Comments Add Comment

नेकपामा अग्नि सापकोटाको राजीनामापछि शिवमाया केन्द्रीय सदस्य बन्ने

केन्द्रीय बैठकको तयारीका लागि सचिवालय बस्दै

१४ माघ, काठमाडौं । पार्टी एकीकरणको डेढ वर्षपछि पहिलोपटक बस्न लागेको नेकपा केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले नेतृत्वको चर्को आलोचना गर्ने देखिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड साझा धारणाका साथ प्रस्तुत हुने तयारीमा छन् ।

स्थायी कमिटी बैठकमा सहभागी नभएका अध्यक्ष तथा प्रधानमन्त्री ओली बुधबारबाट सुरु हुने बैठकमा भने उपस्थित हुँदैछन् । बैठकको सुरुमै प्रधानमन्त्रीले केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्ने कार्यसूची छ । दुवै अध्यक्षका तर्फबाट अर्का अध्यक्ष प्रचण्डले स्थायी कमिटीबाट परिमार्जनसहित पारित भएको राजनीतिक प्रतिवेदन तयार पार्दैछन् ।

केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा अन्य तयारीका लागि मंगलबार अपरान्ह सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकले अध्यक्षहरुको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको सांगठानिक कार्ययोजना पारित गरेर केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने नेकपा स्रोतले जनाएको छ ।

४४५ सदस्यीय केन्द्रीय कमिटीको बैठक राष्ट्रिय सभागृहमा बस्ने प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । उनले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफल समूहगत रुपमा हुने बताए । त्यसका लागि निश्चित संख्या तोकेर केन्द्रीय सदस्यहरुको समूह बनाइने र समूहगत छलफलका निष्कर्ष र सुझाव एकजनाले बैठकमा प्रस्तुत गर्ने विधि अपनाइने भएको छ ।

कतिजनाको समूह बनाउने भन्ने तय भइसकेको छैन । सचिवालय बैठकपछि महासचिव विष्णु पौडेलले अध्यक्षहरुसँग परामर्श गरेर समूहगत विभाजनको खाका बनाउने बताइएको छ । कतिपय केन्द्रीय सदस्यहरुले भने बैठकमै ‘नियमापत्ति’का रुपमा जरुरी विषयमा नेतृत्वको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

पार्टीमा छलफल र बहसहरु हुन छाडेको, बैठकहरु नराखिएको र केही नेताले पार्टीका नाममा निर्णय लाद्ने प्रवृत्तिविरुद्ध केन्द्रीय सदस्यहरुले मोर्चाबन्दी गर्न थालेका छन् ।

केन्द्रीय कमिटी बैठकपछि पार्टीले विशेष अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको छ ।

यसैबीच उपसभामुखबाट राजिनामा दिएपछि पुनः पार्टी काममा फर्किएकी शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय कमिटीमा पुनस्र्थापित गरिने सम्भावना रहेको नेताहरु बताउँछन् ।

तत्कालीन एमालेको निर्वाचित केन्द्रीय सदस्य रहेकी तुम्बाहाङ्फे उपसभामुख निर्वाचित भएपछि पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी थिइन् । सभामुख अग्निप्रसाद सापकोटाले सम्भवतः आजभोलिमै पार्टीको जिम्मेवारीबाट राजीनामा दिनेछन् ।

रिक्त रहेको केन्द्रीय सदस्य पदमा तुम्बाहाङ्फेलाई पुनस्र्थापित गर्नेबारे नेताहरुबीच छलफल हुने नेकपा स्रोतले जनाएको छ ।

तर, नेकपाको केन्द्रीय समितिमा करिब आधा दर्जन पदहरु रिक्त रहेकाले ती सबैमा एकसाथ पदपूर्ति गरिने स्रोतले बतायो । रिक्त पदहरु पूर्तिका लागि यसअघि अध्यक्ष ओलीले ल्याएका नामहरुमा अर्को पक्षले समर्थन नर्दा पारित हुन सकेको थिएन ।

तत्कालीन एमाले र माओवादीबीच एकीकरणपछि निर्वाचन आयोगमा पार्टी दर्ताका लागि माइन्युटमा केन्द्रीय सदस्यहरुको हस्ताक्षरको औपचारिक प्रयोजनका लागि भएको बैठकपछि नेकपा केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । प्रत्येक ६ महिनामा बस्ने बैधानिक व्यवस्था भएपनि नेकपा बैठक करीव डेढ वर्षदेखि बसेको छैन ।

पार्टीका बैठकहरु नराखिएपछि नेताहरुले आफ्ना धारणा मिडिया र सोसल मिडियामा व्यक्त गर्नुपर्ने अवस्था आएको र त्यसले पार्टी अनुशासनमा गम्भीर समस्या ल्याएको अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले बताए । बैठकहरु नियमित राख्ने हो भने सडकमा पार्टीका आन्तरिक कुरा छरपस्ट नहुने उनको भनाइ छ ।

एमसीसीबारे अनौपचारिक छलफल हुने

बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा अमेरिकी सहयोग परियोजना एमसीसीका सन्दर्भमा स्थायी कमिटीले दिएको सुझावसमेत समेटेर केन्द्रीय कमिटीमा छलफल गराउन लागिएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

एमसीसी पारित गर्ने विकल्पमा रुपमा सरकारले संसदबाट नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने संकल्प प्रस्ताव पास गर्ने तयारी गरिसकेको छ ।

यद्यपि एमसीसीलाई बैठकमा बेग्लै एजेण्डाका रुपमा प्रस्तुत नगरी केन्द्रीय सदस्यहरुको राय मात्र लिने तयारी भइरहेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment