Comments Add Comment

होटलमा जम्दै, कर्ममा रम्दै युवराज

रिसेप्सनिस्टदेखि तीन वटा होटलको मालिकसम्म

१९ माघ, काठमाडौं । एक महापुरुषले भनेका छन्, ‘यदि तपाईं जागिरे हुनुहुन्छ तर अफिस टाइमबारे मात्रै सोच्नुहुन्न भने सफलताले तपाईंलाई अवश्य पछ्याउनेछ ।’

यही भनाइसँग मिल्छ, युवराज श्रेष्ठको जीवन । कुनै समयमा रिसेप्सनिस्टको रुपमा जागिर खाने उनी अहिले काठमाडौंमा तीनवटा होटल चलाएर बसेका छन् । अझै थप्ने योजनामा छन् । होटल व्यवसायीहरुको छाता संगठन होटल संघ नेपाल (हान)का केन्द्रीय सदस्यसमेत हुन् उनी ।

२०३२ सालमा सिन्धुलीको सामान्य परिवारमा जन्मिएका युवराजले कक्षा ३ सम्म स्थानीय विद्यालयमा पढे । त्यसपछि उनको थप पढाइ काठमाडौंमा भयो । माध्यमिक स्तरको अध्ययन पूरा हुनासाथ उनले जागिर खान थालिसकेका थिए ।

उनका बुबाले खेतिपातिसँगै पसल पनि चलाउँथे । पसलमा चकलेट-बिस्कुटदेखि लत्ताकपडासम्म हुन्थ्यो । काठमाडौंबाट ६-७ दिन लगाएर सामान बोकाई सिन्धुलीमा व्यापार गर्नुपर्ने अवस्था थियो । व्यवसायतर्फ बुवाको झुकावको छाप युवराजमा पनि परेको थियो ।

दिदीको विवाह काठमाडौंमा भएपछि उनी काठमाडौंमा आएर पढ्न थालेका थिए । तर, कक्षा ८ सम्म पढिसकेपछि उनी फेरि गाउँ फर्किए । एसएलसी जसरी पनि पास गर्नैपर्ने दबाब थियो । काठमाडौंबाटै एसएलसी दिँदा पास हुने आत्मविश्वास नभएकाले गाउँ फर्किएको उनी बताउँछन् ।

श्रेष्ठले हाँस्दै सुनाए, ‘एसएलसी पास गर्नु त निकै इज्जतको कुरा थियो नि हाम्रो पालामा ।’

गाउँकै स्कूलबाट एसएलसी पास गरेपछि उनी पुनः काठमाडौं लागे । काठमाडौंको नेपाल ल क्याम्पसमा प्रविणता प्रमाणपत्र तह अध्ययनका लागि भर्ना भएका श्रेष्ठले पढाइसँगै जागिर सुरु गरे । उनका ठूल्दाइ कुमारलाल श्रेष्ठ कानून व्यवसायी थिए । दाइकै सिफारिसमा उनले अग्नि खरेलको ‘ल फर्म’ मा जागिर पाए ।

कमाइ चित्तबुझ्दो नै थियो । त्यहाँ उनले ‘वारेस’को रुपमा काम गरेका थिए । ‘कसैको मुद्दा बोकिदिए, तारेख धाइदिए थोरै रकम आउँथ्यो, तर धेरै समय मैले त्यहाँ काम गर्न भने सकिनँ,’ श्रेष्ठले सुनाए ।

३ महिनामै उनले खरेलको ल फर्म छोडे । उनका दाजु कुमारलालले पुनः अर्को ल फर्ममा लगाइदिए । तर त्यहाँ पनि उनी लामो समय टिक्न सकेनन् ।

‘ल फर्म’ छोडेर होटल

सानो छँदा आर्मी बन्ने सपना थियो उनको । स्कुल पढ्दा नै नेपाली सेनामा जागिर खाएर देशको सेवा गर्ने इच्छा रहेको उनी सुनाउँछन् । ल फर्मतिर लागेपछि त्यो इच्छा अधुरै रह्यो । तर त्यसमा पनि उनी टिक्क सकेनन् । ल फर्म छोडेर होटल क्षेत्रमा लागे । यसमा पनि खास कारण छ ।

युवराजका दाजु हिमाल श्रेष्ठ (ठूलो बुवाका छोरा) त्यसबेलै होटल व्यवसायमा थिए । उनले काठमाडौंको कमलपोखरीमा होटल कमल सञ्चालन गर्थे । दाजुलाई भेट्न युुवराज होटल आउजाउ गरिरहन्थे । यही क्रममा उनले एक दिन दाजुलाई होटलमै जागिर लगाइदिन प्रस्ताव गरे । उनले नस्वीकार्ने कुरै थिएन ।

‘मैले २०५४ सालमा दाजुको होटलमा रिरेप्सनिष्टको रुपमा काम सुरु गरेँ, त्यसको एक वर्षपछि भिजिट इयर-१९९८ आयो,’ उनी सम्झन्छन् ।

चिटिक्क परेर होटेलमा जानुपर्ने र नयाँ-नयाँ मान्छेसँग भेट हुने भएकाले इज्जतिलो पेशाजस्तो लाग्यो उनलाई । सबैले सम्मान पनि गर्थे । उनलाई होटल व्यवसाय मन पर्‍यो ।

प्रेमिकाको जवाफपछि आफूले ‘जबसम्म घर बनाउदिनँ, तबसम्म तिमीलाई बिहे गर्दिनँ’ भन्ने अठोट सुनाएको उनी बताउँछन्

दाजुको होटल उनलाई आफ्नै जस्तो भयो । जागिरेका रुपमा आफूलाई लिएनन् । ८ घण्टाको ड्यूटी आवर भए पनि उनी त्योभन्दा धेरै समय खटिन्थे । यही मिहिनेत र लगावले गर्दा चाँडै नै उनले बढुवा पाए । २०५९ मा होटेलको प्रवन्धक नै बन्न सफल भए ।

प्रेमिकाको त्यो शर्त

‘होटल कमल’मा युवराज जागिरे नै थिए । जागिरकै क्रममा उनको अमी श्रेष्ठसँग भेट भयो । उनी सांग्रिला एयरको कर्मचारी थिइन् । होटेलमा आउने पाहुनाका लागि टिकटहरु मिलाउने क्रममा उनीहरुको संगत बाक्लियो ।

दिनहुँजसो भेट हुँदा उनीहरु नजिकिँदै गए । मिल्ने साथी भए । त्यसपछि प्रेममा परे । केही समय प्रेममा मग्न भएपछि युवराजले अमीलाई बिहेको प्रस्ताव राखे । तर, प्रेमिकाले उनको काठमाडौंमा घर नभएको कारण देखाएर अहिले विवाह गर्न नसक्ने बताइन् ।

‘मैले बिहेको प्रस्ताव राखेपछि उनले बिहे गरेर कहाँ बस्ने ? भनिन् मैले सीधै भनेँ- धापासी घरमा । उनले त्यो घर त तपाईंको होइन दाजुको हो, भनेपछि पो झसँग भएँ,’ युवराजले भने, ‘दाजुकै थियो घर त । त्यही झोंकमा मैले घर किने‌ं।’

प्रेमिकाको जवाफपछि आफूले ‘जबसम्म घर बनाउदिनँ, तबसम्म तिमीलाई बिहे गर्दिनँ’ भन्ने अठोट सुनाएको उनी बताउँछन् ।

नभन्दै २०६३ सालमा उनले घर किने । त्यसमा अमीले पनि सहयोग गरिन् । ‘हामीले धुमधामसँग विवाह गर्ने खर्चले घर किन्ने योजना बनायौं, दुवै जनाको कुरा मिल्यो अनि बालुवाटारमा घर किन्यौं,’ उनले भने, ‘त्यसबेला हामीले कोर्ट म्यारिज गरेका थियौं, बालुवाटारमा दुवै जनाको लगानीमा घर किनेपछि मैले उनलाई भित्र्याएको हुँ ।’

बिहेमा गर्ने अनावश्यक खर्चलाई उपयोग गरी गाडी किनेको उनी बताउँछन् । उनीहरुले विवाह गरेको बेला नेपालमा द्वन्द्व समाधान भएर शान्ति प्रक्रिया सुरु भएको थियो । शान्ति छाउने भए पनि युवराजलाई अब आफैं केही गरौं भन्ने सोच आयो । मुख्य कुरा उनी अब कर्मचारीबाट व्यवसायीमा परिणत हुन चाहन्थे ।

म्यानेजर नै भइसकेकाले उनलाई होटलबारे धेरै ज्ञान र अनुभव थियो । त्यसैले उनले आफैँ होटल खोल्ने योजना बनाए । विवाहको एक वर्ष पुग्नै लाग्दा २०६४ सालमा उनले क्राउन प्लाजा होटल सञ्चालनमा ल्याए ।

त्यसबेला रोचक संयोग जुरेको थियो । होटल उदघाटनकै दिन घरमा लक्ष्मी भित्रिइन् । श्रेष्ठ दम्पत्ति बाबु-आमा बने । त्यो मंसिर १ को दिन थियो ।

होटल व्यवसायमा फड्को

होटलमा उनले जागिरेका रुपमा एक दशक बिताएका थिए । त्यसले उनलाई धेरै कुरा सिकायो । उनले त्यस अवधिमा व्यवसाय सञ्चालन गर्ने कौशल मात्रै सिकेनन्, केही सम्बन्धहरु पनि बनाए । त्यही सम्बन्धका कारण होटल व्यवसायमा उनी सफल बने ।

खेल क्षेत्रका व्यक्तिहरुसँग उनी पहिलेदेखि नै नजिक थिए । पुरानो सम्बन्धको उनले राम्रै सदुपयोग गरे । अहिले पनि उनको होटल खेलकुद क्षेत्रसँग आवद्ध व्यक्तिहरुले नै भरिभराउ हुन्छ । अहिले फुटबल, भलिबल, क्रिकेट, कबड्डीजस्ता खेलको राष्ट्रिय प्रतियोगिता हुँदा टोलीहरु आफ्नो होटेलमा राख्ने गरी उनले सम्झौता गरेका छन् । त्यसकारण होटेल व्यवसायमा मन्दी लाग्दासमेत उनले पछाडि फर्केर हेर्नु परेको छैन ।

श्रेष्ठ आफैँ पनि खेलाडी हुन् । विद्यालयस्तरमा उनी राम्रै फुटबल खेल्थे । अहिले उनी खेलुकदसँग सम्बन्धित धेरै संघ/संगठनमा छन् । उनी काठमाडौं फुटबल संघको वरिष्ठ उपाध्यक्ष हुन् भने नेपाल स्कूल भलिबल एसोसिएसनको समेत उपाध्यक्ष छन् । यिनै सम्बन्धका कारण उनको व्यवसाय राम्रै फस्टायो ।

उनले २०७२ वैशाख १० गते गौशालामा शिवम् प्लाजा नामको अर्को होटल स्थापना गरे । होटल स्थापना गरेको पर्सिपल्ट विनाशकारी भूकम्प गयो । यद्यपि, उनको होटलमा क्षति भएन । विदेशबाट आएका सहयोगी संस्थाका प्रतिनिधिहरु धेरै उनकै होटलमा बसेका थिए ।

व्यवसायिक सफलता मिल्दै जाँदा उनले अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रै सम्बन्ध बनाएका छन् । युवराज तिनै व्यवसायी हुन् जसले २०७३ सालमा अन्तर्राष्ट्रिय होटल ब्राण्ड ‘ओयो’ नेपाल भित्र्याएका थिए ।

होटलमा मात्र नभएर शिक्षा क्षेत्रमा पनि उनले लगानी गरेका छन् । केही साथीहरुसँग मिलेर उनले भक्तपुरको सानोठिमीमा हिमचुली एकेडेमी विद्यालय चलाइरहेका छन् । २०५९ सालमा भाडाको घरमा सुरु गरेको विद्यालय अहिले आफ्नै भवनमा छ भने करिब ८ रोपनी क्षेत्रफल जग्गा जोडिसकेको छ । हिमचुलीमा अहिले करिब ५ सय विद्यार्थी अध्ययनरत रहेको उनी सुनाउँछन् ।

बढाउँदै लगानी

भएको होटलको चुस्त व्यवस्थापन गर्नुका साथ युवराजले लगानीसमेत थपिरहेका छन् । चितवनमा एक अर्बभन्दा बढीको लगानीमा पटिहानी होटल सञ्चालनको तयारी भइरहेको उनले बताए ।

साढे ५ विगाहा क्षेत्रफल ओगटेर ५२ वटा कोठा हुने एक अर्बको लगानी त्यहाँ खर्चदैछन् । गोदाबरीमा समेत ५० करोड लगानीमा चार तारे स्टाण्डर्डको होटल उनको लगानीमा निर्माण भइरहेको छ । यी दुवै होटल उनले पार्टनरसीपमा बनाउन लागेका हुन् ।

औषधि व्यवसायमा समेत उनले हात हालेका छन् । चितवनमै उनको डिभाइन  हेल्थ केयरले उत्पादन नै सुरु गरिसकेको छ ।

केही वर्षअघि भारतबाट औषधि ल्याएर बिक्री गर्ने गरेका उनलाई व्यापारपछि उद्योग नै सञ्चालन गर्ने हिम्मत जुटेको थियो । ‘व्यापारबाट अब आफैं उत्पादन गर्नुपर्छ भन्ने सोच आयो, अनुभव भएपछि नेपालमै उत्पादन सुरु गरियो,’ उनी भन्छन् ।

उनले आाफ्नो लगानीमा खुलेका होटेललाई प्लाजा ग्रुपको छातामुनि आवद्ध गरेका छन् । अब उनी आफैंले होटेलमा लगानी गर्नुको साटो चेन होटेल ब्यवस्थापन तथा सञ्चालनको मोडलमा जाने योजनामा छन् । नेपाली होटेल ब्राण्डका रुपमा व्यवस्थापन गरी प्लाजा ग्रुपलाई स्वदेश र विदेशसम्म फैलाउने योजना रहेको उनले सुनाए ।

लर्ड्सको घाँस अफिसको ड्रयरमा

होटेल क्षेत्रले उनलाई सफलताको शिखरमा पुर्‍यायो । देश-विदेशसम्म पुग्ने सौभाग्यसमेत जुरायो । उनले ३० भन्दा बढी मुलुकको भ्रमण गरिसकेका छन् ।

सन् २०१८ मा नेपाली क्रिकेट टोलीले लण्डनको लर्ड्समा एमसीसी टोलीसँग क्रिकेट खेल्दा उनी पनि हेर्न पुगेका थिए । त्यसबेला उनलाई नेपालबाट एक जना साथीले लर्ड्सको माटो ल्याउन भनेका थिए । तर, लर्ड्समा उनले माटो भेटेनन् । बरु सुटुक्क मैदानको घाँस चुडाएर ल्याए । अहिले त्यो घाँस चिनोस्वरुप उनले आफ्नो अफिसको ड्रयरमा सजाएर राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment