Comments Add Comment

कुखुराको मासुमा व्यवसायीको मनपरी : १८० रुपैयाँ बढाए, १५ रुपैयाँ घटाए

२८ माघ काठमाडौं । कुखुराको मासुको मूल्य बढाउन व्यवसायीले गत मंसिर महिनामा ६० लाख निशेचित अण्डा र लाखौं चल्ला नष्ट गरे ।

त्यसपछि अभाव देखाएर कुखुराको मासुको मूल्य किलोमै २ सय रुपैयाँसम्म मूल्य बढाउँदै २४० प्रतिकिलो मासु ४२० रुपैयाँसम्म पुर्‍याए । तर यसको विरोध तीव्र भएपछि व्यवसायीले कुखुराको मासुको मूल्य घटाएका छन्, त्यो पनि किलोमा १५ रुपैयाँ मात्रै ।

सरकारले कारवाहीको चेतवनी दिएपनि व्यवसायीले मूल्य घटाउन भने पनि मानेका थिएनन् । मंगलबार भने राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको मासुको मूल्य घटाउने निर्णय गरेको छ ।

संघको मूल्य समायोजन समितिको मंगलबार बसेको बैठकले तयारी मासुको मूल्य प्रतिकिलोमा १५ रुपैयाँ घटाउने निर्णय गरेको संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए ।

‘मूल्य समायोजन समितिको भर्खरै सम्पन्न बैठकले बुधबारबाट लागू हुनेगरी मासुको मूल्य घटाउने निर्णय गरेका छौं,’ अध्यक्ष बिसीले अनलाइनखबरसँग भने । संघले यसअघि तोकेको मूल्यअनुसार बजारमा तयारी मासुको प्रतिकलो मूल्य ३ सय ६० रुपैयाँ पर्थ्यो ।

बुधबारबाट प्रतिकिलो मूल्य ३४५ रुपैयाँ कायम हुने उनले बताए । संघले तोकेको मूल्यमा खुद्रा व्यपारीले उपभोक्तासँग थप २० रुपैयाँ प्रतिकिलो लिने गरेको राष्ट्रिय कुखुरा बिक्रि व्यवसायी संघले जनाएको छ । तर बजारमा अहिले पनि ४ सय रुपैयाँ प्रतिकिलोका हाराहारीमा मासु विक्री भइरहेको  छ ।

बजारमा मासुको मूल्य महँगो भएको गुनासोपछि व्यवसायी र उपभोक्तालाई मारमा नपर्ने गरी मूल्य समायोजन गरिएको संघको दाबी छ ।

बजारमा मासुको खपतअनुसार उत्पादन नभएको भन्दै मासु व्यवसायीहरुले डेढ महिना यता मासुको चर्को मूल्य वृद्धि गरेका थिए । पुस ६ गतेसम्म २ सय ४० रुपैयाँ प्रतिकिलो रहेको मासुको मूल्य माघ तेस्रो सातासम्म ४ सय २० रुपैयाँ हाराहारी पुगेको थियो ।

मुकदर्शक सरकार

कुखुराको मासु, चल्ला र अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक हो । पछिल्लो दुई महिना अवधिमा यो व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्ने रोगको प्रकोप, हावा पानी र मौसमी प्रतिकुलता तथा कुनै पनि सरकारी नीति आएको छैन ।

तर उपभोक्ताको ढाड सेक्ने गरी अण्डा र मासुको मूल्य बढेको छ । मूल्य बढाउन ह्याचरी उद्योगीले मंसिर २८ गते ‘चिकेन होलिडे’ अभियान घोषणा गरेका थिए । अत्याधिक चल्ला उत्पादनले गर्दा ह्याचरी र कुखुरापालक किसानले लागत मूल्य बराबर मूल्य नपाएको भन्दै १० दिनका लागि चल्ला उत्पादन रोक्न अभियान चलाइएको थियो ।

स्वदेशमै चल्ला, अण्डा र मासु उत्पादन भएपछि सरकारले स्वदेशी उद्योग संरक्षणको नीति अन्र्तगत आयतमा पूर्ण बन्देज लगाएको छ । भारतलगायतका मुलुकबाट नेपालमा मासु र खाने प्रयोजनका लागि अण्डा आयत हुँदैन । तर व्यवसायीले यसलाई टेकेर उपभोक्ताको ढाड सेकिरहेका छन् ।

मासुको मूल्य बढाइएकोबारे अनुसन्धान गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक कार्यदल बनाएर काम गरिरहेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी दावी गरेको गर्‍यै छन् । तर परिणाम भने देखिएको छैन ।

कार्यदलले अध्ययन सिध्याएपछि कालोबजारी गर्नेलाई विभागले कारबाही गर्ने उनले दावी  गरे । मासुको मूल्य घटाउने विषयमा पनि कुखुरा उत्पादक र मासु व्यवसायीसँग विभागले निरन्तर छलफल गरिरहेको महानिर्देशक सुवेदी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment