Comments Add Comment

अझै पक्राउ परेनन् बचतकर्ताको ८ करोड लिएर भागेका सहकारी सञ्चालक

१३ माघ, वीरगञ्ज । पर्साको छपकैयाँकी खैरुन नेसा बिहान चिया बेच्ने र दिउँसो कवाडीमा काम गर्ने गर्छिन् । बिहान बेलुकीको छाक टारेपछि बचेको पैसा सहकारीमा बचत गर्थिन् । बचत ४ वटा छोरीको विवाहमा काम लाग्छ भन्ने उनलाई लाग्थ्यो ।

तर प्राइम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक २४ चैत ०७५ मा भागेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । दुःखका साथ जोडेको ७२ हजार रुपैयाँ फिर्ता दिलाई पाऊँ भनेर प्रहरी प्रशासन धाउँदाधाउँदा उनी हैरान भैसकेकी छन् । भन्छिन्, ‘न कसैले सञ्चालक खोजिदिन्छन्, न कसैले पैसा फिर्ता दिन्छ । काम छोडेर सधैं प्रहरी प्रशासन धाउन पनि सकिँदैन ।’

यो पनि पढ्नुस्–८ करोड लिएर सहकारी सञ्चालक फरार, प्रशासनसँग वचतकर्ताको गुहार

वीरगञ्जकी अदिना खातुनको पीडा पनि उस्तै छ । श्रीमान ठेला चलाउँछन्, उनी कवाडीको काम गर्छन् । दुवै मिलेर सहकारीमा बचत गर्न थाले । त्यो रकम १ लाख ६० हजार रुपैयाँ पुगिसकेको थियो । तर सहकारी सञ्चालक फरार भए ।

सहकारीका सञ्चालक राजेश पटेल र उनकी श्रीमती रिताकुमारी पोखरेलले आफ्नो डेढ करोड लिएर भागेको वीरगञ्ज-४ का देव नारायण भँडेल बताउँछन् । ‘पानी ट्याङकीमा मेरै घर भाडामा लिएर होटल चलाउँदै आएका थिए । सिमराको जग्गा बेचेर पैसा आएको थाहा थियो,’ उनले भने, ‘सहकारीको मुद्धती खातामा जम्मा गर्नुस्, दुई वर्षमा घर किन्ने पैसा हुन्छ भन्ने लोभ देखाएर जम्मा गर्न लगायो ।’

प्रहरी प्रशासनबाट न्याय नपाएको गुनासो

खैरुन नेसा, अदिना खातुन र देव नारायण भँडेल जस्तै धेरै पीडित छन्, नो सहकारीमा पैसा राख्दा ठगिए ।

मुद्धतीमा राखिएको रकम कसैलाई चार त कसैलाई पाँच वर्षमा दोब्बर हुन्छ भनिएको थियो । महाविर ठाकुरले बजार प्रतिनिधि हुँ भन्दै सर्वसाधरणबाट रकम संकलन गर्ने गरेका थिए ।

बचतकर्तालाई मात्रै होइन, सहकारीबाट ऋण लिएकाहरु पनि ठगिएका छन् । इनर्वाभठ्ठाका राजदेव राउत अहिरले कित्ता नं ५९३ को २ कठ्ठा जमिन प्राइम बचतमा बन्धक राखेर २५ लाख रुपैयाँ लिएका थिए । सहकारीले त्यही जग्गा राष्ट्रिय सहकारी बैंकमा राखेर ४५ लाख ऋण स्वीकृत गराएको रहेछ । अहिले सहकारी सञ्चालक राजेश कुमार पटेलसहित सबै पदाधिकारी भागेपछि बचतकर्ता र ऋणी सबैको बिजोक भएको छ ।

१ सय जनाभन्दा बढी बचतकर्ताले उजुरी दिएका छन् । तर ११ महिनासम्म एक जना पनि पक्राउ पर्न सकेका छैनन् । आफूहरु प्रहरी प्रशासन धाउँदाधाउँदै हैरान भइसकेको उनीहरु बताउँछन् ।

त्यसमाथि मुद्धाको प्रगति बुझ्न जाँदा प्रहरी अधिकृतहरुले उल्टै अपराधी जस्तो व्यवहार गरिराखेको उनीहरुको गुनासो छ । मंगलबार पत्रकार सम्मेलन गर्दै सहकारीबाट गठिएकाहरुले प्रहरीले हाम्रो अरु काम छैन र ? भन्दै हकार्ने गरेको सुनाए । उमेशकुमार कुशवाह भन्छन्, ‘कि त यस्ता सहकारी खुल्नै दिनुभएन ? खोल्न दिएपछि कुनैनकुनै निकायले त दायित्व लिनुपर्छ नि ?’

यो पनि पढ्नुस्–प्राइमको ताल्चा खोलेर अनुसन्धान सुरु

सहकारी सञ्चालकहरु भागेपछि जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले बन्द रहेको सहकारीमा ताल्चा लगाएको थियो ।

२९ जेठ ०७६ मा प्रहरी प्रशासनको टोलीले ताल्चा खोलेर कागजपत्र अध्ययन गर्दै अनुसन्धान शुरु गरेको थियो । त्यससमय अनुसन्धानमा खटिएका अधिकारीहरु सरुवा भएर अन्यत्र गइसकेका छन् ।

यद्यपि जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले भने प्रशासनले पीडितको गुनासो नसुनेको भन्ने कुरामा सत्यता नभएको बताए । पीडितको समस्या समाधानका लागि प्रशासनले सक्दो सहयोग गर्नेमा ढुक्क हुन उनले आग्रह गरे ।

‘म आएको पाँच महिना भयो, कुनै पनि पीडित गुनासो लिएर आउनुभएको छैन,’ बस्नेतले भने, ‘यसअघि के-के प्रक्रिया अघि बढेको हो ? बुझेर कानुन बमोजिमको प्रक्रियामा सघाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment