Comments Add Comment

सुल्झिएन पोखरामा पार्किङ समस्या, टेन्डर आह्वान गर्दा आवेदनै पर्दैन

२६ माघ, पोखरा । पोखरा महानगरका मुख्य सडकसँगै शाखा सडकमा पछिल्लो समय पार्किङ समस्या बढ्दै गइरहेको छ । महानगरले अस्तव्यस्त पार्किङ सुधार्ने भन्दै आए पनि समस्या उस्तै छ ।

पार्किङका लागि सडक नै ठेक्कामा दिन महानगरले पटक-पटक टेन्डर आहृवान गर्दा पनि कुनै कम्पनी इच्छुक नभएपछि पार्किङ टेन्डरसमेत महानगरको टाउको दुखाइको विषय बनेको छ ।

आवेदन नपरेपछि महानगरले ७ करोड रुपैयाँको टेन्डर मूल्य घटाएर ३ करोडमा झारेको छ । पार्किङ ठेक्का कै लागि महानगरले ६ पटक टेन्डर र २ पटक आशय पत्र माग गरिसकेको छ । तर, यसरी सूचना निकाल्न थालेको एक वर्षभन्दा बढी समय भइसक्दा पनि समस्या पार लगाउन सकेको छैन ।

जिल्ला यातायात कार्यालयको प्रतिवेदनअनुसार पोखरामा दैनिक १ लाख ४० हजारभन्दा बढी गाडी गुड्छन् । निश्चित पार्किङस्थल बनाउने र पार्किङलाई व्यवस्थित गराउनेतर्फ महानगरले उचित योजना ल्याउन सकिरहेको छैन । महानगरले उल्टै सडकमै पार्किङ गर्न टेन्डर आहृवान गर्ने गरेको छ ।

पार्किङ व्यवस्थित गर्न नसक्दा महानगर कार्यालय अघिल्तिरै अस्तव्यस्त रुपमा बाटोमै गाडी पार्किङ हुने गरेको छ ।

दुई चरणमा पार्किङ शुल्क टेन्डर आहृवान

महानगरले तेस्रो पटक सडक पार्किङको सूचना निकाल्दा टेन्डर मूल्य ५ करोडमा झारेको थियो । पहिलो पटक सूचना जारी गर्दा कुनै पनि आवेदन नपरेपछि महानगरकने निष्कर्ष थियो, ‘टेन्डर मूल्य बढी भएर कुनै कम्पनी इच्छुक भएनन् । टेन्डर मूल्य नै घटाएपछि आवेदन पर्ला नि !’

तर, महानगरले सोचेजस्तो भएन । तेस्रो पटकमा पनि कुनै आवेदन नपरेपछि चौंथो पटकमा ३ करोड ६ लाख रुपैयाँमा टेन्डर आहृवान गर्‍यो । चौथो पटकमा पनि कुनै कम्पनी महानगरसँग जोडिन चाहेनन् ।

यो पनि पढ्नुहोस उफ् ! पोखराको ट्राफिक : सडक छिचोल्नै सकस

महानगरले पाँचौ पटकमा कम्पनीको आशयपत्र माग गरेको थियो । जसमा ३ कम्पनी महानरगसँग काम गर्न इच्छा देखाएका थिए । तर, उनीहरुसँग पनि सम्झौता हुन सकेन ।

आवेदन दिएका ३ कम्पनीको नियमविपरीत भएको भन्दै सम्झौता हुन नसकेको अधिकृत शर्मा बताउँछन् । ‘आवेदन दिएका ३ वटा कम्पनीमध्ये २ वटा कम्पनीले पछि आएर आफैं काम गर्दैनौं भने । अर्को कम्पनीले बैंक धरौटी राख्न नमानेपछि सम्झौता हुन सकेन,’ उनले भने ।

छैटौं पटकमा महानगरले पुनः टेन्डर आहृवान गरेको थियो । छैटौं पटकमा २ वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएका पनि थिए । जसमध्ये सुस्मिता कन्स्ट्रक्सनले ३ करोड ३० लाख रुपैयाँ र सबस्वीकृति कम्पनीले ३ करोड ६ लाख रुपैयाँमा काम गर्न टेन्डर दिएका थिए । तर, ती कम्पनीसँग पनि महानगर जोडिन सकेन ।

यो पनि पढ्नुहोस पोखरामा फेरि सडकमै पार्किङ ठेक्का दिने तयारी

राजश्ज अधिकृत शर्माले भने, ‘दुवैलाई हामीले निश्चित समय दिएर सम्झौताका लागि बोलाएका थियौं । तर, दुवै समयमा उपस्थित नभएपछि कम्पनी नआएपछि उनीहरुको धरौती जफत गरिसकेका छौं ।’

महानगरले अहिले पुनः टेन्डर आहृवान गरेको । माघ २४ गते जारी भएको सूचनामा महानगरले दोस्रो पटकको सूचना उल्लेख गरेको छ । ‘टेन्डर आहृवानमात्रै ६ पटक पुग्यो । कसरी दोस्रो पटक ?’ अनलाइनखबरको प्रश्नमा महानगरका राजश्व अधिकृत शर्माले जवाफ दिए, ‘पहिलो चरणमा ४ पटक टेन्डर माग गरेका हौं । त्यसबेला सम्झौता हुन नसकेपछि यसलाई दोस्रो चरणको दोस्रो सूचना भनेका हौं ।’

महानगरले दोस्रो चरणको दोस्रो टेन्डर सूचनामा ३ करोड ६ लाख २० हजार रुपैयाँमा टेन्डर आहृवान गरेको छ । ‘पहिलेको सूचनामा कुनै पनि टेन्डर परेनन् । टेन्डर आवेदन दिएकाले सम्झौता गरेर पनि सम्झौता गर्न नआएपछि कारबाही गरेर दोस्रो चरण सुरु गरेका हौं,’ महानगर सूचना अधिकारी भरतराज पौडेलले भने ।

पहिलेकै कम्पनीबाट पैसा अझै उठेन !

पोखरा महानगरले पोखराका मुख्य क्षेत्रमा पार्किङ व्यवस्थित गर्न र शुल्क उठाउन ७३ सालमा २ वर्षका लागि अशेष निर्माण सेवालाई जिम्मा दिएको थियो । तत्कालीन समयमा महानगरले २ करोड ८८ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

कम्पनीसँग महानगरको सम्झौता सकिएको १ वर्षभन्दा बढी समय भइसकेको छ । कम्पनीबाट महानगरले अझै १ करोड रुपैयाँ उठाउन बाँकी छ । महानगर सूचना अधिकारी भरतराज पौडेल भन्छन्, ‘अशेषले दिन बाँकी १ करोड धरौटी जिल्ला अदालतमा मुद्दा परेकाले केही असुल गर्न पाइरहेका छैनौं ।’

उनले जिल्ला अदालतबाट धरौटी जग्गाको छिनोफानो हुनेबित्तिकै बाँकी रकम पनि असुल गरिने दाबी गरे । पोखराको मुख्य बजार क्षेत्रमा ठूला सवारी साधन पार्किङ गर्न नपाइनेसमेत सूचनामा भनिएको छ । बाँकी अन्य वर्गका सवारी साधनले भने महानगर मुख्य बजार क्षेत्रको सडकमै पार्किङ गर्न पाउने भएका छन् ।

पहिले पार्किङ निषेध, २ दिनमै निर्णय फिर्ता

महानगरले पहिलो चरणमा ४ पटक सडक पार्किङ सूचना जारी गर्दा पनि आवेदन नपरेपछि ‘नयाँ प्रक्रियाको पार्किङ व्यवस्थापन’ भन्दै न्युरोड क्षेत्रको सडकमा पुुस १ गतेदेखि ४ पांग्रे गाडी पार्किङमा पूर्ण निषेध गर्‍यो ।

पुस १ र २ गते महानगरले जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहयोगमा दिनभर सडकमा पार्किङ गरिएका गाडी हटाएर न्युरोड क्षेत्रमै खुलेको एक निजी पार्किङ स्थानमा शुल्क तिरेर पार्किङ गर्न लगाएका थिए । तर, आवश्यक समन्वय र पूर्वाधार निर्माणबिनै पार्किङ निषेध गरेर ‘पार्किङ व्यवसायीसँग मिलेमतो’ गरेको आरोपसहित चर्को आलोचना भएको थियो ।

महानगरविरुद्ध उक्त निर्णयविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्को आलोचना भएपछि २ दिनमै आˆनो निर्णयबाट पछि हट्नु परेको थियो । पुस १ गतेबाट लागु भएको ‘नो पार्किङ’ निर्णय पुस ३ गतेबाट सडकको दायाँ किनारामा गर्न पाउने गरी फिर्ता लिएको थियो ।
कहाँ कति पार्किङ शुल्क तिर्ने ?

विवरण मुख्य सडक क्षेत्र/प्रतिघण्टा अन्य सडक क्षेत्र/ प्रतिघण्टा
ठूला सवारीसाधन ३० रुपैयाँ
मझौला सवारी साधन ३० रुपैयाँ २० रुपैयाँ
हलुका सवारी साधन २० रुपैयाँ १५ रुपैयाँ
मोटरसाइकल/स्कुटर १० रुपैयाँ १० रुपैयाँ

यो पनि पढ्नुस्–

अस्तव्यस्त पोखराः पार्किङस्थलमै सुपरमार्केट, सडकमै ठेक्का !

बसपार्कभरि आवादी, सडकभरि गाडी पार्किङ !

पोखरामा बहुतले पार्किङ, पातलो छाँगोमा सीसाको पुल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment