Comments Add Comment

कोरोना प्रभाव : पोखरामा विदेशी पर्यटक देख्नै मुश्किल !

फाइल तस्वीर ।

२४ माघ, पोखरा । मुलुकको दोस्रो ठूलो पर्यटकीय गन्तव्य पोखरामा हिजोआज पर्यटकको संख्या घटेपछि व्यवसायी चिन्तामा परेका छन् ।

हालै चीनमा देखिएको नोबेल कोरोना भाइरसका कारण पर्यटकको आगमन ठप्प भएपछि पोखराका पर्यटन व्यवसायी चिन्तित बन्न पुगेका छन् । व्यवसायीले भन्ने गरेका छन्, ‘कोरोना भाइरसकै कारण लेकसाइडमा विदेशी पर्यटक देखिए पनि नौलो लाग्ने अवस्था आइसक्यो ।’

यो समय भनेको चिनियाँको नयाँ वर्षको समय हो । चिनियाँको नयाँ वर्षको मौकामा लेकसाइडका पर्यटन व्यवसायी चिनियाँ पर्यटक बढीभन्दा बढी भित्र्याउने सोचमा थिए । तर, चीनमा कोरोनाको महामारी फैलिएसँगै विदेशी पर्यटक आउनै छोडेपछि निराश भएका हुन् ।

‘यो तेस्रो मुलुकभन्दा पनि चाइनिजको सिजन थियो । उनीहरुको नयाँ वर्ष भएकाले यतिबेला नेपाल घुम्न धेरै आउँथे,’ पोखरा पर्यटन व्यवसायी संघ अध्यक्ष चिरञ्जीवी पोखरेलले भने, ‘कोरोनाले गर्दा सबै बुकिङ क्यान्सिल भयो ।’

कोरोनाकै कारण अन्य देशका पर्यटक पनि नआएका ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेश अध्यक्ष तथा होटल रानीवन अर्क्याडका सञ्चालकसमेत रहेका हरि भुजेल बताउँछन् ।‘ चीन छिमेकी देश भएकाले त्यसको प्रभाव नेपालमा पनि पर्छ कि भनेर बुक भइसकेका अधिकांश तेस्रो मुलुकका पर्यटकले धमाधम क्यान्सिल गरिसके ।’

नेपालमा पद यात्रा गर्न आउने पर्यटकको संख्यामा पनि उल्लेख्य कमी आइसकेको भुजेल सुनाउँछन् । उनले भने, ‘यसअघि पदयात्रा गर्न पर्यटक धेरै आउँथे । तर, अहिले एकाध मात्रामा आउँछन् । आए पनि उनीहरु लेकसाइडमा बस्दैनन्, सींधै गाउँतिर पुग्छन् ।’

पश्चिमा मुलुकका धेरै पर्यटक नेपालमा पदयात्राका लागि आउँछन् । भारतबाट आउनेमा धेरै धार्मिक पर्यटक हुन्छन् भने चिनियाँ प्याराग्लाइडिङ लगायतका साहसिक खेलमा रमाउन पोखरा आउँथे । तर, यतिबेला पोखरामा सञ्चालित साहसिक खेलमा चिनियाँ नागरिकको अनुहार देखिनै छाडेको नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले सुनाए ।

‘कोरोना भाइरसको इपिसेन्टर नै चीन भयो । चीन हाम्रो छिमेकी देश भएकाले अहिले यसको प्रभाव सबैभन्दा बढी पर्यटन व्यवसायमा परेको छ,’ भट्टराईले भने, ‘पोखरा आएकामध्ये करिब ७० प्रतिशत प्याराग्लाइडिङमा रमाउँथे । तर, अहिले त सबै घटेर गए ।’ उनले चीनले ाफ्ना नागरिकलाई देशबाहिर जान नदिएकाले पनि पर्यटनमा कमी हुन गएको जनाए ।

पर्यटनमा चीनको मात्र भर पर्नुहुन्न रहेछ !

संघीय सरकारले भ्रमण वर्ष घोषणा गरेको यो वर्ष चिनियाँ र भारतीय पर्यटक धेरै आउने अपेक्षा थियो । नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराई एउटै मात्र पर्यटन बजारमा केन्द्रित गर्दा बेफाइदा हुने बताउँछन् ।

‘कोरोनाको त्रासले अलमोस्ट व्यवसायीको अवस्था नाजुक छ । हामीले त व्यवसायमात्रै गरेका हौं । यसका लागि त राज्यले नै कुनै अर्को विकल्पबारे सोच्नुपर्छ ।’

यो मौसममा पर्यटकको ‘लो सिजन’ हुनाले पर्यटक आगमन कमी हुने र त्यसमा पनि कोरोना भाइरसले आक्रान्त बनाएपछि राज्यले नै सोच्नुपर्ने बेला आएको टान गण्डकी अध्यक्ष हरि भुजेल सुनाउँछन् ।

‘कम्तीमा गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष घोषणा गरेको छ । त्यसलाई राम्रोसँग सदुपयोग गर्न सक्यौं र राज्यले पनि सहुलियतको व्यवस्था गर्‍यो भने केही माथि उठ्न सक्थ्यौं कि !’ उनले भने ।

पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले कोरोना भाइरसकै कारण पर्यटन व्यवसाय नाजुक स्थितिमा पुगेको भए पनि हतोत्साही नहुन आग्रह गरेका छन् । ‘यो त्यसै पनि लो सिजन हो । पर्यटकको आगमन यो बेला कमी हुन्छ,’ उनले भने, ‘हामी पर्यटन व्यवसायी चिन्तित भएर बस्ने होइन । नयाँ सम्भावनाको खोजी गर्नुपर्छ । आन्तरिक पर्यटकलाई फोकस गरेर कार्यक्रम ल्याउन सक्छौं ।’

उनले नेपालको पर्यटन व्यवसाय धान्ने भारतीय बजार पनि ठूलै भएकाले केही समयपछि प्रचारप्रसारमा जाने जानकारी दिए ।

होटल अकुपेन्सी २५ प्रतिशतमात्रै : होटल संघ

अघिल्ला वर्षमा घटीमा ४५ प्रतिशतसम्ममात्रै झरेको होटल अकुपेन्सी कोरोना भाइरस प्रभावका कारण करिब २५ प्रतिशतमा झरेको पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल्प तुलाचनले जानकारी दिए ।

‘पहिले पहिले चिनियाँ पर्यटक धेरै आउँदैन थिए । तर, पछिल्लो ७ वर्षयता उनीहरु आफ्नो नयाँ वर्ष मनाउने नयाँ गन्तव्यका रुपमा नेपाललाई चुनेका थिए,’ तुलाचनले भने, ‘यसरी उनीहरुको आगमन संख्या वार्षिक क्रमिक रुपमा बढ्दै गइरहेको थियो । तर, अहिले ठप्पै भयो ।’

उनले बुक भइसकेका होटल पनि क्यान्सिल गरिएकाले व्यवसायमा धेरै प्रभाव परेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment