Comments Add Comment

नेकपा संसदीय दलमा शिवमायालाई छुट्टै कार्यकक्ष

२० माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको कार्यलयमा शिवमाया तुम्बाहाङ्फेलाई छुट्टै कार्यकक्ष दिएको छ ।

नेकपाले निर्वतमान उपसभामुख तुम्बाहाङ्फेलाई तत्कालीन नेकपा एमालेको संसदीय दलको कार्यलयभित्र छुट्टै कार्यकक्ष दिएको हो ।

यसअघि पूर्वसभामुखलाई समेत छुट्टै कार्यकक्ष दिने अभ्यास थिएन ।

तर नेकपाले सभामुखमा उम्मेदवारी दिने क्रममा उपसभामुखबाट राजीनामा दिएकी शिवमायाले छुट्टै कार्यकक्ष पाएकी हुन् । उनले पनि छुट्टै कार्यकक्ष लिएको स्वीकार गरिन् ।

एमाले र माओवादीको संसदीय दल कायमै

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) बीच पार्टी एकीकरण घोषणा भएको २२ महिना भयो । तर दुई पार्टी मिलेर बनेको नेकपाले दुबै दलको संसदीय दलको कार्यालय भने छाडेको छैन ।

तत्कालीन नेकपा एमाले र तत्कालिन माओवादी केन्द्रको संसदीय दलको कार्यलय दुबै नेकपाले प्रयोग गर्दै आएको छ । नेकपाका संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीको कार्यालयमा तत्कालीन एमालेको संसदीय दलको कार्यालयतर्फ छ ।

यस्तै तत्कालीन माओवादीको पुरानो संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष छ ।

राष्ट्रियसभा सचिवालय रहेको भवनसमेत रहेको माओवादी संसदीय दलको कार्यालयतर्फ नेकपा प्रमुख सचेतक देव गुरुङ र राष्ट्रियसभाका दलका नेता दीनानाथ शर्मा बस्छन् ।

संसद सचिवालय आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख मुरारी महतकाअनुसार तत्कालिन एमालेको संसदीय दलको कार्यलय रहेकै ठाउँमा माओवादीका नेताहरुका लागि कार्यकक्ष निर्माणको कार्य भइरहेको छ । ‘कार्यकक्ष निर्माण पूरा भएपछि सबै एकै ठाउँमा रहने अवस्था बन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment