Comments Add Comment

‘ए’ डिभिजन लिगमा मनाङ र संकटा भिड्दै

१५ माघ, काठमाडौं । मनाङ मर्स्याङ्दी गत वर्षको लिग च्याम्पियन टिम हो । अनि संकटा क्लब मनाङभन्दा पछि रहँदै उपविजेता बनेको थियो । गत वर्ष मनाङले लगातार १२ खेल जित्दै लिग उपाधि पक्का गरे पनि अन्तिम खेलमा हार व्यहोरेको थियो । संकटाले पनि लिगमा उत्कृष्ट प्रदर्शन गरेको थियो।

यस पटक मनाङले उपाधि रक्षा गर्ने अभियानलाई कायम राख्दै आठौं चरणसम्म अपराजित रहने एक्लो टोली बनेको छ । संकटाले भने गत सिजनजस्तो प्रदर्शन देखाउन सकेको छैन ।

यही दुई टिम लिगमा आज भिड्दैछन् । आज हुने एकमात्र खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हनेछ ।

मनाङको लागि दोस्रो स्थानमा उक्लने अवसर पनि छ । ८ खेलबाट १६ अंकसहित मनाङ तेस्रो स्थानमा छ। ९ खेलबाट २० अंकसहित आर्मी पहिलो र समान खेलबाट १९ अंक जोड्दै मछिन्द्र दोस्रोमा छ ।

मनाङले यी दुवै क्लबसँग खेलिसकेको छ । यस्तै अर्को उपाधि दाबेदार मानिएको थ्री स्टारसँग पनि खेलिसकेको छ । मनाङले ८ मध्ये ४ खेल जित्दा ४ खेलमा बराबरी खेलेको थियो ।

उता, ८ खेलबाट १२ अंकसहित संकटा सातौं स्थानमा छ। मनाङलाई पराजित गर्ने सके संकटा पनि चौथो स्थानमा उक्लनेछ । गत वर्ष दोस्रो भएकाले यस सिजन पनि दोस्रो नै हुने लक्ष्य रहेको संकटाका प्रशिक्षक विजय महर्जनले पहिलो खेलपछि बताएका थिए । पहिलो खेलमा संकटा च्यासलसँग २–० ले पराजित भएको थियो । संकटाले ८ मध्ये ३ खेल जित्दा ३ बराबरी खेलेको थियो भने दुई खेलमा हार व्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment