
१२ माघ, पोखरा । बैंकिङ कसुरमा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ ।
मिलनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार उच्च अदालत पोखराका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुभास पौडेलको संयुक्त इजलासले प्रहरीलाई अनुमति दिएको हो ।
खातामा पैसा नदिएको चेक दिएको भन्दै मिलनविरुद्ध किटानी जाहेरी परेपछि शुक्रबार पक्राउ परेका थिए । मुख्यमन्त्री कपमा खेलाडीका लागि आवास तथा मैदान व्यवस्थापन नगरेको भन्दै सांसद राजीव गुरुङले मंगलबार मिलनलाई झापडसमेत हानेका थिए ।
राजीवबिरुद्ध जाहेरी दिएपछि मिलनविरुद्ध पनि बैंकिङ कसुर गरेको भन्दै जाहेरी परेको थियो ।
मिलनले बुधबार राजीवविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसको भोलिपल्ट बिहीबार राजीव पक्राउ परेपछि मिलनका विरुद्ध पनि जाहेरी परेको थियो । मिलन शुक्रबार पक्राउ परेका हुन् ।
हरिभक्त आचार्यले मिलनविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहीबार बेलुका जाहेरी दिए । आचार्यले ओम गौरा जोस्टेल होटेलमा गएको भदौमा ३४ जनालाई मीलनको जिम्मामा खाने र बस्ने व्यवस्था मिलाएका थिए । साफ यु-१८ च्याम्पियनसिपका बेला तयारी टोली आचार्यको होटलमा बसेको थियो ।
मिलनले २ लाख रुपैयाँको चेक दिए पनि अहिलेसम्म नसाटिएको आचार्यले जाहेरीमा उल्लेख गरेका छन् । बक्यौता रकम मागेपछि केही दिनअघि मिलनले पोखरा क्रियटिभ हाउसका सञ्चालकमाथि पनि हातपात गरेका थिए ।
बैंकिङ कसुर अनुसार चेकमा उल्लेख भएको रकम पीडितलाई दिलाउने र ३ महिना जेल सजाय हुन सक्छ । बैंकिङ कसुर मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया 4