Comments Add Comment

विश्वकप लिग २ : नेपाललाई ओमानविरुद्ध बदला लिने अवसर

फाइल फोटो

२२ माघ, काठमाडौं । बुधवार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानविरुद्ध खेल्दै नेपालले आईसीसी विश्वकप लिग २ मा डेब्यु गर्दैछ । ओडीआई मान्यता पाएपछि घरेलु मैदानमा नेपालको यो पहिलो ओडीआई खेल पनि हुनेछ ।

लिग २ अन्तर्गत पहिलो सिरिज खेल्न लागेको नेपालले ओमानसँगै अमेरिकासँग पनि खेल्नेछ । सिरिज माघ २२ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । नेपाल क्रिकेट संघ क्यान निलम्बन भएयता पनि नेपालले ठूलो सिरिज खेल्दैछ । ऐतिहासिक सिरिजलाई सफलतापूर्वक सम्पन्न गर्दै संघलाई पनि प्रमाणित गरेर देखाउने अवसर छ ।

सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले ओमानसँग खेल्दैछ । पछिल्लो पटक नेपाल र ओमान २०१८ मा डिभिजन २ मा खेलेका थिए, जहाँ नेपाल ६ विकेटले पराजित भएको थियो । दुई वर्षपछि ओमानसँग भिड्दा नेपाललाई घरेलु मैदानमा दर्शकका अगाडि जित हात पार्दै बदला लिने अवसर छ ।

सन् २०२३ मा भारतमा हुने ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको विश्वकप लिग २ मा नेपाल, ओमान र अमेरिकासहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । ओमान र अमेरिकाले यसअघि २-२ सिरिज खेलिसकेका छन् । नेपालले घरेलु मैदानमा खेल्दै सिरिजमा डेब्यु गर्दै छ ।

नेपालले २०१३ यता ओमानलाई पराजित गर्न सकेको छैन । त्यसैले पनि सात वर्षपछि घरेलु मैदानमा ओमानविरुद्ध जित हात पार्दै नेपाल पछिल्ला हारको बदला लिने योजनामा छ

नेपाल र ओमानबीचको खेल बुधवार बिहान साढे नौ बजे टीयू मैदानमा शुरु हुनेछ । ओडिआई मान्यता पाएपछि नेपाल र ओमानबीच पनि यो पहिलो खेल हुनेछ ।

नेपाल र ओमान यसअघि ५० ओभरको खेलमा सात पटक प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले ३ खेल जित्दा ४ खेल ओमानले जितेको थियो । सन् २०१३ को डिभिजन ३ मा पछिल्लो पटक नेपालले हराएको थियो । बर्मुडामा भएको त्यो खेल नेपालले २८ रनले जितेको थियो । त्यसयता नेपाल लगातार खेलमा ओमानसँग पराजित भएको छ । यस पटक घरेलु दर्शकको अगाडि त्यो हारको बदला लिने अवसर नेपाललाई छ ।

२०१९ अगष्ट शुरु भएको लिग २ मा ओमान ८ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । नेपालले खेल्ने अर्को टिम अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ । दुई उत्कृष्ट टिमबीच राम्रो खेल्दै नेपाललाई सुखद शुरुवात गर्ने अवसर छ  ।

नेपालले २०१३ यता ओमानलाई पराजित गर्न सकेको छैन । त्यसैले पनि सात वर्षपछि घरेलु मैदानमा ओमानविरुद्ध जित हात पार्दै नेपाल पछिल्ला हारको बदला लिने योजनामा छ ।

कप्तान ज्ञानेन्द्र मल्लले सिरिजका लागि नेपालले राम्रो तयारी गरेको बताए । ‘पोखरादेखि यहाँसम्म आउँदा ओभरअल प्राक्टिस म्याच प्रशिक्षण राम्रो भयो,’ मल्लले भने । यस्तै मल्लले घरेलु मैदानमा खेल्दा दबाबभन्दा बढी उत्साह हुने प्रतिक्रिया दिए । ‘हामी सबै जना उत्साहित छौँ । नेपालमा पहिलो पटक ओडीआई सिरिज हुँदैछ र हामीलाई घरेलु मैदानको फाइदा उठाउने अवसर छ,’ उनले भने ।

यस्तै ओमानका कप्तान जिसन मक्सुदले पनि यस सिरिजको लागि राम्रो तयारी गरेको र नेपालमा खेल्न उत्साहित रहेको बताए । उनले नेपाल र अमेरिका राम्रो टिम रहेकाले राम्रो क्रिकेट खेल्नुपर्ने बताए । ‘हामीलाई थाहा छ दुवै राम्रो टिम हुन् । लिग २ को शीर्ष तीनमा पर्ने हो भने हामीले राम्रो क्रिकेट खेल्नुपर्छ,’ उनले भने ।

उनले पछिल्लो ६ महिनादेखि ओमानले लगातार खेलिरहेको र सबैले मिहिनेत गरिरहेको बताए । ‘कडा मिहिनेत गरिरहेका छौँ । खेलाडीहरु सबै फिट छन् । आफ्नो प्रदर्शन देखाउन भोकाएका छन्,’ उनले भने । उनले नेपाली दर्शकको अगाडि खेल्दा दबाब हुने बताए । ‘म यहाँ २०१३ मा आएको थिएँ । नेपाली फ्यान मैदानमा धेरै हुन्छन् । मलाई थाहा छ कस्तो दबाब हुन्छ भनेर । उनीहरु चियरिङ गर्छन् त्यसले हामीलाई पनि बुस्ट गर्छ,’ मक्सुदले भने ।

२०१३ मा नेपालमा भएको एसीसी टी-२० कप खेल्न ओमान नेपाल आएको थियो । तर मैदानमा नेपाल र ओमानको भेट भने भएन ।

नेपाल भर्सेज ओमान हेड टु हेड

२००२ एसीसी ट्रफी : नेपाल १०५ रनले विजयी

२०१० एसीसी ट्रफी एलिट : नेपाल ६ विकेट विजयी

२०१३ डिभिजन थ्री : नेपाल २८ रनले विजयी

२०१४ एसीसी पि्रमियर लिग : ओमान २ विकेटले विजयी

२०१५ एसोसिएट टुर म्याच : ओमान ३ विकेटले विजयी

२०१८ डिभिजन टू : ओमान ६ विकेटले विजयी

२०१८ एसिया कप छनोट : ओमान ७ विकेटले विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment