+
+
Shares

एमसीसी समर्थकलाई भीम रावलको चुनौती-इन्डो प्यासेफिक रिपोर्ट र त्यसका श्रृंखला अध्ययन गर्नुस्

'केही मानिसहरुले एमसीसीलाई प्रतिष्ठाको विषय बनाए'

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १२:४३

१९ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्यसमेत रहेका सांसद भीम रावलले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) इन्डो प्यासेफिककै अंग भएको दोहोर्‍याएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका अन्य मन्त्रीहरूले एमसीसी इन्डो-प्यासेफिक रणनीतिको अंग होइन भनेर प्रष्टीकरण दिइरहेका बेला सांसद रावलले इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट र त्यसपछिका श्रृंखलाहरु अध्ययन गरेर बोल्न सुझाव दिए ।

आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले भने, ‘रिपोर्टमा स्पष्ट शब्दमा कुनै ‘इफ’ ‘बट’ शंका नहुने गरी के लेखिएको छ भने, मिलिनियम च्यालेन्ज भनेको इन्डोप्यासेफिक स्ट्राटेजीको अंग हो । र, इन्डो प्यासिफिक स्ट्राटेजी भनेको चीन, रुस र कोरियाको विरुद्धमा संघर्ष गर्नका लागि ल्याइएको हो भन्ने निर्विवाद छ ।’

एमसीसी इन्डो प्यासेफिक रणनीतिको अंग होइन भन्नेहरुलाई अमेरिकाले जारी गरेको इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट ४ नोभेम्बर २०१९, त्यसअघिको २०१७ र त्यसपछिका अन्य सिरिजहरु अध्ययन गर्न उनले सुझाव दिए ।

एमसीसीलाई कतिपयले प्रतिष्ठाको विषय बनाएको भन्दै उनले यसमा असन्तुष्टि जनाए । ‘केही मानिसहरुले एमसीसीको विषयलाई प्रतिष्ठाको विषय बनाउने, राष्ट्रिय हित र स्वार्थभन्दा आफ्ना निजी धारणाहरुलाई राख्ने गरेको मैले पाएको छु,’ रावलले भने, ‘निःसन्देह त्योबाट मुक्त भएर राष्ट्रिय दृष्टिकोणका साथ अगाडि बढ्नुपर्छ ।’

नेकपाको केन्द्रीय समितिको बैठक सुरु भएपछि सांसद रावलले एमसीसीबारे सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् । सांसद रावललाई पार्टीले एमसीसीबारे नबोल्न निर्देशन दिएकाले नबोलेका हुन् कि भनेर कतिपयले शंका गरिरहेका बेला संसदीय समितिमा रावलले आफ्नो पूर्ववत भनाइ दोहोर्‍याएका हुन् ।

सांसद रावलले एमसीसीबारे संसदीय समितिहरुमा पनि अध्ययन र छलफल हुनुपर्ने बताए । सांसद रावलले भने, ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यस (एमसीसी)बारे छलफल गरोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?