२८ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ मा ओमानले सबै चार खेल जित्दै सिरिज क्लिनस्वीप गरेको छ । काठमाडौंमा भइरहेको त्रिकोणात्मक सिरिजमा ओमानले नेपाल र अमेरिकाविरुद्ध खेलेको सबै खेल जितेको हो ।
ओमानले नेपाल र अमेरिकालाई २-२ पटक हरायो । सिरिज अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा कप्तान जिसन मक्सुद र उपकप्तान अकिब इल्यासको शतकप्रेरित ओमानले अमेरिकालाई ९२ रनले पराजित गर्दै अपराजित रहेर सिरिज अन्त्य गर्यो ।
फापेको मैदान
सिरिजमा अझै एक खेल हुन बाँकी छ । नेपाल र अमेरिकाले बुधवार सिरिजको अन्तिम खेल खेल्नेछन् । तर ओमानले त्यसअघि नै सिरिजमा सम्भव ८ अंङ्क जोड्दै शानदार अन्त्य गर्यो । एक अर्थमा कीर्तिपुरस्थित टीयू मैदान ओमानका लागि फाप्यो । ओमानले पनि चारै खेलमा गज्जबको प्रदर्शन गर्यो ।
नेपाल आउनुअघि अमेरिका १२ अंकसहित लिगको शीर्ष स्थानमा थियो । ओमान भने ८ अंकसहित चौथो स्थानमा थियो । अहिले ८ अंक थपेको ओमान १६ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । उता लगातार तीन खेल हारेपछि अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ । अमेरिकाले अन्तिम खेल जिते पनि ओमान शीर्ष स्थानमै रहने छ ।
सिरिजको पहिलो खेलमै ओमानले नेपाललाई १९ रनले हराउदै सुखद शुरुवात गरेको थियो । नेपालले १९७ रनमै रोके पनि ओमानले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई १७९ रनमै अलआउट गरेको थियो ।
यस्तै ओमानले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हरायो । २१३ रनको लक्ष्य ओमानले अन्तिम ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । यी दुवै खेलमा ओमानका मोहम्मद नदिमले अलराउण्ड प्रदर्शन गरेका थिए । उनले दुवै खेलमा अर्धशतक प्रहार गरेका थिए ।

त्यसपछिको दुई खेलमा भने उपकप्तान अकिब इल्यास र कप्तान जिसन मक्सुद चम्के ।
तेस्रो खेलमा नेपाललाई ८ विकेटले सहजै पराजित गर्दा अकिबले अलारउण्ड प्रदर्शन गरेका थिए । उनले बलिङमा ४ विकेट लिए भने ब्याटिङमा शतक प्रहार गरे । १०९ रनमा अविजित रहेका उनी ओमानका लागि ओडीआईमा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बने ।
नेपालले २५० रनको लक्ष्य दिए पनि इल्यास र कप्तान जिसन मक्सुदले शतकीय साझेदारी गर्दै ओमानलाई जीत दिलाएका थिए । उक्त खेलमा जिसनले अर्धशतक बनाए ।
यस्तै अमरिकाविरुद्ध मंगलबार भएको दोस्रो खेलमा त ओमानले शानदार प्रदर्शन गर्यो । अकिब र जिसन दुवैले शत बनाउँदा अमेरिकामाथि ९२ रनको जीत हात पार्दै लगातार चौथो जीत दर्ता गर्यो । २७७ रनको लक्ष्य पछ्याएको अमेरिकालाई ओमानले ३९.१ ओभरमै १८४ रनमा अलआउट गर्यो ।
शतकधारी अकिबले यस खेलमा पनि उत्कृष्ट बलिङ गर्दै ५ ओभरमा १४ रन मात्र दिएर ३ विकेट लिए । १ मेडनसमेत राखे । यस्तै अर्का शतकधारी जिसन मक्सुदले २ विकेट लिए भने बिलाल खानले ३ विकेट लिए । अकिब सिरिजमा लगातार दोस्रो पटक म्यान अफ दि म्याच चयन भए ।
केही कीर्तिमान
यस खेलमा ओमानले केही कीर्तिमान पनि बनायो । अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै ओमानले २७६ रन बनाएको थियो । जुन ओडीआईमा ओमानको उच्च स्कोर हो । यसअघि ओमानले यसै वर्ष जनवरीमा नामिबियाविरुद्ध २७२ रन बनाएको थियो ।
यस्तै अकिब र जिसनले तेस्रो विकेटका लागि २१६ रनको साझेदारी गरे । ओमानको ओडीआई इतिहासमा यो पनि कुनै विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि नेपालविरुद्ध यी दुई खेलाडीले नै १६७ रनको साझेदारी गरेका थिए । यस्तै पहिलो पटक ओमानका लागि दुई खेलाडीले एकै खेलमा शतक प्रहार गरे । अमेरिकाविरुद्ध जिसनले १०५ र अकिबले १०५ रन बनाए ।
यस्तै अकिब इल्यास लगातार दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बने । उनले अघिल्लो खेलमा नेपालविरुद्ध १०९ रन बनाई ओमानका लागि ओडीआईमा शतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए ।

आईसीसीले सन् २०१८ मा विश्वकप क्रिकेटका लागि नयाँ साइकल शुरु गर्ने निर्णय गरेको थियो जसअनुसार २०१९ अगष्टबाट विश्वकप लिग २ को खेलहरु शुरु भएको थियो । नेपालमा भइरहेको यो पाँचौ सिरिज हो । अहिलेसम्म भएको सिरिजमध्ये सबै चार खेल जितेर अपराजित रहने ओमान पहिलो टिम समेत बनेको छ । ओमानले अहिलेसम्म १० खेल खेल्दा ८ खेल जितेको छ भने २ खेलमा मात्र हार ब्यहोरेको छ ।
गत अगष्टमा स्कटल्याण्डमा भएको पहिलो सिरिजमा ओमान स्कटल्याण्डसंग एक खेलमा पराजित भएको थियो । उक्त सिरिजमा ओमान र स्कटल्याण्डमा समान ३ खेल झितेका थिए तर रनरेटमा स्कटल्याण्ड हगाडि रहेको थियव ।
यसै वर्ष जनवरीमा ओमानमै भएको सिरिजमा ओमानले २ खेल खेल्दा एक जित र एक हारको नतिजा निकालेको थियो । युएईलाई जितेको ओमान नामिबियासंग पराजित भएको थियो । सुल्तान काबुस बिन सैदको निधनका कारण ओमानको दुई खेल भने रद्ध भएको थियो ।
नेपालमा आएर ओडीआईमा देशकै र करियरकै पहिलो शतक बनाएपछि अकिबले उक्त शतक नेपाली दर्शकलाई समर्पित गरेका थिए । उनले आफ्नो जीवनमै यस्तो दर्शक कहिँ नदेखेको र दर्शकले पनि समर्थन गरेकोल शतक उनीहरुलाई समर्पण गर्न चाहेको बताएका थिए ।
शतकपछि उनले टीयू मैदानलाई ढोगेका थिए । शुरुवाती दुई खेलमा म्यान अफ म्याच चयन भएका मोहमम्द नदिमले पनि नेपाली दर्शक अगाडि खेल्न पाउँदा एकदमै खुशी लागेको बताए । उनले पहिलो खेलमा नेपालविरुद्ध अर्धशतक प्रहार गर्दा पनि नेपाली दर्शकले सम्मान व्यक्त गरेका थिए । यस्तै कप्तान जिसन मक्सुदले पनि नेपालमा हजारौं दर्शक अगाडि खेल्न पाउँदा छुट्टै आनन्द अनुभव भएको बताएका थिए ।
अकिबले नेपाल विरुद्धको शतकपछि नेपालको मौसम चिसो भएकोले यहाँ खेल्न सजिलो भएको समेत बताएका थिए ।
रन र विकेटमा अकिब र जिसन नै अगाडि
सिरिजमा सबै खेलमा जीत, ओडीआईमा पहिलो शतक अनि ८ लिग २ मा ८ अंक । ओमानले नेपालमा आएर प्राप्त गरेको उपलब्धी हो यो । यतिमात्र होइन व्यक्तिगत रुपमा पनि ओमानी खेलाडीले लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका छन् । नेपालमा भएको त्रिकोणात्मक सिरिजमा दुई शतक र एक अर्शधतकसहित कूल ३०२ रन जोडे । जसले उनलाई लिग २ मा सर्वाधिक रन जोड्ने खेलाडीको पहिलो स्थानमा पुर्याएको छ । उनले लिग २ मा १० खेलबाट २ शतक र ४ अर्धशतकसहित सर्वाधिक ६१० रन जोडेका छन् ।
नेपाल आउनुअघि अमेरिकाका आरोन जोन्स ३४६ रनसहित दोस्रो स्थानमा थिए । पपुवा न्यूगिनीका असद भाला ३५६ रनसहित शीर्ष स्थानमा थिए । अमेरिकी जोन्सले तीन खेलमा ६४ रन मात्र थप्दा ३ अकिबले भने दुई शतक नै ठोके ।
यस्तै चार खेलबाट ८ विकेट लिएका ओमानका कप्तान जिसन मक्सुद सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन् उनले १० खेलबाट १९ विकेट लिएका छन् । उनलाई पछ्यारहेका अमेरिकाका कप्तान सौरभ नेत्रभाल्कर र ओमानकै विलाल खानले समान १८ विकेट लिएका छन् ।
सिरिजमा विलाल खानले ४ खेलबाट ७ र सौरभ नेत्रभाल्करले ३ खेलबाट ६ विकेट लिएका छन् ।
यस्तै ४ खेलमा १० विकेट लिइसकेका ओमानका अकिबले लिग २ मा विकेट संख्या १४ पुर्याएका छन् । उनी सर्वाधिक विकेट लिनेमा पाँचौ स्थानमा उक्लेका छन् ।
प्रतिक्रिया 4