Comments Add Comment

सभामुखको बधाई कार्यक्रममा एमसीसीको चर्चा

भीम रावलले भने – अमेरिकाले चीन, रुस र कोरियाको विरुद्धमा ल्याएको हो

१९ माघ, काठमाडौं । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिन कार्यक्रम राखेको थियो ।

बैठकमा भाग लिँदै सांसदहरुले सभामुख सापकोटालाई बधाई दिँदै एमसीसीको चर्चा गरे । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संसदले सक्षम नेतृत्व पाएको बताए ।

नेकपाका सांसद भीम रावलले एमसीसी इन्डो प्यासिफिकको अंग भएको प्रष्ट रहेको बताए । ‘रिपोर्टमा स्पष्ट शब्दमा, कुनै इफ बट शंका नहुने गरी के लेखिएको छ भने, मिलिनियम च्यालेन्ज भनेको इन्डो प्यासिफिक स्ट्राटेजीको अंग हो, र इन्डो प्यासिफिक स्ट्राटेजी भनेको चीन, रुस र कोरियाको विरुद्धमा संघर्ष गर्नका लागि ल्याइएको भन्ने निर्विवाद छ’ उनले भने ।

एमसिसी इन्डो प्यासिफिक रणनीतिको अंग होइन भन्नेहरुलाई अमेरिकाले जारी गरेको इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट ४ नोभेम्बर २०१९, त्यसपछि २०१७ र त्यसपछिका सिरिजहरु अध्ययन गर्न उनले सुझाव दिएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद उमा रेग्मीले सभामुखको हैसियतमा रहेर हरेक निर्णय गर्दा धर्तीको एक चिम्टी माटो लिन सुझाव दिइन् ।

कांग्रेसका सांसद दिव्यमणि राज भण्डारीले चीनमा फैलिएको कोरोना भाइरससँग एमसीसीको विषयलाई जोडे । ‘चीनमा कोरोना भाइरस फैलिए जस्तै नेपालमा एमसीसी भाइरल भएको छ’ उनले भने ।

नेकपाका सांसद सुदन किरातीले एमसीसी जस्ता विषयमा गम्भीर भएर सुझबुझका साथ निर्णय लिन सभामुख सापकोटालाई सुझाव दिए ।

एमसीसीका सन्दर्भमा सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले दिँदै आएको अभिव्यक्ति आत्मसमर्पणवादी भएको भन्दै सांसद किरातीले सञ्चारमन्त्री बास्कोटाको राजीनामा माग गरे ।

नेकपाका अर्का सांसद मोहन बानियाँले आवश्यकता अनुसार गरम र नरम हुने नेतृत्व संसदले पाएको उल्लेख गर्दै एमसीसी जस्ता विषयमा सुझबुझका साथ निर्णय हुने विश्वास व्यक्त गरे ।

समिति सभापति पवित्रा निरौला खरेलले एमसीसी पास गर्दा वा खारेज गर्दाको अवस्थामा सबै एकमत हुनुपर्ने बताइन् ।

‘एमसीसीलाई पास गर्दा वा नर्गदा सबै मिलेर एकताबद्ध भएर गर्नुपर्छ, जे गर्दा पनि राष्ट्रभक्तिका साथ गर्नुपर्छ’ निरौलाले भनिन् ।

सभापति निरौलाले विधेयक निर्माणमा व्यापक छलफल हुने–गर्ने वातावरण बनाउने गरी भूमीकिा खेल्न पनि सभामुख सापकोटालाई आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment