Comments Add Comment

दबाई बदल्ने कि दिनचर्या

तपाईं कतिबजे उठ्नुहुन्छ ?

६, ७ वा ८ बजे । अर्थात झलमल्ल घाम लागिसकेपछि । वा घाम छिप्पिदै गर्दा ।

उठ्नसाथ के गर्नुहुन्छ ? शौच क्रिया ? सरसफाई ? व्यायाम ? योग वा ध्यान ? संभवत तपाईंले ‘त्यस्तो केही गरिदैन’ भन्ने भावमा टाउको हल्लाउनुहुन्छ । बरु उठेर चिया पिउनुहुन्छ । चुरोट सल्काउनुहुन्छ । कुर्सीमा उपरखुट्टी लगाएर पत्रिका पढ्नुहुन्छ । वा फेसबुक चलाउनुहुन्छ ।

खाना कतिबेला खानुहुन्छ ? खाना कस्तो हुन्छ ?

यसमा पनि तपाईंको जवाफ फटाफट नआउन सक्छ । किनभने कामको व्यस्तता, हतारोले तपाईंलाई खाने फुर्सद नहुँदो हो । खाने टुंगो नहुँदो हो ।

साँझ कतिबेला घर र्फकनुहुन्छ ? कतिबेला सुत्नुहुन्छ ?

सायद राती अबेर घर र्फकनुहुन्छ । त्यसको पनि निश्चित टुंगो नहुन सक्छ । साथीभाईसँग जमघट गर्न सकिन्छ । कतै भेटघाट रमाइलो गर्न सकिन्छ । सुत्ने कुरा त निश्चित हुने नै भएन ।

यस किसिमको अस्तव्यस्त दिनचर्याले हो, हामीलाई दबाई खानुपर्ने अवस्थामा पुर्‍याएको । हाम्रा दैनिकी सन्तुलित छैनन् । हाम्रा दिनचर्या अनुशासित छैनन् । हामी शरीरको आवश्यक्ता अनुसार न काम गर्छौं, न खान्छौं, न विश्राम गर्छौं ।

शरीरलाई भन्दा आफ्नो मर्जीलाई सर्वोपरी ठान्छौ । यसैले त हामीलाई शरीरले धोका दिन्छ । शरीरले दुःख दिन्छ ।

बिहान सूर्योदयअघि उठ्ने । शौच क्रिया गर्ने । सरसफाई गर्ने । योग, ध्यान, व्यायाम गर्ने । ताजा वा पोषिलो नास्ता खाने । दिनभर सक्रिय रहने । सकारात्मक रहने । खुसी रहने । पर्याप्त पानी पिउने । राती सही समयमा घर र्फकने । सही समयमा ओछ्यानमा पुग्ने । विश्राम गर्ने । बस् । यति गरेपछि दबाई खानुपर्ने अवस्था नै आउँदैन । तर, एउटा दिन पनि हामी यति सन्तुलित र अनुशासित ढंगले किन विताउन सक्दैनौ ?

हामीले कुनैपनि रोगबाट उम्कन वा मुक्त हुनका लागि जसरी दबाईलाई भरपर्दो खुराक ठान्छौ, त्यो सही होइन । वास्तवमा दबाई नखाई अरु नै प्राकृतिक विधी अपनाउनु राम्रो हो । अझ त्यो भन्दा राम्रो त , दबाई खाने अवस्था आउनै नदिनु हो । तर, कसरी ? के दबाई सेवन नगरी हामी निरोगी हुन सक्छौ ?

हाम्रा पितापूर्खाले दबाई खाएनन् । अस्पताल धाएनन् । उपचार गराएनन् । शल्यक्रिया गरेनन् । यद्यपी उनीहरु निरोगी थिए । लामो आयु बाँचे । बलियो थिए । अहिलेपनि गाउँघरतिर सुनिन्छ, कति बुढापाकाले कहिल्यै दबाई खाएनन् । अस्पतालको आँगन कहिल्यै टेकेनन् । डाक्टरलाई कहिल्यै भेटेनन् ।

हुन त त्यो जमना पनि फरक थियो । अहिले जस्तो प्रदूषण, विषादी, कृतिमता थिएन । पर्यावरण शुद्ध थियो । खानेकुरा शुद्ध थिए । साथसाथै जीवनशैली एवं रहनसहन पनि प्राकृतिक थियो । कृतिमता थिएन । उनीहरुले चाउचाउ वा प्याकेटबन्द खानेकुराले भोक टारेनन् । मःमः चाउमिन, पिज्जा, बर्गरले पेट भरेनन् । मोजमस्ती, ऐशआरममा जीवन कटाएनन् । हरवखत शारीरिक श्रम गरे । आफ्नै हातले उब्जानी गरेका खाए । आफैले पकाएर खाए । त्यही कारण उनीहरुले जीवन शान्तसाथ विताए । ऐयाअत्था गर्नुपरेन ।

अतः हामीले पनि उनीहरुबाट केही सिक्न सक्छौ । किनभने स्वास्थ्य रहने एवं निरोगी रहने उपाय भनेको दबाई खानु होइन् । अस्पतालको भर पर्नु होइन । बरु, आफ्नै दिनचर्या सन्तुलित र सही राख्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment