Comments Add Comment

हत्या आरोपी वडाध्यक्ष कारागार चलान, फरार २ अध्यक्षकाे सुविधा राेकियाे

२५ माघ, विराटनगर । जिल्ला अदालत, मोरङले समानन्द यादव हत्या प्रकरणमा जोडिएका जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई शुक्रबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

जिल्ला अदालत, मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजलासले वडाध्यक्ष यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

हत्या आरोप लागेसँगै गत असारमा फरार अध्यक्ष यादव शुक्रबार अदालतमा हाजिर भएका थिए ।

विवाहको विषयमा विवाद हुँदा गत जेठ ३२ मा विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट घाइते यादवको २६ असारमा मृत्यु भएको थियो ।

यादवको मृत्यु भएपछि विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष बलदेव यादव, उनका छोरा रवीन, विराटनगर– १८ का अध्यक्ष सञ्जय शाह, विन्देश्वर यादव, शम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादव, बलदेवका भतिज दीपेश यादव र वडाध्यक्ष प्रदीपचन्द यादवविरुद्ध किटानी जाहेरी परेको थियो ।

हत्यामा संलग्न भएको आरोप लागेका तीन वडाध्यक्षसहित नौं जना फरार थिए । तर १० असोजमा हाजिर भएका २७ वर्षीय दीपेश यादवलाई जिल्ला अदालत मोरङले कारागार चलानको आदेश दिएको थियो । राजनीतिक पहुँच भएका दुई अध्यक्षसहित सातजना अझै फरार छन् ।

यता, विराटनगर महानगरपालिकाले फरार रहेका वडाध्यक्षको सुविधा रोकेको छ । हत्या आरोप लागेपछि फरार भएका विराटनगर– १४ का वडा अध्यक्ष बलदेव यादव र १८ का अध्यक्ष सञ्जय शाहको सुविधा महानगरपालिकाले रोकेको हो ।

हत्या आरोप लागेका दुई वडा अध्यक्ष गत असारयता वडा सदस्यलाई कार्यबाहक जिम्मेवारी दिएर फरार भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment