Comments Add Comment

किन बिच्किए नेपाल एयरलाइन्सका पाइलट ?

१० माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ शुरु हुनासाथ नेपाल एयरलाइन्सका पाइलटहरुको खातामा दुई महिनासम्म झण्डै ‘शून्य’ तलव गयो । त्यसपछिका महिनामा समेत नियमित कर कट्टीबाहेक पुरानो कर भुक्तानी भन्दै व्यवस्थापनले मासिक १ लाख रुपैयाँ काटेर मात्र पाइलटहरुको खातामा पठाइरहेको छ ।

व्यवस्थापनबाट एकै पटक दुई/दुई महिनामा शून्य तलव खातामा गएको र नियमित कर कट्टी हुन थालेपछि पाइलट बिच्चिएका छन् । फलस्वरुपः बिहीबार साँझ करीव दुई दर्जन पाइलटले तीन महिनापछि राजिनामा दिन सक्ने भन्दै व्यवस्थापनलाई ज्ञापनपत्र बुझाएका छन् ।

किन शून्य तलव गयो पाइलटको ?

आयकर ऐनअनुसार नेपाल एयरलाइन्सका पाइलटले मासिक आम्दानीमा ३६ प्रतिशतसम्म सरकारलाई आयकर बुझाउनु पर्छ । किनकी उनीहरु नेपालमा उच्च आम्दानी गर्ने वर्गभित्र पर्छन् ।

व्यवस्थापनले हरेक महिना आयकर कटाएर मात्र पाइलटको खातामा रकम पठाउनुको साटो अन्य महिनामा कर कट्टी नगरी सबै तलव खातामा पठायो, यसले गर्दा वर्षभर पाइलटले सरकारलाई बुझाउनु पर्ने कर दायित्व थुपि्रएर बस्यो ।

सोहीकारण एकै पटक दुई महिनासम्म तलव नै नआउने गरी कर कट्टा गरियो । ‘अर्थ विभागले किस्तामा कर काट्नुपर्नेमा एकैपटक कर कटौती गरेको साँचो हो,’ नेपाल वायुसेवा निगमका संचालन विभाग प्रमुख वरिष्ठ क्याप्टेन दीपु ज्वार्चनले भने, ‘तर, कर नै तिर्दैनौं भन्नु त आयकर ऐन विपरित हुन्छ ।’

उनका अनुसार पछिल्लो दिनमा काटिरहेको १ लाख रकम भने आर्थिक वर्ष २०७४/७५ को आयकरको वक्यौता हो । उक्त वर्ष नतिरेको कर अहिले काटेर सरकारी कोषमा पठाइएका कारण पाइलटको खातामा कम पैसा आएको हो ।

पाइलटहरुको माग 

पाइलटले बिहीबार व्यवस्थापनलाई पत्र बुझाएका छन् । जहाँ कार्यकारी अध्यक्षलाई सम्बोधन गरिएको छ । तर, कार्यकारी अध्यक्ष मदन खरेलले एक साता अगाडि नै राजीनामा गरेका थिए । उनको स्थानमा मन्त्रीपरिषद्ले अध्यक्षको भूमिकामा पर्यटन मन्त्रालयका सचिवलाई तोकेको छ ।

पाइलटहरुले कर कट्टी गर्ने भए त्यो निगमले नै तिरिदिनुपर्ने वा नेपाली पाइलटलाई स्थायी नियुक्ति नदिई विदेशीसरह करारमा नियुक्त गर्नुपर्ने माग राखेका छन् । यसो गर्दा पाइलटले सरकारलाई बुझाउनुपर्ने कर दायित्वबाट उनीहरु उम्कनेछन् ।

‘विदेशी पाइलट करारमा आउँछन्, मासिक औसत १५/१६ लाख बुझ्छन्, हामीले कमाउने औसत ५ लाखमा समेत कर काट्दा कसरी चल्न सकिन्छ ?’, ज्ञापनपत्रमा हस्ताक्षर गर्ने मध्येका एक वरिष्ठ पाइलटले भने ।

नेपालकै निजी कम्पनीले समेत निकै राम्रो तलवमा पाइलट राखिरहेको भन्दै उनले नेपाल एयरलाइन्सको तलव निकै कम भएको उल्लेख गरे । पाइटलहरुले आफ्नो आयकरबापत दाखिला हुने बराबरको रकम कम्पनीले नै तिर्ने व्यवस्था गर्न माग गरेका छन् । आय करको व्यवस्थापनमा पहलका लागि घच्घच्याउन यस्तो पत्र बुझाइएको समेत उनले स्पष्ट पारे ।

‘कम्तिमा पाइलटको कर कम्पनीले चुक्ता गरिदिने र हामीलाई तोकिए बमोजिमको सुविधा खातामा आउने व्यवस्थाको पहल त व्यवस्थापनले गर्न सक्छ, ती पाइलटले भने ।

कति कमाउँछन् पाइलट ?

नेपाल वायुसेवा निगममा स्थायी नियुक्ति पाएका पाइलटले औसतः मासिक ५ लाख हाराहारी आम्दानी गर्छन् । त्यसमा सरकारले कानून अनुसार आयकर काट्छ ।

विदेशी पाइलटले भने औसतः १५ लाख हाराहारी कमाउँछन् । तर, स्वदेशी पाइलट उत्पादन गर्न नेपाल एयरलाइन्स आफैले लगानी गरेर तालिममा पठाएको हुन्छ ।

विदेशी भने आफ्नै लगानीमा पढेर त्यहाँ दक्ष भइसकेपछि मात्र नेपाल आएका हुन्छन् । नेपालको निजी क्षेत्रले लैजाने पाइलटसमेत निगमले दक्ष बनाएका पाइलटलाई पर्याप्त पैसा तिर्न तयार हुन्छन् । किनकी उनीहरुले पाइलट उत्पादनमा थप लगानी गर्नु पर्दैन । तर, निगमले पाइलट उत्पादनमै ठूलो धनराशी खर्च गर्नुपर्छ ।

यसअघिदेखि नै निगमका पाइलट निजी कम्पनीले तान्ने गरेका छन् ।

निगममा स्वदेशी पाइलटको तुलनामा विदेशीले तेब्बरसम्म सेवा सुविधा प्राप्त गर्छन् । यसो हुनुमा भने विदेशी पाइलटले गर्ने बार्गेनिङ मुख्य कारण हो । यसलाई निगमका अधिकारीहरु भने स्वाभाविक ठान्छन् ।

‘हामीले कुनै पाइलटलाई नेवानीको जहाज उडाउन आइदिनुस् भनेर पाइलटसम्म पुग्दा उसले अरु वायुसेवाको जहाज उडाइरहेको हुन्छ,’ निगमका एक अधिकारीले भने, ‘उसले त्यहा खाइपाई खाएको भन्दा बढी नदिएसम्म हाम्रो सेवा गर्न त कोही पनि आउँदैन ।’

स्वदेशी पाइलटको सेवा सुविधा बढाउन खोज्दा अर्थ मन्त्रालय, विभागीय मन्त्रालय, संचारमाध्यमदेखि सबै स्थानबाट विरोध हुने जोखिम निगममा उत्तिकै रहेको उनले उल्लेख गरे ।

निगमले तलब बढाउन नसक्दा निजी क्षेत्रको हिमालय एयरलाइन्सले औसतः १२-१४ लाख मासिकसम्म तिर्ने गरी पाइलट लैजाने गरेको छ ।

स्वदेशी पाइलटको बर्चस्व

नेपाल एयरलाइन्सको तथ्यांक अनुसार ए३२० न्यारोबडी जहाज उडाउन २ जना विदेशी पाइलट रहेका छन् । २ न्यारोबडी जहाज उडाउने गरी कूल ३४ जना -२१ क्याप्टेन र १३ को-पाइलट छन् ।

त्यसमध्ये दुई विदेशी हुन् । ए३३० वाइडबडी उडाउने पाइलट भने १३ जना विदेशी छन् । वाइडबडी उडाउन ४ जना नेपाली पाइलट तयार भइसकेका छन् भने १३ जना विदेशीले उडाइरहेका छन् ।

को-पाइलट भने ११ जना रहेका छन्, उनीहरु सबै नेपाली हुन् । एउटा जहाज उडाइरहेको पाइलटले निश्चित कोर्षको तालिम र निश्चित घण्टा प्रशिक्षण पाइलटका साथमा नउडेसम्म ऊ अर्को सिरिजको जहाज चलाउन योग्य हुँदैन ।

किनकी पाइलटको लाइसेन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणसहित अन्तर्राष्ट्रिय निकायले समेत नियमन गरिरहेका हुन्छन् ।

कति पाइलट चाहिन्छ ?

नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रिय गन्तब्यमा उडाउने गरी ४ वटा जहाज उपलब्ध छन् । नेपाल एयरलाइन्सको तथ्यांकअनुसार अहिले भइरहेका गन्तब्यमा जहाज उडाउन ए-३२० जहाजका लागि १६ सेट चालक (१६ क्याप्टेन र १६ कोपाइलट) आवश्यक पर्छ ।

ए३३० जहाज उडाउन भने ए-३३० जहाजका लागि १८ सेट चालक (१८ पाइलट र १८ को-पाइलट) आवश्यक पर्छ । निगमले निकट भविश्यमा चीन र जापानको नारितामा उडान विस्तार गर्दैछ ।

त्यसकारण ए ३३० मा भने अझै बढी जनशक्तिको आवश्यकता पर्छ । ए ३२० जहाजमा पाइलटको संख्या धेरै भएका कारण केही पाइलटलाई ए-३३० मा पठाउने तयारी नेपाल एयरलाइन्सले गरेको छ । त्यसका लागि पनि पाइलटलाई फेरी तालिममा पठाउनुपर्छ ।

अर्थलाई सोधिँदै

अपरेशन विभाग प्रमुख ज्वार्चनका अनुसार शुक्रबार तीन जना पाइलटले भने अर्थसँग सम्बन्धित विषयलाई अतिरञ्जित गरिएको भन्दै ज्ञापनपत्रबाट आफ्नो नाम फिर्ता लिएको पत्र व्यवस्थापनमा बुझाएका छन् ।

नेपाल एयरलाइन्स कार्यकारी अध्यक्षको राजीनामा पछि नेतृत्वबिहीन रहेको छ । नायव महाप्रवन्धक नेतृत्वमा शुक्रबार बसेको बैठकले पाइलटको माग केवल निगमको आन्तरिक निर्णयले मात्र पुरा गर्न नसकिने भएकाले अर्थ मन्त्रालयसँग समेत राय लिनुपर्ने निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment