Comments Add Comment

‘ए’ डिभिजन लिगमा ११ औं चरणका खेल आजबाट

उपाधि होडको टिम र रेलिगसन जोनको टिम भिड्दै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अहिले उपाधि होडदेखि रेलिगसन जोनसम्म रोमाञ्चक मोडमा पुगेको छ । दशौं चरणमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब च्यासल युथ क्लबसँग पराजित भएपछि अहिले उपाधि होडमा २ क्लब देखिएका छन्, त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब ।

रेलिगेसन जोनमा अर्को विभागीय टोली एपीएफ र सरस्वती युथ क्लब रहेको छ । दशौं चरणको खेलपछि आर्मी २३ अंकसहित शीर्ष स्थानमा छ भने २२ अंक जोडेको मछिन्द्र दोस्रोमा छ ।

यस्तै, पुछारका २ क्लब एपीएफ र सरस्वतीबीच पनि १ अंककै अन्तर छ । १० खेलबाट ५ अंक रहेको एपीएफ पुछारबाट दोस्रो अर्थात् १३ औं स्थानमा छ । ४ अंक जोडेको सरस्वती पुछारमा छ । दुवै टोलीलाई रेलिगेसनको चर्को दबाव छ ।

यही शीर्ष र पुछारका क्लबबीच ११ औं चरणको सुरुवाती खेल हुँदैछ । जसमा लिग लिडर आर्मीले विभागीय डर्बीमा एपीएफसँग पहिलो खेल खेल्नेछ। खेल बिहान साढे ११ बजे सुरु हुनेछ । यसअघि भएको विभागीय डर्बीहरूमा पुलिसले एपीएफलाई हराएको थियो भने पुलिसलाई आर्मीले हराएको थियो । उपाधि होड बलियो बनाउनुका साथै विभागीयमा पनि बलियो देखिने अवसर आर्मीलाई छ । एपीएफलाई पराजित गरेमा आर्मीले मछिन्द्रविरुद्ध केही समयका लागि भए पनि ४ अंकको अग्रता बनाउनेछ । एपीएफलाई पनि विभागीय प्रतिष्ठाका साथै अंक तालिकामा अगाडि बढ्न जितकै आवश्यकता छ । तर राष्ट्रिय खेलाडीहरू रहेको आर्मीसामू एपीएफलाई जित हात पार्न सहज भने छैन ।

यस्तै आर्मीसँग उपाधि होडमा टक्कर गरिरहेको मछिन्द्रले दिउँसो ३ बजे सरस्वतीसँग खेल्नेछ । पहिलो खेलमा आर्मी र एपीएफको नतिजा हेरेर मछिन्द्र र सरस्वतीले खेल्नेछ ।

मछिन्द्रलाई पनि उपाधि होडमा कायमै रहन जितको खाँचो छ । उता सरस्वतीलाई पनि रेलिगेसन टार्न जित नै चाहिन्छ ।

लिगको अन्तिम खेलमै आर्मी र मछिन्द्र खेल्ने भएकोले त्यसअघिका दुई खेलमा यी दुई टिमको नतिजा कस्तो आउँछ त्यसैले उपाधिको समीकरण तय गर्नेछ ।

१२ औं चरणमा आर्मीले ब्रिगेड ब्वाइज र मछिन्द्रले संकटा क्लबसँग खेल्नेछ ।

आर्मी र मछिन्द्रभन्दा पछि रहेको साविक विजेता मनाङ १० खेलबाट १९ अंकसहित तेस्रो स्थानमा छ । च्यासलसँग हारेपछि उपाधि रक्षा गर्ने अभियानमा धक्का लागेको मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले बताइसकेका छन् । तैपनि अंकगणितीय समीकरणमा मनाङ पनि उपाधि रेसमै छ । त्यसका लागि आर्मी र मछिन्द्रले अबका खेल कस्तो खेल्छ त्यसमा भर पर्नेछ । तर मनाङको अबका तीन खेल सजिलो भने छैन । ११ औं चरणमा मनाङले एनआरटीसँग खेल्नेछ । यस्तै १२ औं चरणमा नेपाल पुलिस र १३ औं चरणमा जावलाखेल युथ क्लबसँग खेल्नेछ ।

यसैगरी, १० खेलबाट १७ अंक जोड्दै चौथो स्थानमा रहेको थ्री स्टार क्लबले ११ औं चरणमा पाँचौं स्थानको संकटा क्लबसँग खेल्नेछ। साविक उपविजेता संकटाको समान खेलबाट १५ अंक छ । थ्री स्टारले बाँकी दुई खेलमा एनआरटी र च्यासलसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment