Comments Add Comment

जाडो भगाउन साउना जाँदै हुनुहुन्छ ? गुम्सिएर ज्यान जाला !

स्पा सञ्चालक भन्छन्– धेरै पसिना निकाल्न खोज्दा जोखिम हुन्छ

१६ माघ, काठमाडौं । उपत्यकामा आजभोलि जताततै स्पा एवं साउनासहितका हेल्थ क्लबहरु खुलेका छन् । होटलबाट सुरु भएको साउना संस्कृति झाँगिँदै गर्दा बिहीबार ललितपुरमा साउनाभित्रै एक जोडीले ज्यान गुमाउनुपर्‍यो

साउनाभित्र नाङ्गै बसेर जाडो भगाउने र रिफ्रेस हुने उद्देश्यले पुगेका श्रीमान–श्रीमती दुबैले गुम्सिलो तातो कोठाभित्रै ज्यान गुमाएका हुन् ।

ललितपुर महानगरपालिका–१४ मा ‘फिट एन्ड फाइन’ जिमखानामा रहेको साउनाभित्र हस्त गर्बुजा मगर र उनकी श्रीमती नेत्रकुमारी मृत भेटिएका हुन् ।

‘धेरै पसिना निकाल्छु भनेर जति गाह्रो भए पनि लगातार कोठाभित्र बसिरह्यो भने जोखिम हुन्छ,’ ठमेलको माउन्ट हेभन स्पा प्रालिका सञ्चालक सूर्य श्रेष्ठ  भन्छन्, ‘बेला–बेलामा बाहिर निस्कने र भित्र जाने गर्नुपर्छ ।’

कोठाभित्र निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यद्यपि, मृत्युको वास्तविक कारण भने पाटन अस्पतालले पोष्टमार्टम रिपोर्ट दिएपछि मात्र खुल्नेछ ।

यो घटनाले केही माघ ७ गते दामनमा होटलभित्रै हिटरका कारण निस्सासिएर पर्यटकको मृत्यु भएको घटनालाई स्मरण गराएको छ । प्रहरीका अनुसार दामनको र ललितपुरका घटना एकै किसिमका कारणबाट उत्पन्न भएका हुन् ।

प्रहरी भन्छ– अनुसन्धान गर्दैछौं

कोठाभित्र बाफ लिने क्रममा पर्याप्त अक्सिजनको कमी भएका कारण नै यस्तो दुखद् घटना भएको अनुमान छ । लामो समय साउनाको कोठाबाट ननिस्कएपछि प्रहरीले ढोका फोडेर उनीहरुलाई अचेत अवस्थामा निकालेर पाटन अस्पताल पु¥याएको थियो ।

महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी टेकप्रसाद राई भन्छन्, ‘साउनाभित्र दम्पत्तिको मृत्यु भएपछि सञ्चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

प्रहरी स्रोतका अनुसार दम्पतिले कोठाभित्र रहँदा चुकुल लगाएका थिए । समान्यतया नेपालमा साउना बस्दा चुकुल लगाइँदैन । साथै महिला र पुरुषहरुका लागि बेग्लाबेग्लै कोठाहरुको व्यवस्था गरिने प्रचलन छ र एउटा कोठामा सामुहिक रुपमा मानिसहरुले बाफ लिने प्रचलन छ । अधिकांश क्लबहरुमा पुरुष र महिलाका लागि छुट्टा–छुट्टै कोठाको प्रवन्ध गरिएको हुन्छ । तर, ललितपुरको जिमखानामा भने दम्पत्तिलाई एकै कोठामा प्रवेश दिइएको थियो ।

‘ब्लड प्रेसर हुनेले विचार पुर्‍याउनुपर्छ’

ठमेलको माउन्ट हेभन स्पा प्रालिका सञ्चालक सूर्य श्रेष्ठ ग्राहकले साउनाको प्रयोग गर्न नजान्दा पनि यस्ता घटना हुन सक्ने बताउँछन् ।

‘धेरै पसिना निकाल्छु भनेर जति गाह्रो भए पनि लगातार कोठाभित्र बसिरह्यो भने जोखिम हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘बेला–बेलामा बाहिर निस्कने र भित्र जाने गर्नुपर्छ ।’

ब्लड प्रेसरका बिरामीले यस्ता कुरामा झनै सचेत हुनुपर्ने श्रेष्ठ बताउँछन् । उच्च रक्तचापका बिरामीले जबरजस्ती गाह्रो भइन्जेल साउनाभित्र बस्न नहुने श्रेष्ठको सुझाव छ ।

‘प्रयोग गर्न जानियो भने यसले स्वास्थ्यलाई राम्रो लाभ गर्छ,’ उनी भन्छन्, ‘साउनामा बसेपछि त्यसलाई सहीसँग उपयोग गर्न जान्नुपर्छ ।’

श्रेष्ठ अगाडि भन्छन्– नयाँ ग्राहक छन् भने उनीहरुलाई क्लबहरुले पनि सिकाउनुपर्छ ।’

सरकारसँग न मापदण्ड छ, न नियामक निकाय

नेपालका प्रायः ठूला होटल र क्लबहरुले महिला र पुरुषका लागि एउटै कोठा प्रयोग गराउँदैनन् । कोठामा जानुअघि त्यहाँको प्रविधि, जोखिम र तरिकाहरुबारे राम्रोसँग जानकारी दिने व्यवस्था पनि हुन्छ ।

आकर्षक कमाइ हुने देखेपछि न्युनतम् पूर्वाधार पनि तयार नगरी दर्जनौं क्लबहरु सञ्चालनमा छन् । तर, राज्यले उनीहरुलाई खुल्लै छाड्दा स्वास्थ्यलाभ गर्न क्लब पुग्नेहरुले कतिबेला ज्यानै फाल्नुपर्ने हो, टुंगो छैन ।

साउना क्लबमा बाफ लिने कक्षहरु बनाउँदा वैज्ञानिक पक्षहरुलाई निकै विचार पुर्‍याउनुपर्छ । बाहिरबाट पर्याप्त अक्सिजन आपूर्ति हुने गरी प्वालहरु राख्नुपर्छ । नयाँ ग्राहक छन् भने पर्याप्त जानकारी दिएरमात्रै भित्र प्रवेश दिनुपर्छ ।

ग्राहकलाई कोठाभित्र सँगै बसेर रेखदेख गर्न नमिल्ने भए पनि उनीहरुलाई पर्न सक्ने अप्ठेरोमा क्लब हरदम सचेत हुनुपर्छ । नत्र जतिसुकै बेला दुःखद घटना हुन सक्ने क्लब सञ्चालकहरु नै बताउँछन् ।

तर, यस्ता घटना हुनुमा क्लबहरुमात्रै दोषी छैनन् । कर उठाउन माहिर सरकारले यस्तो व्यवसाय सञ्चालनको कुनै मापदण्ड बनाएको छैन ।

करिब दुई दशकअघिदेखि नेपालमा सुरु भएको यो व्यवसायमा रहेका नकारात्मक र विकृत पक्षलाई सुधार्न सरकार आँखा चिम्लिएर बसेको आरोप लगाउँछन् उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ ।

स्थानीय सरकारहरुले यस्तो पक्षलाई संवेदनशील भएर कानूनमार्फत व्यवस्थित गरेर नियमित अनुगमन गर्नुपर्ने बानियाँ बताउँछन् । यतिसम्म कि सरकारले यस्ता क्लबहरुको सञ्चालनबारे अहिलेसम्म एउटा मापदण्ड बनेको छैन । यस्ता क्लबहरुको नियमन कसले गर्ने भन्ने पनि निक्र्योल समेत भएको छैन ।

पर्यटन विभागका महानिर्देशक डुण्डीराज घिमिरे होटलबाहिर खुलेका क्लवहरुमा पर्यटन विभाग प्रवेश गर्न नसक्ने बताउँछन् । ‘होटलभित्रका पूर्वाधारको अवस्था हामी हेर्न सक्छौं, तर बाहिर खुलेका जिमखाना, हेल्थ क्लव र साउना क्लबहरुको नियमन र अनुगमन कसले गर्छ भन्ने जानकारी छैन,’ उनले भने, ‘हामी अनुगमनमा जाँदा तपाईं कुन कानूनका आधारमा आउनुभयो भनेर सोधे भने हामीले के जवाफ दिने ?’

यस्ता क्लबहरु अहिले स्थानीय तहमा व्यवसाय करका लागि दर्ता भएर सञ्चालनमा छन् । कम्पनी रजिष्ट्ररको कार्यालयबाट दर्ता भएर चलेका क्लबहरुको नियमित अनुगमन गर्ने संयन्त्र बनेकै छैन । व्यवसाय कर उठाइरहेको महानगरपालिकालाई पनि यसको नियमनमा चासो छैन ।

अहिले व्यवसायिक मलदेखि स्वास्थ्य संस्थाभित्र पनि यस्ता क्लबहरु भेटिन्छन् । यस्तो सेवामूलक व्यवसायलाई न वाणिज्य विभागले अनुगमन गर्ने गरेको छ भने स्वास्थ्य मन्त्रालय र त्यसअन्तरगतका कुनै निकायले नै ।

कानून नै नभएको भन्दै सबै सरोकारवाला निकायहरु पन्छिँदै गर्दा शहरमा धेरैको ज्यान जोखिममा पर्न थालेको छ ।

आकर्षक कमाइ हुने देखेपछि न्युनतम् पूर्वाधार पनि तयार नगरी दर्जनौं क्लबहरु सञ्चालनमा छन् । तर, राज्यले उनीहरुलाई खुल्लै छाड्दा स्वास्थ्यलाभ गर्न क्लब पुग्नेहरुले कतिबेला ज्यानै फाल्नुपर्ने हो, टुंगो छैन ।

अझ सेवामा लिइने शुल्क मनलाग्दी छ । सेवामूलक व्यवसाय नभै भए पनि सीधा मानव स्वास्थ्यसँग जोडिने विषय भएकाले सरकारी पक्षले यसलाई सधैंभरि आँखा चिम्लिन नमिल्ने बताउँछन् उपभोक्ता अधिकारकर्मी बानियाँको भनाइ छ ।

‘दमक, कलैया, भीमेश्वर, वालिङ, तासेन, वीरेन्द्रनगर र टीकापुरले स्थानीय बजार व्यस्थापन तथा अनुगमन ऐन ल्याएर यस्ता पक्षहरुमा काम गर्न थालिसके,’ उनी भन्छन्, ‘काठमाडौंकै स्थानीय तहरु वास्ता नगरी बसेका छन्, यो लापरवाही हो ।’

के हो साउना ?

साउना भनेको सल्लाको काठ जडान गरेर बनाइएको गुम्सिलो कोठामा बसेर बाफ लिने प्रविधि हो । तातो फलाम र ढुंगाहरु राखेको गुम्सो कोठामा नग्न रुपमा बसेर ६०/७० डिग्री सेल्सियसको तातो बाफ लिँदा जाडोबाट लाग्ने रोगहरुबाट मुक्त हुने र शरीर स्वस्थ हुने विश्वासले मानिसहरु क्लबमा गएर साउनामा बस्ने गर्छन् । राजधानीका विभिन्न स्टिम साउना सञ्चालकहरुले करिब एक घण्टा बसेको ३ सय देखि एक हजार रुपैयाँसम्म शुल्क लिने गर्दछन् ।

विदेशमा स्टिम र साउनाको प्रचलन शताब्दीऔंदेखि चलेको हो । विशेष गरी युरोपेली देशबाट यो प्रचलन भित्रिएको हो । अहिले संसारभर यसको प्रचलन छ । स्टिम र साउना साउना हप्तामा १–२ पटक प्रयोग गर्‍यो भने उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रण गर्न र तनाव घटाउन पद्दत पुग्छ भन्ने मान्यता छ ।

काठमाडौंमा वातावरणीय प्रदूष्णले हुने थकान मेट्न मानिसहरु स्टिम र साउनामा आधा/एक घण्टा बसेर आनन्द लिने प्रचलन बढ्दै गइरहेको छ । तातो कोठामा बसेर पसीना निकाल्दा शरीरमा भएका विकार हट्ने र छालाका प्वाल अनि नशाहरु खुलेर शरीरमा ताजगी बढ्ने प्रयोगकर्ताहरु बताउँछन् ।

स्टिम र साउना बाथ लिँदा धेरै पसिना बग्ने भएकोले कागती हालेर प्रशस्त पानी पिउने चलन छ । विज्ञहरुका अनुसार स्टिम र साउना बाथ साना बच्चाहरु, गभवर्ती महिला र छारेरोग भएका मान्छेले लिनुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment