Comments Add Comment

सिनेमामा चरित्र-निर्माण : म सधैं विपिन कार्की रहन्नँ

खासै छद्म भेषमा त होइन, आफूलाई अलि नचिन्ने गरी माइक्रोबसमा चढेर इलाम गएँ । एक रात बसें एक्लै ।

‘सेल्फी किंग’का पात्रले एउटा यस्तै यात्रा गर्छन् । यात्राको क्रममा उनलाई एक जनाले चिन्छन् । एकपछि अर्को हुँदै सबैले चिन्छन् । उक्त पात्रले यात्रामा कस्तो अनुभव गरे होलान् भनेर अनभूत गर्नका लागि सार्वजनिक माइक्रोबसमा चढेर इलामको यात्रा गरेको थिएँ । तर सिनेमाको पात्रलाई जसरी मलाई चिनेनन्, एउटा चिया पसले बाहेक ।

कुनै पनि चरित्र निर्वाह गर्दा मलाई हुलिया बदलेर मात्र पुग्दैन । वास्तवमै उक्त पात्र म हुँ र उनको जीवन-भोगाइ मेरो हो भन्ने अनुभूत हुनुपर्छ । यसरी अभिनय गरिरहँदा म आफू अर्थात विपिन कार्कीलाई पूर्णतः त्याग्छु । यसका लागि मैले जुन चरित्र निर्वाह गर्नुपर्ने हो, त्यसका लागि अभ्यासको जरुरी हुन्छ ।

जस्तो, म कुनै भरियाको भूमिका निर्वाह गर्दैछु भने मलाई तरतरी पसिना चुहाएर थाप्लोमा गह्रौं भारी बोकेको अनुभव हुनुपर्छ । अनुभवबाट आर्जन भएको अभिनय जीवन्त एवं सजिव हुन्छ भन्ने मलाई लाग्छ ।

मैले काँचुली फेर्नुपर्छ

छड्केका ‘बिन्दु’, पशुपतिप्रसादका ‘भष्मे डन’, जात्राका ‘फणिन्द्रप्रसाद’, प्रसादका ‘बाबुराम परियार’ जस्ता पात्रका पृष्ठभूमि फरक छन् । हरेक पात्रको हुलिया मात्र होइन, प्रवृत्ति, स्वभाव, चिन्तन, बाध्यता, परिस्थिति फरक छन् । अनेक पात्रहरुमा रुपान्तरण गर्नका लागि मैले ‘विपिन कार्की’लाई त्याग्नुपर्छ । म विपिन कार्की हुँ भन्ने कुराको नामोनिसाना मेट्नुपर्छ । र, शून्यबाट मैले उक्त पात्रलाई उभ्याउनुपर्छ ।

जब मलाई कुनै पनि सिनेमाका लागि चरित्र दिइन्छ, न म विपिन कार्की रहन्छु न अरु कोही । मेरो चरित्र के हो ? उसको परिवेश के हो ? रहनसहन कस्तो हो ? भाषा-लवज कस्तो हो ? त्यस अनुरुप मैले आफ्नो काँचुली फेर्नुपर्छ ।

अर्थात म सधैभरी विपिन कार्की रहन्नँ ।

आफ्नो चरित्रमा भिज्न एवं डुब्न म त्यही किसिमका संगत र परिवेशमा पुग्ने गर्छु । कहिले यायावर बनेर खोला किनारका सुकुम्बासी बस्तीहरु चाहार्न पुग्छु, कहिले त्यहीँका ठिटाहरुसँग क्यारेमबोर्ड खेलिरहेको हुन्छु ।

म पनि क्यारेमबोर्ड खेल्न पालो माग्छु । उनीहरु जस्ता छन्, त्यस्तै भइदिन्छु ।

मैले सिनेमामा जुन किसिमको चरित्र निर्वाह गर्नुपर्ने हो, ती हाम्रै समाजमा छरपस्ट हुन्छन् । ती भिन्न-भिन्न चरित्रलाई एकत्रित गरेर म आफ्नो चरित्रलाई जिवन्त र घतलाग्दो बनाउने प्रयास गर्छु । यसरी समाजमा चरित्र खोज्न हिँड्दा सकेसम्म ‘विपिन कार्की’लाई लुकाउने यत्न गर्छु । कतिले चिन्छन्, धेरैले चिन्दैनन् ।

सेल्फी किंगमा मैले श्रीमतीलाई ‘तँ’ सम्बोधन गर्नुपर्ने । आफ्नी श्रीमतीलाई कहिल्यै ‘तँ’ नभनेको मान्छे । मुख नै नलाग्ने

चरित्र टिप्नका लागि निम्न मध्यमवर्गीय समाजमा घुलमिल हुनुपर्छ । उनीहरु खुलस्त हुन्छन् । आफू जे हो, जस्तो हो, त्यही अनुरुप पेश हुन्छन् । मध्यम एवं उच्च वर्गीयहरु भने नाटकीय हुन्छन् । उनीहरुले वस्तविकतालाई ढाकछोप गरेर आफूलाई फरक देखाउने बल गरिरहेका हुन्छन् । मलाई देखावटी कुरामा विश्वास लाग्दैन ।

बाल्यकालका, किशोरवयका जीवन-भोगाइ वास्तविक हुन्छन् । आज कतिपय चरित्र निर्माणका लागि मलाई त्यही भोगाइ काम लागेको छ । हिँजो आफूले भोगेका, अनुभव गरेक कुराहरु आज अभिनय गर्न सहज हुन्छ ।

कतिपय चरित्र भने आफ्नो भोगाइ भन्दा फरक हुन्छ । त्यस्तो बेला अरुको भोगाइलाई आफूले अनुभूत गर्नपर्छ । यसरी अरुको भोगाइ अनुभूत गर्नका लागि उनीहरुसँग संगत गर्नुपर्छ । उनीहरुको मनोभाव, प्रवृत्ति, लवज आदिलाई सुक्ष्म-अवलोकन गर्नुपर्छ ।

‘सेल्फी किंग’ एउटा कलाकारको कथा हो । त्यसमा मैले जुन पात्रको भूमिका निर्वाह गर्नुपर्ने थियो, मेरो जीवन-भोगाइसँग धेरै नजिक थियो । तर कतिपय कुरामा भने म अभ्यस्त थिइनँ । जस्तो कि, सेल्फी किंगमा मैले श्रीमतीलाई ‘तँ’ सम्बोधन गर्नुपर्ने । आफ्नी श्रीमतीलाई कहिल्यै ‘तँ’ नभनेको मान्छे । मुख नै नलाग्ने । श्रीमतीलाई फकाएँ, ‘आजदेखि तिमीलाई म तँ भन्छु ल ।’ उनले ‘हुन्छ’ भनिन् ।

अक्सर सिनेमामा निर्वाह गर्नुपर्ने कुनै पनि चरित्रलाई म घरमा पनि अभ्यास गरिरहेको हुन्छु । जस्तो कि, रिसाउने क्यारेक्टर छ भने म घरमा पनि रिसाएझैं गरिरहेको हुन्छु । गम्भीर क्यारेक्टर छ भने घरमा पनि गम्भीर बन्ने अभ्यास गरिरहेको हुन्छु । सुरु सुरुमा त मेरो यस्तो थरीथरीको बानीव्यवहार देखेर श्रीमती छक्क परिन् । अहिले उनलाई बानी परिसक्यो । म ठट्यौली गरिरहेको छु भने उनले बुझ्छिन् कि कुनै सिनेमामा मैले ठट्यौली भूमिका गर्दैछु ।

आवरण बदलेर मात्र पुग्दैन

सिनेमामा एउटा चरित्र निर्माणका लागि सानो मेहनतले पुग्दैन । आफूभन्दा फरक पात्र बन्नका लागि फरक गेटअप गरेर मात्र पुग्दैन ।
हुन त हामीकहाँ यसरी पनि काम चलिरहेको छ । तर, वास्तवमै आफ्नो भूमिकालाई न्याय गर्ने हो भने आवरण बदलेर पुग्दैन । आफ्नो अन्तर्मनबाटै आफूलाई बदल्न सक्नुपर्छ । त्यो भूमिका गरिरहँदा मैले अभिनय गरिरहेको छु भन्ने सोच्ने होइन, म स्वयम् त्यो पात्र हुँ भन्ने अनुभूत गर्नुपर्छ । यसका लागि आफूले निर्वाह गर्ने चरित्रलाई मिहिन रुपमा केलाउन सक्नुपर्छ । उनको मनोविज्ञान, आनीबानी, चालढाल सबै कुरा आफूले ग्रहण गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

अतिरिक्त पात्रको भूमिका

कहिल्यै कोट नलगाएका पात्रलाई पनि सुट-पाइन्टमा सजाएर राखिन्छ । कहिल्यै गाईवस्तुको छेउ नपरेकालाई गोठालो जस्तै बनाइन्छ । निर्देशकको यस्तै जबरजस्तीले सिनेमा नाटकीय बन्न पुग्छ

तर सिनेमामा एकाधको मिहिनेत मात्र काफी हुँदैन । हामीकहाँ मुख्य पात्रको चरित्र-निर्माणमा जति मिहिनेत गरिन्छ, सहायक पात्रका लागि त्यसो गरिँदैन । सहायक मात्र होइन, अतिरिक्त पात्रलाई पनि अर्थपूर्ण ढंगले उभ्याउनुपर्छ । जबकी हामी यही ठाउँमा चिप्लने गरेका छौं ।
हाम्रा सिनेमा अलि नाटकीय जस्तो लाग्नुको कारण पनि यही हो । किनभने मुख्य पात्रलाई जसरी पेश गरिन्छ, फ्रेमभित्र देखिने अरु पात्रलाई उपेक्षा गर्नुहुन्न । मुख्य पात्रलाई सशक्त बनाउने भनेको सहायक एवं अतिरिक्त पात्र पनि हुन् ।

सिनेमाको फ्रेमभित्र समेटिने पात्र मात्र होइन, वस्तु वा दृश्यहरु पनि उत्तिकै अर्थपूर्ण हुनुपर्छ । पृष्ठभूमिमा कस्ता दृश्य राख्ने ? किन राख्ने ? निर्देशकसँग स्पष्ट जवाफ हुनुपर्छ ।

अतिरिक्त पात्र कहाँ बसेका छन्, किन र कसरी बसेका छन् ? अघिल्लो दृश्यमा कहाँ थिए ? यी सबै कुरा याद हुनुपर्छ । तर हाम्रो सिनेमा मेकिङ भुत्ते छ, यति धारिलो भइसकेको छैन ।

अतिरिक्त पात्र सस्तोमा वा सित्तैमा खोज्ने प्रवृत्ति छ । यही चक्करमा कहिल्यै कोट नलगाएका पात्रलाई पनि सुट-पाइन्टमा सजाएर राखिन्छ । कहिल्यै गाईवस्तुको छेउ नपरेकालाई गोठालो जस्तै बनाइन्छ । निर्देशकको यस्तै जबरजस्तीले सिनेमा नाटकीय बन्न पुग्छ ।
दृश्यमा होइन, हरेक सटमा कहाँ के पर्छ, कसरी पर्छ भन्ने कुराको हेक्का हुनुपर्छ ।

सह-पात्र एवं अतिरिक्त पात्र पनि उत्तिकै सशक्त हुनुपर्छ भन्ने मलाई लाग्छ । त्यसैले म संलग्न सिनेमामा यस विषयमा निर्माता/निर्देशकसँग बहस हुन्छ । कतिपयसँग म काम गर्न सक्दिनँ भनेर झगडासमेत गर्नुपर्छ ।

हुन त मलाई पारिश्रमिक दिइएको हुन्छ, चुपचाप बसे पनि हुने । सिनेमा उनीहरुको, लगानी उनीहरुको, मलाई किन टाउको दुखाइ भनेर पनि बस्न सक्थें होला । तर मलाई पैसाका लागि सिनेमा गर्नुछैन । सिनेमाको संख्या थप्ने चक्करमा पर्नु पनि छैन । म सीमित सिनेमा गर्छु । तर जति गर्छु, त्यसमा तन-मन दिन्छु ।

सिनेमाको संख्या बढाउनु छैन

हुन त यतिबेला मलाई धमाधम सिनेमाको अफर आउँछ । एक हिसाबले सोच्ने हो भने, ती सबै सिनेमा खेलिदिए हुने । दुई वर्षमा मस्त पैसा कमाइन्थ्यो । ऐश-आरामको जिन्दगी बिताउन सकिन्थ्यो । मौका यही हो ।

तर, म यसरी सोच्दिनँ । मलाई दुई वर्षमा एक दर्जन सिनेमा गरेर पैसा सोहोर्नु छैन । पैसाको अपेक्षा जीवनमा कहिल्यै पूरा हुँदैन भन्ने कुरा मलाई वोध छ । त्यसैले पैसाको खातिर एकपछि अर्को सिनेमा गर्ने चक्करमा पर्नेछैन ।

म के सोच्छु भने, हिँजो म जहाँ थिएँ, आज धेरै माथि पुगिसकेको छु । हिँजो त मेरो अवस्था यस्तो थिएन नि । हिँजोभन्दा आज धेरै सुधार भएको छ । यसमा मैले सन्तोष गर्ने हो ।

विश्राम गर्ने सोंच

श्रीमती गर्भवती थिइन् । यस्तो अवस्थामा श्रीमानको सहयोग र सामिप्य चाहिन्छ । त्यसैले ‘जात्रै-जात्रा’ गरेपछि एक वर्ष विश्राम लिने मनस्थिति पनि बनाएँ । त्यही बखत मेरो हातमा ‘सेल्फी किंग’को स्कृप्ट पर्‍यो ।

उक्त टिमसँग कुनैबेला अघोषित सहमति गरेको थिएँ टिमवर्क गर्छु भनेर । स्कृप्टको कारणले म अस्थिर भइदिएँ । एक वर्ष ढुक्कले आराम गर्ने मनस्थिति बदलियो । यति राम्रो स्कृप्टमा काम गर्न पाइएन भने एउटा राम्रो मौका गुमाउनुपर्नेछ भन्ने लाग्यो ।

अक्सर स्कृप्ट पाएपछि म त्यसलाई सरसर्ती हेर्छु । त्यहाँ मेरो हृदयलाई स्पर्श गर्ने कुनै प्लट, दृश्य छ भने मलाई पुग्छ ।

‘सेल्फी किंग’को एउटा दृश्यले मेरो मन छोयो । यो कुरा मैले श्रीमती रेश्मा कटुवाललाई सुनाएँ । उनले कति खुसीसाथ भनिन्, ‘अरे ! अहिले मेरो व्यथा लग्ने बेला भएको छैन । यतिको अवस्थामा त अरु महिलाहरु काम नै गरिरहेका हुन्छन् । मेरो सुर्ता गर्नुपर्दैन, काम गर्नुहोस् ।’

यसरी म ‘सेल्फी किंग’मा जोडिएँ । यो एउटा हास्य कलाकारको जीवन–भोगाईको कथा हो । सेल्फी किंगामा जुन मूल पात्र छन्, उनमा मेरा आफ्नै अनुभव र अनुभूतिहरु पनि मिसएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment