Comments Add Comment

खोकनामा अचेल तोरी फुल्दैन !

तोरीखेतीमा सरकारी अनुदान आवस्यक : विज्ञ

९ माघ, काठमाडौं । ललितपुरको खोकना अर्थात तोरीको तेलका लागि प्रसिद्ध ठाँऊ । तर, खोकनाले अब आफ्नो पहिचान गुमाउन थालेको छ ।

पहिला तेल बेच्न विभिन्न ठाँउमा जाने खोकनाका किसानहरु आजभोलि तेल बेच्न होइन, किन्न विभिन्न ठाउँमा धाउँछन् । बेच्न त परकै कुरा, आफैंलाई खानका लागि पनि खोकनाबासीसँग आजभोलि पर्याप्त तोरीको तेल छैन ।

केही बर्षअघिसम्म तोरी खेती गर्ने र स्थानीय मिलमा पेलेर तेल बेच्ने मुख्य पेशा थियो खोकनाबासीको । तर, अचेल तोरी लगाउनै छाडेको स्थानीय बुद्धिकृष्ण डंगोल बताउँछन् ।

‘हामी सानो छँदा हाम्रा बाजेहरु मिलमा तोरी पेल्न पालो कुरेर बस्थे । अहिले जस्तो बत्तीबाट चल्ने मिल थिएनन्, हातैले घुमाउनुपर्थो । तोरीतेलको बास्ना पनि कति मीठो हुन्थ्यो,’ बुद्धिकृष्ण सम्झन्छन्, ‘अहिले त तोरीमिल पनि बन्द हुँदै जान थाले । भएका मिलहरु पनि तोरी नपाएर बन्द हुने अवस्थामा पुगेका छन् ।’

खोकनाबासीले धान भित्र्याउने वित्तिकै तोरी छर्ने गर्थे । पुस–माघमा खोकनाका फाटँहरु पहेंलपुर हुने गर्थे । तर, आजभोलि तोरी लगाउने खेतमा घरहरु बन्न थालेका छन् । बाँकी रहेको जमिन पनि कि त बाँझै छन्, कि अर्थोकै खेती हुन थालेको छ ।

तोरी फूल्ने खोकनाका खेतबारी आजभोलि बाँझै छन् । यहाँ फलेको तोरीले एक महिना पनि तेल बनाउन नपुग्ने स्थानीय मिल सञ्चालक मिलन डंगोलले अनलाइनखबरलाई बताए ।

डंगोल भन्छन् ‘हामी बुढाबुढी भइसक्यौं, सबै शहरमा बस्न थाले । आजकालका मान्छे खेती गर्न खोज्दैनन्, हामी गर्न सक्दैनौं । भएका जग्गा पनि बाँझै हुन थाले ।’

खोकनाका किसानहरु तोरीको तेल बेच्न पाटन, लुभु, टोखा, चावहिल र असनसम्म पुग्थे । तोरीको तेल बोकेर उनीहरु ३/४ दिन गाउँ–शहरतिर डुल्थे ।

खोकनाको तेलले छुट्टै पहिचान बोकेको छ । स्थानीय स्तरमा उत्पादन भएको तोरीको बास्नादार तेल विदेशीले समेत मालिस गर्न लाने गरेको मिल सञ्चालकहरु सुनाउँछन् । नेवार समुदायमा अझै पनि खोकनाको भुटेको तेलको माग उत्तिकै छ ।

खोकनामा तेल उत्पादनमा कमी हुनुका विभिन्न कारणमध्ये एउटा, बजारमा सस्तोमा खानेतेल पाउनु हो । बढ्दो शहरीकरण, जमीनको खण्डीकरण र खेती गर्ने कामदारको अभावजस्ता कारणहरुले खोकनामा तोरीको उत्पादन घटेको उनले सुनाए ।

पहिले खोकनामा फलेको तोरीले पर्याप्त मात्रामा तेल उत्पादन गर्न पुग्थ्यो । अचेल तराईका जिल्ला चितवन, सलार्हीसहित विदेशबाट पनि काठमाडौंमा तेलको आयात गर्नु परिरहेको छ ।

खोकनाबासीका अनुसार पहिले गाउँघरमा तोरीसँग तेल साट्ने गरिन्थ्यो । बाजे बराजुका पालामा १ माना तेलसँग ४ माना तोरी साटिन्थ्यो । यो प्रकिया बाह्रै महिना चल्थ्यो ।

‘अहिले १६ वटा मिलबाट घटेर ४ वटामा झरेको स्थानीय बताउँछन् । उनीहरुका अनुसार खोकनामा बाहिरबाटै आएको तोरीले मिल धानेको छ । पहिले–पहिले खोकना छिर्नेबितिकै लस्करै मिलहरुमा तोरी पेलेको देख्न पाइन्थ्यो । अहिले खोकनाभरि निजी लगानी र सहकारीबाट गरी ४ वटा मात्र तोरीमिल चलेका छन् ।

यहाँ उत्पादन भएको तोरी एक महिना पनि टिक्दैन । बाहिरबाट तोरी ल्याउँदा यसको बास्नामा पनि नआउने र तेल उत्पादन पनि महंगो पर्न जाने मिलवालाहरु बताउँछन् ।

तोरी उत्पादन घट्न थालेपछि स्थानीयबासीमा खोकनाको प्रशिद्ध तेल हराउने पो हो कि भन्ने चिन्ता देखिन थालेको छ ।

देशैभरि तोरीको उत्पादन घट्दै

खोकनामा जस्तै नेपालमा तोरीका लागि प्रसिद्ध जिल्लाहरुमा पनि तोरीको उत्पादन घट्न थालेको छ ।

तथ्याङ्क हेर्दा २ लाख २४ हजार हेक्टर क्षेत्रफलमा मात्र तोरी खेती छ, जुन विगतका भन्दा कम भएको वरिष्ठ बाली अधिकृत प्रकाश आचार्य बताउँछन् । उनी भन्छन् ‘अहिले नेपालमा ५ अर्ब भन्दा बढीको तोरीतेल आयात हुन्छ । सबैभन्दा बढी तोरी उत्पादन हुने चितवन, पर्सा र बारा जिल्लामा पनि विस्तारै उत्पादन घट्न थालेको छ ।’

तोरीको पकेट क्षेत्र मानिएका जिल्लाहरुमा बर्षेनी एकै प्रकृतिको तोरी लगाउनु र माटोको परीक्षण नगरिनुजस्ता कारणले पनि तोरीको उत्पादन खस्कँदै गएको बाली विज्ञको भनाइ छ ।

पर्याप्त सिचाइँको अभावका कारणले पनि तोरीको उत्पादन क्षेत्र घट्दै गएको विज्ञको तर्क छ । वरिष्ठ बाली अधिकृत आचार्यका अनुसार उच्चस्तरको तोरीको जातमा वृद्धि गर्न सके उत्पादन बढाउन सकिन्छ ।

उनी सुनाउँछन्, ‘हामीले पुरानै प्रविधिको प्रयोग गरेर तोरी खेती गरिरहेका छौं । त्यसले पनि उत्पादन बढ्न नसकेको हो । नेपाललाई तोरी उत्पादनमा आत्मनिर्भर बनाउन सरकारले अनुदानको व्यवस्थामा जोड दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment