Comments Add Comment

टौदह चिन्ता

डुंगा सयरले सिमसारको आयु छोट्टियो

১विश्व सिमसार दिवस फेबु्रअरी २, २०२० को सन्दर्भमा कीर्तिपुर नगरपालिका र नेपाल पन्छी संरक्षण संघको संयुक्त आयोजनामा काठमाडौं उपत्यकाको महत्वपूर्ण सिमसार क्षेत्र तथा आगन्तुक पाहुना चराको आश्रयस्थल टौदहमा चरा अवलोकन गरियो । साथै टौदहको जैविक सम्पदा, सिँचाइ, जल विज्ञान, पर्यटन प्रवर्द्धनका र यसको आर्थिक, साँस्कृतिक तथा पर्यावरणीय पक्षमा सरोकारवाला निकायसँग अन्तर्क्रिया एवम् छलफल भयो । टौदह जस्ता सिमसार क्षेत्रमा जलवायु, भौगोलिक स्वरुप, भूगर्भ र जल परिचालनलगायत भौतिक एवम् रासायनिक प्रक्रियाहरुले गर्दा रैथाने तथा घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी, कीराहरु र बोटविरुवाको उच्चतम विविधता पाइन्छ । यस्ता क्षेत्रहरुमा जल परिचालन र शुद्धीकरण निरन्तर चलिरहने हुनाले यसलाई ‘प्रकृतिको मिर्गौला’ पनि भनिन्छ ।

टौदह मूलतः जाडोयाममा नेपालको उत्तरी सीमापारी चीन, मंगोलिया, रूसको साइबेरियाबाट बसाइँ सराइ गरी आउने पाहुना चराहरुको महत्वपूर्ण आश्रयस्थल हो । हाल विश्वबाटै लोप भैसकेको अनुमान गरिएको गुलाफी टाउके हाँस कुनै समय टौदह क्षेत्रमा अभिलेख गरिएको थियो । त्यतिमात्रै होइन विश्वमै दुर्लभ कैलो टाउके हाँस र अन्य सुइरोपुच्छे्र हाँस, मालक हाँस, खोया हाँस, नादुन हाँसलगायतका कयौं पाहुना चराहरुमा यस क्षेत्रबाट हराउँदै गएकोमा संरक्षणकर्मीहरु चिन्तित छन् ।

‘सिमसार र जैविक विविधता’ भन्ने मूल नाराका साथ मनाइएको यस ४९ विश्व सिमसार दिवसले कृषि उत्पादनका साथै वातावरणीय सन्तुलनमा अहम् भूमिका निर्वाह गरिरहेको सिमसार क्षेत्रको थप महत्व स्थापित गर्न टेवा पुर्‍याएको छ । सम्पूर्ण मानव, प्राणी एवम् वनस्पती जगतको अस्तित्व जोगाउने आधारभूत तत्व भएकाले सिमसारलाई पर्यावरणीय सन्तुलन र जैविक विविधताको पर्यायको रुपमा हेरिन्छ । नेपालका सिमसार क्षेत्रहरु मुलतः ताल र नदी किनारहरु धार्मिक, सांस्कृतिक एवम् परम्परागत आस्थाका केन्द्रको रुपमा पनि प्रचलित छन् ।

पर्यटन प्रवर्द्धनका नाममा ताल तलैयामा डुंगा सञ्चालन, भौतिक संरचना निर्माण र वनभोज जस्ता पर्यावरण अमैत्री क्रियाकलापले सिमसारको गुणस्तर र आयु छोट्टाइदिएको छ

नेपालमा झण्डै ५४ सयको हाराहारीमा सिमसार क्षेत्र रहेको बताइन्छ जसले कुल क्षेत्रफलको २.६ प्रतिशत भूभाग ओगटेका छन् । नेपालमा करिब पाँच हजार ताल, एक हजार तीन सय ८० जलाधार र पाँच हजार एक सय ८३ पोखरीहरु छन् । पोखरा र आसपासका नौ तालहरु, गोक्यो ताल समूह, गोसाइँकुन्ड ताल समूह, शे-फोक्सुन्डो ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, घोडाघोडी ताल क्षेत्र र माइपोखरी गरी दश क्षेत्रहरु विश्व रामसार सूचिमा सूचिकृत भइसकेका छन् ।

सिमसार क्षेत्रहरु आफैंमा बहुआयामिक र जैविक महत्वको क्षेत्र हुँदाहुँदै पनि सबैभन्दा बढी ह्रास हुँदै गएको सम्पदा हो । सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावट, ढल तथा धार्मिक पर्वहरुमा पूजाका सामान विसर्जन, बाह्य तथा मिचाह प्रजातिहरुका संक्रमण, भूक्षय र वरपरबाट भलसँगै बगेर आउने ढुंगा, बालुवा, पाँगो माटोका साथै पछिल्ला दिनहरुमा पर्यटन प्रवर्द्धनका नाममा ताल तलैयामा डुंगा सञ्चालन, भौतिक संरचना निर्माण र वनभोज जस्ता पर्यावरण अमैत्री क्रियाकलापले सिमसारको गुणस्तर र आयु छोट्टाइदिएको छ ।

टौदह पनि यस्तै मानविय क्रियाकलापको चपेटामा परिरहेको छ । आज पोखरी सिमेन्टी पिँढी र वरिपरि कटेजले सिँगारिएको त छ, तर यहाँको जैविक विविधता हराउँदै गएको छ । कुनै समय हजारौंको संख्यामा साईबेरिया क्षेत्रबाट आउने पाहुना चरा टौदाहमा आउनै छाडिसकेका छन् । यसले पानी चरालाई मात्र होइन, त्यस क्षेत्रको समग्र जैविक विविधता संरक्षण, दिगो विकास र पर्यावरण मैत्री दिगो पर्यटन प्रवर्द्धनमा ठूलो चुनौती दिइरहेको छ ।

टौदह आफैंमा बहुआयामिक र सर्वपक्षीय सरोकारको क्षेत्र भएकाले यसको दिगो संरक्षण र समुचित व्यवस्थापनको लागि जनचेतना अभिवृद्धि र संरक्षणमा समन्वायात्मक क्रियाशिलता, एकीकृत सोच, अवधारणा र कार्यक्रम आवश्यक छ । योसँगै बागमती, बोसन खोला र अन्य आसपासका सिमसार क्षेत्रहरुको पूर्णविवरण संकलन गरी प्राथमिकता र सम्भाव्यताअनुसार तिनको अध्ययन, संरक्षण र सदुपयोगका लागि सम्बन्धित सबै निकाय सक्रिय हुनु अत्यावश्यक छ ।

टौदहको जैविक तथा साँस्कृतिक सम्पदा संरक्षण र पर्यापर्यटन प्रवर्द्धनका लागि स्थानीय तह, सरोकारवाला निकाय, संरक्षणकर्मी र आम सर्वसाधारणसँग सहकार्यको खाँचो छ । सिमसार आश्रति चरा अवलोकनका लागि काठमाडौंको यो एक मात्र क्षेत्र भएकाले यहाँ हजारौं पर्यटकहरु तथा फोटोग्राफर भित्राइ पर्यापर्यटनमा टेवा पुर्‍याउनुका साथै स्थानीयको जीविकोपार्जनमा समेत मद्दत गर्न सक्छ । यसले नै समृद्धिको ढोका खोल्न मद्दत गर्छ ।  (पंन्छीविज्ञ भुसाल नेपाल पन्छी संरक्षण संघमा आवद्ध छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment