Comments Add Comment

गसिपको केन्द्रमा पूजा र आकाशको जोडी

चलचित्र ‘रामकहानी’ बनाउँदै गर्दा निर्देशक सुदर्शन थापाको मोबाइलमा नायक आकाश श्रेष्ठको तस्वीर थियो । सुदर्शन र यसकी अर्की निर्मात्री पूजा शर्माले आकाशको तस्वीर मन पराएपछि उनलाई चलचित्रमा लिएका थिए । सो समयमा आकाशले चलचित्र ‘म त तिम्रै हुँ’बाट डेब्यू त गरेका थिए, तर उनी चल्न सकेका थिएनन् । सुदर्शन थापाको क्याम्पमा प्रवेश गर्नु उनका लागि सुखद थियो ।

तर, चलचित्र रिलिज हुँदै गर्दा दर्शकले आकाश र पूजाको जोडीलाई रुचाए । पर्दामा मात्र होइन, पर्दा बाहिर पनि आकाश र पूजाको जोडीलाई दर्शकले विशेष चाँसो देखाए । पूजाका फ्यानहरु आकाशसँग जोडिए । सामाजिक संजालमा ‘पूजा–आकाश फ्यान क्लब’को नाममा थुप्रै एकाउन्टहरु खुले ।

सुदर्शनले नै पूजा र आकाशलाई लिएर अर्को चलचित्रको घोषणा गरे, ‘सम्हालिन्छ कहिले मन’ । यो चलचित्र निर्माण हुने चर्चा चल्दै गर्दा आकाशले चलचित्र ‘वीर विक्रम २’मा काम गर्ने पक्का भएको थियो । तर, आकाशले चलचित्रको घोषणा भएपछि मिलन चाम्सको ‘वीर विक्रम २’ छाडे र यसको केही समयपछि उनी चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा जोडिए ।

चलचित्र बजारमा यसपछि पूजा र आकाशको बिषयमा थुप्रै गसिपहरु आउन थालिसकेका थिए । पूजा र आकाश गहिरो प्रेममा रहेको चर्चा ‘सम्हालिन्छ कहिले मन’को बेलायतमा छायांकन चल्दै गर्दा सुरु भयो ।
बेलायतमा करिब २ महिना बसेर नेपाल आएपछि पूजा र आकाशले चलचित्र ‘पोई पर्यो काले’ साइन गरे । यो चलचित्रले बक्स अफिसमा राम्रै कमाई गरेपछि पूजा र आकाशको जोडीलाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या बढ्यो । पूजा र आकाशले यसपछि ‘संझना विर्सना’मा काम गरिसकेका छन् ।

यो जोडी अब ‘मन परेसी, पर्खी बसे २’मा काम गर्न तयार छ । काम गराइको प्रकृती हेर्दा आकाशले पूजा बाहेक अरुसँग पर्दा शेयर नै गर्न नचाहेको देखिन्छ । अर्कोतिर, चलचित्र बनाउनेले पनि पूजा र आकाशलाई नै एकसाथ अफर गरेको देखिएको छ ।

पूजा र आकाशले एकसाथ चलचित्रमा काम गर्दा दुइले राम्रै आम्दानी पनि गरिरहेका छन् ।

गसिपको घेरामा पूजा र आकाश
केही समय अगाडि निर्माता सुमित मैनालीले संचालनमा ल्याएको ‘लुक्स सैलुन’को उद्घाटन गर्न आकाश र पूजा पुगेका थिए । तर, मिडियामा यी दुइको नाम जोडेर थुप्रै हेडलाइन्स बन्दा लुक्स सैलुनको समाचार नै छायामा पर्यो ।

‘कामना फिल्म अवार्ड’मा पूजा एक्लै पुग्दा आकाश किन आएनन्, आकाश र पूजाको सम्बन्ध विग्रियो जस्ता खबरले प्राथमिकता पाए । युटुबमा हेर्ने हो भने पूजा र आकाशको सम्बन्धलाई लिएर हजारौ हेडलाइन्स बनेका छन् ।

चलचित्र बजारमा यसअघि यस्तै चर्चा नायक पल शाह र नायिका आँचल शर्माको जोडीको पनि थियो । आँप जोडीको रुपमा पल र आँचललाई दर्शकले चिन्थे । तर, अहिले यो जोडी अलग धु्रवमा छ । प्रेम सम्बन्धबाट अलग भएको यो जोडीले एकसाथ काम पनि गरेको पाइदैन ।

पूजा र आकाश गहिरो प्रेम सम्बन्धमा रहेको चर्चा चलचित्र बजारमा चलेपनि यी दुई भने प्रेमको बिषयमा बोल्न चाहँदैनन् । बरु, दुबैले आफूहरुलाई नजिकको साथी भन्ने गरेका छन् ।
तर, पूजा र आकाशले एक अर्कालाई गर्ने व्यवहार र केयरिङलाई हेर्दा उनीहरुको सम्बन्ध साथीको भन्दा माथि रहेको वुझ्न सकिन्छ ।

चलचित्र क्षेत्रमा निकै कम मात्र जोडी छन्, जसलाई दर्शकले वास्तविक जीवनमा नै हेर्न चाहेका छन् । आकाश र पूजा यस्तै एक जोडीको रुपमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment