Comments Add Comment

संसदीय समितिमा पनि कांग्रेसका छाया सभापति

२७ माघ, काठमाडौं । छायाँ सरकारको अभ्यास गरेको प्रमुख विपक्षी नेपाली कांग्रेसले संघीय संसदका विषयगत समितिमा पनि छाया सभापति बनाएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको छाया सभापतिको जिम्मेवारी दिलेन्द्रप्रसाद बडूले पाएका छन् । बडुले छाया सभापतिको हैसियतमा एउटा आन्तरिक बैठकसमेत राखिसकेका छन् ।

राज्य व्यवस्था समितिको सदस्य डिला संग्रौलाकाअनुसार छाया सभापतिको नेतृत्वमा बसेको पहिलो बैठकमा समितिमा कांग्रेसले हालसम्म खेलेको भूमिका र आगामी रणनीतिका विषयमा छलफल भएको छ ।

‘हालसम्म हामीले समितिमा निभाएको भूमिका सन्तोषजनक रहेको पहिलो बैठकको निष्कर्षर् छ । अझ प्रभावकारी भूमिका खेल्ने, कर्मचारीको भलाइका निम्ति पहल गर्ने भन्ने भएको छ,’ संग्रौलाले अनलाइनखबरसँग भनिन् ।

राज्य व्यवस्था समितिमा नागरिकता ऐन संशोधन विधेयक, संघीय निजामती विधेयक लामो समयदेखि विचाराधीन छ ।

नागरिकता विधेयकमा वैवाहिक अंगीकृतको विषयमा कुरा मिल्न सकेको छैन् । २०६३ अनुसारकै व्यवस्रथा वैवाहिक अंगीकृतका हकमा राख्नुपर्ने कांग्रेसको अडान छ ।

कांग्रेसको अडानका कारण कतिपय विधेयकहरु सरकारले चाहेअनुसार अगाडि बढ्न सकेको छैन । यसलाई छाया राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो बैठकले कांग्रेसको सकारात्मक भूमिकाको रुपमा अर्थ्याएको जनाइएको छ ।

धेरै समितिमा छाया सभापति चयन हुन बाँकी

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको छाया सभापतिको जिम्मेवारी मानबहादुर विश्वकर्मा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको छाया सभापतिको जिम्मेवारी प्रकाश रसाइलीले पाएका छन् ।

रसाइलीले केही दिनमा छाया समितिको बैठक राख्ने तयारी गरेका छन् । ‘केही दिनमा बैठक राख्छु, म आफू सक्षम छु र पार्टीले दिएको काम गर्छु,’ रसाइलीले भने ।

अन्य समितिहरुमा भने सभापति चयन हुन बाँकी छ । ‘सबै समितिको सभापति चयनका लागि प्रमुख सचेतक बालकृष्ण खाँडले गृहकार्य गरिरहेको स्रोतको भनाइ छ ।

सभापति शेरबहादुर देउवाको निर्देशनपछि प्रमुख सचेतक खाँडले छाया सभापतिको जिम्मेवारी कस कसलाई दिने भनेर परामर्श गरिरहेका छन् ।

छाया सभापतिहरु चयन गरेर आन्तरिक रुपमा नै जिम्मेवारी दिने तयारी भएको एक नेताले बताए । ‘यो हल्लाखल्रला गर्ने विषय होइन । कुन समितिको नेतृत्व कसले गर्ने भन्ने मात्रै गृहकार्य भएको हो,’ एक नेताले भने ।

समिति सदस्यहरुमा ब्यापक हेरफेर

छाया सभापति चयन सँगसँगै समिति सदस्यहरुका सन्दर्भम्ाा पनि ब्यापक हेरफेर गर्न लागिएको छ ।

एक नेताका अनुसार कतिपय सांसदले आफ्नो रुचिअनुसार समिति नपाएको गुनासो गरिरहेको छन् । कुनैकुनै समितिमा कांग्रेसले आफ्नो भूमिका प्रभावकारी रुपमा निभाउन नसकिरहेको भनेर पार्टीभित्र आलोचना भइरहेको छ । यस्ता टिप्पणीलाई सम्बोधन गर्नेगरी समिति सदस्यहरुलाई यताउती गर्न लागिएको जनाइएको छ ।

सबै सांसदहरुले समितिमा दुई वर्षको अवधिमा आफ्नो अनुभव समेटिसकेका छन् । अब कार्यक्षमता, योग्यता र क्रियाशिलताका आधारमा समितिमा ड्रास्टिङ चेञ्ज गनुपर्छ भनेर आवाज उठेको छ,’ सांसद रसाइलीले भने ।
प्रतिनिधिसभामा दश र राष्ट्रियसभामा चार गरी संघीय संसदमा १६ वटा संसदीय विषयगत समिति छन् ।

प्रतिनिधिसभामा कांग्रेसबाट प्रत्यक्षमा २३ र समानुपातिक ४० गरी ६३ सांसद छन् भने राष्ट्रिय सभामा १३ सांसद रहेका छन् ।

आगामी फागुन २० गतेपछि कांग्रेसका ७ जना राष्ट्रिय सभा सदस्य बिदा हुँदैछन् । त्यसपछि राष्ट्रिय सभामा कांग्रेसका ६ जना सांसद रहन्छन । जसमध्ये ४ जनाले छाया सभापतिको जिम्मेवारी पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment