Comments Add Comment

श्रृंखलालाई भुतुक्कै पार्ने ‘दले दाइ’

'फेरि आउट हुने डर छ'

सामाजिक सञ्जालको जमाना छ । यदि तपाईंसँग कुनै विशिष्ट प्रतिभा छ भने केही घन्टामै चर्चित बन्न सक्नुहुन्छ । नत्र सुमन कोइरालालाई हेर्नुस । करिब ९ मिनेटको एउटा प्रस्तुतिले उनलाई रातारात ‘फेमस’ बनाइदियो ।

अहिले निकै लोकप्रियता कमाइरहेको टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का सहभागी हुन् सुमन । नेपालमा पहिलोपटक ‘स्ट्यान्ड अप कमेडी’मा आधारित रियालिटी शो आयोजना भइरहेको छ । यसमा सुमनजस्ता थुप्रै प्रतिभावान कमेडीयनहरु उदाएका छन् ।

सुमनको कुरा गर्दा उनी टप १० बाटै आउट भइसकेका थिए । तर, ‘वाइल्ड काल्ड इन्ट्री’ पाएर टप ७ मा फर्केका छन् । उनलाई प्रतिस्पर्धामा फर्काएको हो गत सोमबारको प्रस्तुतिले, जसमा उनी एक जग्गा दलालको अवतारमा उत्रिएका थिए । उक्त प्रस्तुतिलाई यस प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्ट मानिएको छ । पहिलोपटक चारैजना निर्णायकहरुदे उनको मुक्तकन्ठले तारिफ गरे ।

जग्गा दलालको रुपमा सुमनले प्रस्तुत गरेको स्ट्यान्डअप कमेडी हास्य र व्यंग्य दुवै पाटोमा सशक्त थियो । पञ्चलाइनहरु प्रशस्त थिए । उनले आफ्नो लवज पनि फरक बनाएका थिए । नेकपा महासचिव विष्णु पौडेललाई जोडेर गरिएको यो व्यंग्य सर्वाधिक चर्चित बन्यो ।

‘म केपी बाकहाँ जग्गाको कुरा गर्न गएको थिएँ । केपी बा, ४ रोपनी जग्गा छ, लु मारूँ न बैना भन्छु, हुदैँन, म त बाहिरको दलाली हायर गर्दिन । मेरो कारोवार त विष्णु भाइले नै हेर्छन् भनेर पठाए ।’

सुमनको यो पञ्चलाइन धारिलो तरवारभन्दा कम थिएन । जजको रुपमा कुर्सीमा आसिन मनोज गजुरेलले यसलाई आफ्नै स्टाइलमा १० करोड मूल्यांकन गरे भने उनलाई उछिन्दै अर्का जज प्रदीप भट्टराई २० करोड दिन तयार भए । ऋचाले सुमनको कमेडी हेरेपछि आफूलाई जग्गा दलाल मन पर्न थालेको प्रतिक्रिया दिइन् । पन्तले सुमनलाई सिधै पहिलो नम्बरमा हेर्न चाहेको बताए ।

उक्त एपिसोडमा गेस्ट जजका रुपमा पूर्वमिस नेपाल श्रृंखला खतिवडा र माल्भिका सुब्बा पनि उपस्थित थिए । सुमनले श्रृंखलालाई पनि बाँकी राखेनन् । केही समयदेखि श्रृंखलाको नाम भ्लगर सिसन बानियाँसँग जोडिने गरेको छ । सुमनले पनि आफ्नो प्रस्तुतिमा सिसनलाई घुसाइहाले ।
फोनमा कुरा गर्दै उनी भन्छन्, ‘कुन जग्गा रे ? सिसन बानियाले ड्रोन उडाएको जग्गा हो । के हो ड्रोन भन्या रे ? राम्रै कुरा हो, सिसन बानियाले उडाएको कुरा नराम्रो हुन्छ ?’

सुमनको यो व्यंग्यमा दर्शकदीर्घाबाट हाँसोको फोहोरा छुट्यो । श्रृंखला पनि हाँसेर भुतुक्कै भइन् ।

अन्ततः कार्यक्रमको अन्त्यमा सुमन उक्त एपिसोडका सर्वोकृष्ट हुँदै १० हजार नगद पाए । त्यो भन्दा ठूलो कुरा उनी टप ७ मा फर्किए । कार्यक्रमको फर्म्याटअनुसार आउट भइसकेका मध्ये दुई जनाले वाइल्ड कार्डमार्फत रि-इन्ट्री पाउँछन् । जसमा एकजनाको छनोट चार जना निर्णयकले गर्छन् भने अर्को एक जना दर्शकको भोटका आधारमा । निर्णायकको छनोटमा सुमन परेका हुन् ।

सुमनको यो प्रस्तुति केही घन्टामै सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । यति धेरै चर्चा होला भन्ने सोच्दै नसोचेको सुमन बताउँछन् ।
अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘मैले त सामान्यरुपमा प्रस्तुति दिएको थिएँ । चारै जना जज उठेर ताली बजाएपछि सरप्राइज भएँ । पछि सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा भइरहेका रहेछ । मैले यस्तो होला भन्ने कल्पनै गरेको थिइनँ ।’

फेरि आउट हुने डर

कमेडी च्याम्पियनमा ‘अर्गानिक केमडियन’ को ट्याग पाएका सुमन टप ९ मा भोट कम पाएपछि बाहिरिएका थिए । त्यसमा उनी त्यति धेरै दुखी पनि थिएनन् ।

सुमन भन्छन्, ‘मैले आफ्नो क्षमताअनुसार गर्न सकिरहेको थिइँन । म आफैँलाई त्यो अनुभव भएको थियो । त्यसैले बाहिरिदा पनि धेरै दुख लागेन ।’

एपिसोड १७ र १८ मा बाहिरिएका प्रतियोगीहरुलाई वाइल्ड कार्ड प्रवेशका लागि पुनः प्रस्तुति दिन लगाइयो । सुमनको पालो १८ औं एपिसोडमा पर्‍यो । यसअघि उनले टप ९ मा प्रस्तुति दिनका लागि विषय पाएका थिए, ‘जग्गा दलाल’ । तर, टप ९ मा पर्न नसकेपछि उनले त्यो प्रस्तुति दिन पाएनन् । त्यसैलाई वाइल्ड कार्डको प्रतिस्पर्धामा प्रयोग गरे ।

सुमनले यो प्रस्तुतिका लागि धेरै मिहिनेत गरेका छन् । त्यो मिहिनेत उनले हानेका हरेक पन्चहरुमा झल्किन्छ । उनले केपी ओली, शेरबहादुर देउवा, प्रचण्डदेखि सिसन बनिया र श्रृखलासम्मलाई झट्का हान्न भ्याए । आफ्नो गेटअप पनि दलालसँग मिल्दोजुल्दो बनाएका छन् ।

भिडियो भइरल भएपछि उनलाई धेरैको फोन, म्यासेज तथा बधाईहरु आइरहेका छन् । तर, सुमनले यसमा त्यति ध्यान दिएका छैनन् । उनलाई अर्को प्रस्तुति दमदार बनाउनुपर्ने दवाव बढेको छ । अहिले बन्द कोठामा स्त्रिmप्ट लेख्नमै व्यस्त रहेको बताउँछन् ।

सुमन भन्छन्, ‘अहिले म सामाजिक सञ्जाल चहार्नतिर लागेँ भने अर्को प्रस्तुति बिगि्रने हो कि भन्ने डर छ । त्यसैले मैले त्यसमा समय दिएको छैन । कुनै-कुनै हेरेको छु । सबैले राम्रो भनेर प्रसंशा गर्नुभएको छ ।’

तर, यत्तिको प्रशंसा पाएपछि पनि भोट पाउनेमा भने पूर्ण विश्वस्त छैनन् उनी । फेरि बाहिरिने डर अझै छ मनमा ।

‘पहिले पनि भोट नपाएर बाहिरिएको हुँ म । अब फेरी भोटले नै जित्छु भन्ने ग्यारेन्टी छैन । फेरी बाहिरिन पनि सक्छु म ।’ उनले भने ।

भोटमा सुमनले पैसा खर्च गरेका छैनन् । आफैँलाई समेत भोट नहालेको उनी बताउँछन् ।

‘पैसा हुनेहरुले हो रहेछ भोटमा पैसा खर्च गर्ने । मसँग त भए पो गर्नु । अहिले पर्फमर अफ द राउण्ड बनेर १० हजार जितेको छु । त्यो चाहीँ खर्च गर्छु ।’ सुमनले भने ।

को हुन् सुमन ?

सुमनको उमेर २४ वर्ष मात्रै भयो । झण्डै ६ वर्षदेखि कमेडी क्षेत्रमा क्रियाशील छन् उनी । उनले रेडियोबाट आफ्नो करिअर सुरु गरेका थिए ।

झुम्काको लोकल रेडियो थियो, ‘रामधुनी’ । त्यहाँ एक वर्ष कमेडी कार्यक्रमहरु चलाए । पछि उनलाई टिभीबाट अफर आयो र त्यहीँको लोकल टिभी ‘एरिना’मा काम गरे । एलिना टेलिभिजनमा उनको एउटा चर्चित कमेडी कार्यक्रम थियो, ‘गोलभेडा’ । उक्त कार्यक्रमलाई धेरैले रुचाएका थिए ।

सुमन भन्छन्, ‘यस कार्यक्रमबाट मलाई धेरैले चिन्नुभएको छ । कलाकारहरुले पनि याद गर्नुभएको शो थियो ।’

त्यतिबेला १९ वर्षका फुच्चे सुमनलाई धेरैले चिन्न थालिसकेका थिए । साढे २ वर्ष उक्त टेलिभिजनमा काम गर्दा उनी २२ वर्षको उमेरमै टेलिभिजनको स्टेशन म्यानेजर बने ।

तर, उनलाई त्यतिले चित्त बुझेन । स्नातक पढाइ सकेपछि कलाकार बन्ने सोचसहित काठमाडौं छिरे । उनी काठमाडौं आएको डेढ वर्ष बितिसकेको छ ।

काठमाडौं आएपछि चिनजानका दाइ दीपक आचार्यसँग उनी ‘भद्रगोल’को सुटिङ हेर्न पुगे । आचार्य भद्रगोलका सहनिर्देशक थिए । त्यसबेला भद्रगोलमा सुमनले सानोतिनो भूमिका निर्वाह पनि गरेका छन् ।

पछि इमेज च्यानलमा प्रसारण हुने ‘उल्टो सुल्टो’ नामक सिरियलमा पनि उनी देखिए । त्यसमा उनले प्रहरीको भूमिका निभाएका थिए ।
‘राम्रो कलाकार बन्ने ठूलो सपना बोकेर काठमाडौं छिरेको छु । मेहनत गर्छु तर, सफल हुन्छु कि हुन्न भविष्यले बताउँला ।’

आफूलाई यस क्षेत्रमा परिवारको पूर्ण समर्थन भएको उनले बताए

‘जे गर्छस्, राम्रो गर भन्नुहुन्छ । मलाई विश्वास गर्नुहुन्छ । म पनि आमा बुबाको असल छोरा बन्छु भन्ने नै छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment