Comments Add Comment

चीनबाट नेपाली विद्यार्थीको उद्धारमा कुन जहाज जाँदैछ ?

२१ माघ, काठमाडौं । सरकारले चीनको वुहानबाट नेपाली विद्यार्थीको उद्धार गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चीनबाट नेपाली विद्यार्थी ल्याउने सम्बन्धमा तयारी भइरहेको मंगलबारको संसद बैठकमा जानकारी दिए ।

उनका अनुसार सरकारले चीनबाट फर्कन चाहनेलाई चीनस्थित नेपाली दूतावासमा फारम भर्न लगाइएको थियो । त्यसमध्ये १ सय ८० जनाले नेपाल फर्कन चाहेको फारम भरेका छन् ।

स्वास्थ्य मन्त्रालय विद्यार्थी फर्काउन जोडतोडले लागिरहेका समयमा कुन जहाज चीन जाँदैछ भन्नेबारेमा भने पर्यटन मन्त्रालय र स्वयम् वायुसेवा कम्पनीमा भने अन्यौल छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्समा समेत कहिलेका लागि कति सिट क्षमताको जहाज आवश्यक पर्‍यो भनेर मंगलबार साँझसम्म पनि औपचारिक माग भएको छैन ।

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार सरकारको कुनै पनि निकायले मंगलबार साँझसम्म नेपाल एयरलाइन्समा जहाज आवश्यक रहेको सम्बन्धमा जानकारी गराएका छैनन् ।

यता हिमालय एयरलाइन्सलाई समेत सरकारले जहाज चाहियो भनेर औपचारिक रुपमा पत्र पठाएको छैन । हिमालय एयरलाइन्सकी ब्रान्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट डिपार्टमेन्ट प्रमुख उज्वला दलीले भनिन्, ‘अहिलेसम्म जहाज आवश्यक भयो भनेर हामीलाई कुनै माग भएको छैन ।’

स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयले चीनबाट नेपाल फिर्ता हुने यात्रु र फिर्ता ल्याउने मितिबारे निर्णय गर्न नसक्दा चीन जाने जहाजको टुंगो नलागेको पर्यटन मन्त्रालयको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार परराष्ट्र मन्त्रालयबाट माग भएपछि पर्यटन मन्त्रालयले जहाजको व्यवस्थापन गर्नेछ ।

‘हामीले जहाज उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छौं,’ उनले भने, ‘तर, अहिलेसम्म मिति र संख्या तय नभएका कारण वायुसेवा कम्पनीसँग नमागिएको हो ।’

प्रधानमन्त्री कार्यालय, परराष्ट्र र स्वास्थ्य मन्त्रालयलगायत सरोकारवालाको बैठकमा पर्यटन मन्त्रालयको तर्फबाट आवश्यक परेको बेला नेपाल एयरलाइन्स वा हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गर्न सकिने जानकारी गराइएको थियो ।

अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्न सक्ने गरी नेपालसँग कूल सात वटा जहाज छन् । त्यसमध्ये ४ वटा नेपाल एयरलाइन्स र तीनवटा हिमालय एयरलाइन्ससँग छन् । नेपाल एयरलाइन्ससँग दुई वटा २७४ सिट क्षमताका दुई वाइडबडी र १५८ सिट क्षमताका दुई न्यारोबडी जहाज रहेका छन् । हिमालय एयरलाइन्ससँग भएका सबै जहाज न्यारोबडी हुन् ।

सरकारले चाहेको बेला जुनसुकै समयमा जहाज उपलब्ध हुने अपेक्षा सरकारको छ । पर्यटन मन्त्रालयले सरोकारवालासँग यही जवाफ दिइरहेको छ । तर, दुई वायुसेवा कम्पनीसँग भएका जहाज नियमित गन्तब्यमा उडिरहेका हुन्छन् ।

त्यसका लागि यात्रुले अग्रिम टिकट काटेका हुन्छन् । एक दिनका लागि मात्र एउटा जहाज उपलब्ध नहुने अवस्थामा पूर्वनिर्धारित रुटका उडान कटौती गर्नुपर्ने हुन्छ ।

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख ज्वार्चनका अनुसार नियमित उडानलाई नै प्रभावित नहुने गरी उडान सेड्यूल मिलाउन समेत कम्तिमा दुई दिनको समय लाग्छ । कुनै गन्तब्यमा छिटो उडान र कुनैमा डिले गरेर भएपनि चार्टर्डका लागि जहाज उपलब्ध गराउन सकिन्छ ।

पर्यटन सचिव अधिकारीका अनुसार चीनबाट फर्कने यात्रु धेरै हुने अवस्थामा नेपाल एयरलाइन्सको वाइडबडी जानेछ । नभए हिमालय र नेपाल एयरलाइन्समध्ये जुन जहाज लैजाँदा सेड्यूल फ्लाइट प्रभावित हुँदैन, सोही जहाज चीन जानेछ ।

विमानस्थलमा तयारी के छ ?

अहिले त्रिभुवन विमानस्थलमा थर्मल स्क्यानर जडान भएको छ । यस स्क्यानरले ९८ डिग्री फरेनहाइट भन्दा बढी तापक्रम भएको यात्रु नेपाल प्रवेश गरेको पाउनासाथ उसलाई अन्य यात्रुबाट छुट्याएर एम्बुलेन्समा राखी स्वास्थ्य जाँचका लागि लैजाने व्यवस्था गरिएको छ ।

अहिले चीन आफैले कोराना संक्रमणको आंशका लागेका कुनै पनि यात्रुलाई जहाजबाट यात्रा गर्न नदिएका कारण धेरै हदसम्म संक्रमित यात्रु आउने सम्भावना भने कम छ । चीनबाट नेपाल ल्याउन लागिएका नेपालीको हकमा भने विमानस्थलले विशेष व्यवस्थापनको तयारी गरेको छ ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार यो जहाजलाई आपतकालीन अवस्थामा हुने जस्तै व्यवस्थापन गरिनेछ । सकेसम्म जहाजलाई केही महिना अगाडि संचालनमा आएको रिमोट पार्किङ क्षेत्रमा लैजाने योजना छ । पाइलटसहित चालक दलका सदस्यले लगाउने सुरक्षा मास्क, एप्रोन तथा अन्य व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्नेछ । यात्रुको अध्यागमन र भन्सारमा हुने काम पार्किङ वेमै हुने व्यवस्था मिलाइनेछ ।

त्यहाँबाट उनीहरुलाई स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको स्थानमा लगेर नियमित स्वास्थ्य परीक्षण गरिनेछ । त्यसो त चीनमा समेत उनीहरुको स्वास्थ्य परीक्षण भई भाइरसको संक्रमण भएको भए चीनमै अस्पताल भर्ना गरिनेछ ।

नेपालमा विमानस्थलबाट बाहिरी निस्किएपछि अन्य यात्रुसँग भेटघाट नहुने गरी व्यवस्थापन मिलाइने महाप्रबन्धक केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment