Comments Add Comment

मायाको हत्यामा संलग्न ४ जनालाई जन्मकैद फैसला

बलात्कारमा सजाय तोकिन बाँकी

२३ माघ, धनगढी । ‘श्रीमान् हामी पढेलेखेका छैनौं । मिलाएर भन्न जान्दैनौ । तर, छोरी मायाको बर्बर ढङ्गले हत्या गर्न यी नै हुन् । कारबाही हुनैपर्छ ।’

बुधबार जिल्ला अदालत कैलालीमा बहस भइरहँदा माया बिकका ठुलोबुवा खडक विकले न्यायाधीश कृष्णप्रसाद नेपाललाई घटनाबारे बुझाउँदै थिए । माया बिकका बुवा हर्कबहादुर अन्तिम बेञ्चमा बसेर बहस सुन्दै थिए । दुबै पक्षको बहसले उनलाई भावुक बनाइरहेको थियो ।

९ पटकसम्म पेसी सरेको मुद्दामा बहस भइरहँदा अदालत बाहिर पीडित पक्षका थुप्रै आफन्तको उपस्थिति थियो । साँझ सात बजेपछि आएको अदालतको फैसलाले पीडित पक्षको मुहारमा मुस्कान ल्याएको थियो ।

कैलालीको गौरीगंगा नगरपालिका कि २१ वर्षीय माया बिकको बलात्कार गरी हत्या गरेको ठहर गर्दै जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले चार जनालाई जन्मकैदको फैसला गरेको छ ।

बलात्कारपछि हत्या गरिएको मुद्दामा गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी र भुवन खातीलाई जन्मकैदको फैसला सुनाएको अदालतका तहसिल्दार नरबहादुर नेगीले जानकारी दिए ।

अदालतले जबरजस्ती करणी मुद्दामा पनि सुरज चौधरी र भुवन खातीलाई दोषी ठहर गरेको छ । उनीहरू दुवै जना कर्तव्य ज्यानमा पनि दोषी ठहर भएका छन् । जबरजस्ती करणीमा दोषी देखिएकाहरूको मुद्दाको फैसला आगामी फागुन १२ गते हुने नेगीले बताए ।

घटनामा संलग्न नभएको तर प्रत्यक्ष देखेको भन्दै तपेन्द्र बोगटीलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १७(२) को कसुरमा ५ वर्ष कैदको फैसला भएको अदालतले जनाएको छ ।

‘४ जना सबै हत्यामा संलग्न थिए । उनीहरू विरुद्ध कर्तव्य ज्यान अन्तर्गत फैसला भएको छ’ तहसिल्दार नरबहादुर नेगीले भने, ‘तीमध्ये दुई जनाले बलात्कार पनि गरेको पाइयो । उनीहरू विरुद्ध जबरजस्ती करणी मुद्दामा पनि सजाय तोकिने छ ।’

पक्राउ परेका तपेन्द्र बोगटीले हत्या र बलात्कार नगरे पनि अपराध गर्न सहयोग भएको भन्दै ५ वर्ष कैद सजाय सुनाइएको उनले जानकारी दिए ।

न्याय पाए पीडितले

गत वर्ष असार १२ गते घरबाट कार्यालय जान भनेर निस्किएकी मायाको शव १५ गते कैलालीको गौरीगंगा नगरपालिका ११ को चपथली सामुदायिक वनको जङ्गलमा भेटियो ।

प्रहरीले एक साता अनुसन्धान गर्दै युवतीको बलात्कार पछि हत्या भएको जनायो । कैलालीका तत्कालिन प्रहरी प्रमुख एसपी विनोद घिमिरेले घटनामा संलग्न रहेको भन्दै ३० वर्षका गणेश बडुवाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षको भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटीलाई पक्राउ गरी सार्वजनिक गरेका थिए ।

२१ महिनापछि फैसला हुँदा पीडित परिवारले न्याय पाएको बताएका छन् । ‘छोरीको बीभत्स हत्यो भयो न्याय पाइँदैन कि भन्ने चिन्ता थियो । तर, हामीले न्याय पायौं ’फैसलापछि उनका ठूलोबुवा खडक विकले प्रतिक्रिया दिए ।

फैसलामा ढिलाइ हुँदा आफूहरू चिन्तित भएको उनले बताए । ‘हामीसँग मान्छे कोही पनि थिएनन्, पैसा पनि थिएन’ भावुक हुँदै उनले भने, ‘पैसा पेलेर दोषी छुट्छन् कि भन्ने चिन्ता थियो । त्यो हुन पाएन । हामी खुसी भयौं ।’

नातीनीको आत्माले शान्ति पाएको भन्दै मृतक माया बिकका हजुरबुबा गङ्गाराम बिक पनि पैmसला पछि भावुक भए । ‘मेरी नातिनीलाई मार्नेहरू माथि जस्तो सजाय होस् भन्ने सोचेका थियौं त्यस्तै भयो’ उनले भने ‘नातिनी त मरिन् तर, न्याय मरेन ।’

आमाले सुन्न पाइनन् यो फैसला

मायाका बुबा हर्बबहादुर बिक दीर्घरोगी छन् । आमाले कुवेत गएर छोरी उनलाई पढाउँदै आएकी थिइन् ।

मायाले गौरिगंगा नगरपालिकामा सामाजिक परिचालकको काम पाएपछि आमा वैदेशिक रोजगारीको लागि जान नपर्ने भयो भन्नेमा थिइन् ।

असार ३ गते माया सामाजिक परिचालकका लागि छनोट भइन् । असार ५ गतेदेखि काममा लागिन् । असार १२ गते उनी अपहरण भइन्, १५ गते शव फेला पर्‍यो ।

कमाउने छोरी नै गुमाएपछि मायाकी फेरि कुवेत गइन् । छोरीको न्यायको लागि पनि रकम चाहिने । घर चलाउनै सहज नभइरहेको उनको परिवारको लागि वैदेशिक रोजगारी भन्दा अर्काे विकल्प रहेन ।
‘माया कि आमाले यो फैसला सुन्दा त अत्याधिक खुसी हुन्थिन् होला ’मायाका हजुरबाले भने, ‘बाध्यताले बिचरी विदेशमा छिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment