ हुने व्यवस्था गरिएको छ ।

प्रदेश १ मा ९३ जना सांसद र १३७ स्थानीय तह छन् । स्थानीय तहका प्रमुख र उप्रमुखसहित दुई सय ७४ गरी तीन सय ६७ जना मतदाता हुने छन् । दुवैतर्फको गरी प्रदेशमा कुल मतभार भने नौ हजार ३९६ हुनेछ ।

यसअघि २०७४ माघ महिनामा भएको राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनको शक्ति सन्तुलनमा खासै फेरबदल भएको छैन ।

तत्कालीन अवस्थामा धरान उपमहानगरपालिकाको मेयर नेकपा एमालेले जितेको थियो । तर, २०७६ मंसिर १४ गते भएको उपनिर्वाचनबाट कांग्रेसका तीलक राई मेयर भएका छन् ।

यसपल्ट साविकको १८ मतभार नेकपाबाट घटेर कांग्रेसको पोल्टामा परे पनि यसले खासै फरक पार्ने भने देखिदैन ।

दुई वर्षअघि भएको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीले चुनावी गठजोड गरे पनि पार्टी भने अलगअलगकै अवस्थामा थियो ।

अलगअलग अवस्थामा तत्कालीन एमालेको स्थानीय तहतर्फ १५४ मा एक सिटमात्रै घटेको छ ।

प्रदेश सभातर्फ तत्कालीन एमालेको ५१ संख्या कायमै छ । तत्कालीन एमाले एक्लैको प्रदेश नम्बर १ मा पाँच हजार दुई सय दुई मतभार अझै पनि सुरक्षित छ ।

प्रदेश नम्बर १ मा नेकपा एमाले मात्रैले ५५ प्रतिशत मत सुरक्षित गरेको छ । यो मतमा तत्कालीन नेकपा माओवादीको जोड्ने हो भने कुल मतभार ६७ प्रतिशत पुग्न जान्छ ।

माओवादीका प्रमुख, उपप्रमुख १६ र प्रदेश सांसद १६ सहित उनीहरूको कुल मतभार एक हजार ५६ छ ।

दुवै दलको जोड्दा कुल मतभार ६ हजार दुई सय ५८ हुन आउँछ । नेपाली कांग्रेसका प्रदेश १ मा स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी ६८ र प्रदेश सांसद २१ जना छन् । जसको कुल मतभार दुई हजार दुई सय ३२ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment