Comments Add Comment

गुगलले ह्याकरलाई दियो ८० करोड पुरस्कार !

संसारको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलले एक वर्षमा झण्डै ८० करोड रुपैयाँ बराबरको रकम ह्याकरहरूलाई पुरस्कार दिएको छ ।

ह्याकरहरूलाई सजाय गर्नुको साटो गुगलले किन पुरस्कार दियो त ? वास्तवमा इन्टरनेटलाई सुरक्षित बनाउन सहयोग गरेको भन्दै गुगलले सन् २०१९ मा ह्याकरहरूका निम्ति ६५ लाख डलर खर्चिएको हो ।

गुगलका विभिन्न प्रडक्टहरूमा रहेका सेक्योरिटीसम्बन्धी कमजोरी तथा बगहरू पत्ता लगाइ दिएबापत गुगलले आफ्नो भल्नेरेबिलिटी रिवार्ड प्रोग्राम अर्थात् जोखिम पुरस्कार कार्यक्रमअन्तर्गत ह्याकरहरूलाई पुरस्कृत गर्दै आएको छ । ह्याकरहरूले गुगलका क्रोम ब्राउजरदेखि एन्ड्रोइडसम्मका सेवाहरूमा रहेका साइबर सुरक्षा कमजोरी तथा बगहरू पत्ता लगाइदिएर पुरस्कार जित्ने गरेका छन् । यसले गुगललाई प्रयोगकर्ताका लागि बढी सुरक्षित बनाउनका लागि सहयोग पुग्ने गरेको छ ।

गुगलले आफ्नो आधिकारिक ब्लग पोष्टमा भनेको छ, ‘सन् २०१० देखि हामीले आफ्नो भल्नेरेबिलिटी रिवार्ड प्रोगामलाई गुगलका थप प्रडक्टहरूमा पनि विस्तार गरेका छौं । यसमा क्रोम, एन्ड्रोइड तथा अन्य प्रडक्टहरूको गलत प्रयोगलाई पनि सामेल गरिएको छ । गुगल प्लेस्टोरमा विद्यमान लोकप्रिय थर्ड पार्टी एपहरू समेत यसमा समेटिन्छन् ।

यसको सहयोगले कुनै पनि एपमा फेला पर्ने सुरक्षा त्रुटि तथा कमजोरीहरूका बारेमा एप डेभलपर्सलाई बताउन सकिनेछ र त्यस्तो कमजोरीलाई सच्चाउन सकिनेछ । अहिलेसम्म हामीले ह्याकरहरूलाई २ करोड १० लाख डलर पुरस्कार दिइसकेका छौं ।’

गुगलका अनुसार, अनुसन्धानकर्ताहरूका तर्फबाट अहिलेसम्म सबैभन्दा धेरै ५ लाख डलर रकम च्यारिटीलाई दिइएको छ । पुरस्कारको रूपमा गुगलले अधिकतम सीमा क्रोमका लागि ५ हजार डलरबाट बढाएर १५ हजार डलर पुराइएको छ ।

त्यस्तै, हाई क्वालिटी रिपोर्टका लागि अधिकतम पुरस्कारको राशि १५ हजार डलरबाट बढाएर ३० हजार डलर बनाइएको छ ।

ब्लगमा गुगलले लेखेको छ, ‘क्रोम फज्जर प्रोग्राममा फज्जर्सका तर्फबाट फेला पारिने बग्सका लागि अतिरिक्त बोनस पनि दोब्बर पारेर १ हजार डलर बनाइएको छ ।’

एन्ड्रोइड सेक्योरिटी रिवार्डअन्तर्गत फूल चेन रिमोट कोड तथा गुगलका पिक्सेल डिभाइसको टाइटन एम सेक्योरिटी एलिमेन्टस ह्याक गर्न सक्नेलाई १० लाख डलरसम्मको पुरस्कार राशि तोकिएको छ । गुगलको नयाँ पिक्सेल डिभाइसमा रहेको टाइटन एम चिप वास्तवमा एक इन्टरप्राइज ग्रेड सेक्योरिटी चिप हो । जसलाई गुगल स्मार्टफोनका लागि कस्टम बिल्ड गरिएको छ । यसको सहयोगबाट डिभाइसमा रहेको सेन्सिटिभ तथा अपरेटिङ सिस्टमसँग सम्बन्धित डाटालाई सुरक्षित राखिन्छ । टाइटन एपलाई सबै पिक्सेल डिभाइसको बिल्ट इन सेक्योरिटी सिस्टमको सबैभन्दा शक्तिशाली प्रणाली मानिन्छ ।

गुगलका अनुसार, सन् २०१९ मा ह्याकरहरूलाई दिइएको ६५ लाख डलर पुरस्कार कुनै पनि एक वर्षमा दिइएको अहिलेसम्मकै ठूलो रकम हो । त्यसरी दिइएको पुरस्कार मध्ये ५ लाख त ह्याकरहरूले उल्टै विभिन्न च्यारिटी संस्थाहरूलाई दान गरेका छन् । सन् २०१९ मा एकजना ह्याकरले प्राप्त गरेको अधिकतम पुरस्कार राशि २ लाख १ हजार डलर रहेको छ । कूल ४ सय ६१ जना ह्याकरहरूले गत वर्ष गुगलबाट पुरस्कार पाएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment