Comments Add Comment

टोटनह्यामसँग म्यानचेष्टर सिटी पराजित

काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी टोटनह्याम हट्सपरसँग पराजित भएपछि लिग लिडर लिभरपुललाई प्रिमियर लिगको उपाधि होडमा अझै फाइदा पुगेको छ ।

आइतबार भएको खेलमा १० खेलाडीमा रहेको सिटी टोटनह्यामसँग २–० ले पराजित भयो । टोटनह्यामका लागि स्टेभन बर्जविन र हेउन मिन सनले दोस्रो हाफमा गोल गरे । पहिलो हाफमा सिटीले पेनाल्टी पाए पनि इकाए गुन्डागोनको पेनाल्टी प्रहार टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले बचाएका थिए ।

३९ औं मिनेटमा भीएआरको सहयोगमा सिटीले पेनाल्टी पाएको थियो । तर, गुन्डागोनको प्रहार लोरिसले बचाए । त्यसलगत्तै लोरिसले बल बचाउ सिटीका खेलाडीलाई लडाएपछि सिटीले पेनाल्टीको अपिल गरेको थियो । तर भीएआरले पेनाल्टी दिएन ।

दोस्रो हाफमा टोटनह्यामले २ गोल गर्दा सिटीले एक खेलाडी गुमायो । ६० औं मिनेटमा ओलेक्जन्डर जिनचेन्को रातो (दोहोरो पहेँलो) कार्ड पाएपछि सिटी १० खेलाडीमा झर्‍यो । त्यसैको फाइदा उठाउँदै टोटनह्यामले दुई गोल गर्‍यो ।

६३ औं मिनेटमा लुकास माउराको पासमा स्टेभन बर्जविनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । बर्जविनले प्रिमियर लिगमा डेब्युमै गोल गरेका हुन् ।

७१ औं मिनेटमा एनडोम्बेलेको पासमा सन हेउन मिनले टोटनहमका लागि दोस्रो गोल गरे । यस सिजन दशौं जित हात पारेको टोटनह्याम २५ खेलबाट ३७ अंक जोड्दै अंक तालिकामा पाँचौं स्थानमा उक्लेको छ ।

टोटनह्यामसँग सिटी पराजित भएपछि लिग लिडर लिभरपुललाई फाइदा पुगेको छ। २५ खेलबाट ७३ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानको सिटीको समान खेलबाट ५१ अंक छ । लिगमा अब १३ खेल बाँकी रहँदा लिभरपुलले साविक विजेता सिटीमाथि २२ अंकको स्पष्ट अग्रता बनाएको छ । अब लिभरपुलले सम्भावित ३९ मध्ये १७ अंक मात्र जोडे पनि लिग उपाधि जित्नेछ । सन् १९८९–९० मा पछिल्लो पटक लिग जितेको लिभरपुलले १९९३ मा आधुनिक प्रिमियर लिग सुरु भएयता उपाधि जित्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment